१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

शक्तिको पूजा

आसुरी शक्तिमाथि जित प्राप्त भएको पौराणिक कथनअनुसार दसैं मान्ने परम्परा रहे पनि यसको धार्मिक र दार्शनिक पक्ष भनेकै शक्तिपूजा हो ।
हिमेश वज्राचार्य

काठमाडौँ — दसैं हाम्रा लागि विशेष पर्व किन हो भने यसमा हाम्रो सांस्कृतिक परम्परा र विश्वास लुकेको छ  । दसैंमा धार्मिक होस् अथवा दार्शनिक दुवै पक्षबाट शक्तिको पूजा गर्ने परम्परा छ  ।

शक्तिको पूजा

घटस्थापनाको सांस्कृतिक विधिविधानअनुसार दसैंको नवरात्रिबाट पूजा सुरु हुन्छ । आसुरी शक्तिमाथि जित प्राप्त भएको पौराणिक कथनअनुसार दसैं मान्ने परम्परा रहे पनि यसको धार्मिक र दार्शनिक पक्ष भनेकै शक्ति पूजा हो । यो नै हामीले मान्दै आएको दसैंको सबैभन्दा ठूलो र उल्लेखनीय पक्ष हो ।

शक्ति पूजामा नवदुर्गाको परम्पराको विशेष स्थान छ । नवदुर्गा भन्नाले ब्रह्मायणी, महेश्वरी, कौमारी, वैष्णवी, बाराही, इन्द्रायणी, चामुण्डा, महालक्ष्मी र उग्रचण्डी हुन् । ‘यही नवदुर्गाको आराधनाकै क्रममा नवरात्रि पूजा हुन्छ,’ संस्कृतिविद् सुजनविलास वज्राचार्यले भने ।

हाम्रो धार्मिक परम्परालाई आधार मान्ने हो भने देवदेवीको पूजा गर्दा सबैभन्दा पहिले आफ्नो अभीष्ट देवदेवीको आह्वान गर्ने चलन छ । यसको आफ्नै विशेष उद्देश्य रहेको छ र यो हो, आफ्नो अभीष्ट देवदेवीलाई आफू नजिक उपस्थिति गराउनु ।

‘यसका लागि हाम्रो परम्परामा कलशलाई उपयुक्त मानिँदै आएको छ,’ वज्राचार्यले थपे । यसरी आह्वान गरेर उपस्थिति गराउनका लागि पवित्र वस्तुमा आसीन गराउनुपर्ने चलन रहेको हुनाले कलश अगाडि आएको हो । देवदेवीलाई कलशमा प्रवेश गराएपछि पूजा सुरु हुन्छ । त्यस कलशको पूजा नै आफ्ना अभीष्ट देवदेवीको पूजाको प्रतीक हुन्छ । हाम्रो यो मौलिक परम्परा आफैँमा विशिष्ट रहेको छ, जुन धेरै अर्थसम्म वास्तवमै प्रतीकात्मक छ ।

यसैका आधारमा हाम्रो दसैंमा पूजा हुने देवीको आह्वान गर्ने क्रममा घटस्थापना सुरु भएको संस्कृतिविद्हरूको कथन छ । यसबारे भक्तपुरको सांस्कृतिक परम्पराले धेरै संकेत गर्न सक्छ । प्रत्येक वर्ष भक्तपुरमा नवदुर्गाको पूजा र जात्रा हुने गरेको छ ।

खासमा भक्तपुर नवदुर्गाको विशेष केन्द्र रहँदै आएको छ । यो पूजाको चलन सबैभन्दा पहिले त्यहींबाट सुरु भएको पनि मानिएको छ । धेरै अघिदेखि नै हाम्रोमा तान्त्रिक धर्मको ठूलो प्रचारप्रसार भइसकेको मानिन्छ ।


नवरात्रि पूजा खासमा कहिलेदेखि सुरु भएको हो भने यकिन भन्न सकिने स्थिति छैन । कम्तीमा वंशावलीका आधारमा यो चलन निकै पुरानो भने मान्न सकिन्छ । तान्त्रिक पूजाले हाम्रोमा निकै लोकप्रियता हात पारिसकेको थियो । नवदुर्गा पूजा यसकै कारण हुन सक्छ । काठमाडौं उपत्यकाका तीन सहरमध्ये भक्तपुर सबैभन्दा पुरानो र मुख्य रहेको छ । यहाँ शैव धर्मको सुरुदेखि प्रचारप्रसार भएको थियो र यसको प्रभाव पछि काठमाडौं र ललितपुरमा पनि देखियो ।

त्यसैले भक्तपुरका मल्ल राजाहरूको राजधर्म शैव रहेको पाइन्छ । यी राजाहरूले शैव धर्मको प्रचारमा पनि प्रमुख भूमिका खेले । तिनै मल्ल राजाहरूको अभीष्ट देवी तुलजा भवानी हुन् । यो सबै काठमाडौं तीन राज्यमा विभाजन हुनु अगाडिको हो । त्यतिबेला अहिलेको भक्तपुर उपत्यकाको मुख्य केन्द्र रहेको थियो । यसरी तिनै मल्ल राजाहरूले तुलजा भवानीलाई राजकीय मान दिएको पनि पाइन्छ । काठमाडौंका दरबारमध्ये भक्तपुरको सबैभन्दा प्राचीन छ ।

भक्तपुर मल्ल राजाहरूको सबैभन्दा प्राचीन दरबार हो । यहाँका भवानी नै मूल रूपमा तुलजा भवानी हुन् । मल्लकालमै उपत्यका तीन राज्यमा विभाजन भयो । यक्ष मल्लका छोराहरूको पालामा यस्तो विभाजन आएको हो । काठमाडौंका मल्ल राजाले पनि आफ्ना इस्टदेवीका रूपमा तुलजा भवानीको मन्दिर बनाए र यो भक्तपुरभन्दा हामी केही कम छैनौं भनेर देखाउनु नै थियो । । तलेजु मन्दिर ऐतिहासिक र सांस्कृतिक हनुमानढोकामा रहेको सर्वाधिक विशाल र भव्य मन्दिरका रूपमा रहेको छ ।

तलेजु र जीवित देवी कुमारीको कथा पनि यहाँनिर कहीं न कहीं जोडिन्छ । जनविश्वास के छ भने मल्ल राजा तुलजा भवानीसँग दोहोरो संवाद गर्थे र राज्य सञ्चालनका लागि आवश्यक सल्लाह लिन्थे । पछि तुलजा भवानीसँग यो संवाद रोकियो । तुलजा भवानीले पछि भनिन्, ‘म छोरीका रूपमा जन्म लिन्छु र तिनलाई कुमारी बनाउनु ।’ शाहकाल सुरु भएपछि भने काठमाडौं नै उपत्यकाको केन्द्र बन्यो । यस क्रममा तलेजु मन्दिरको महत्त्व अझ बढ्यो ।

दसैंका क्रममा शक्तिको पूजा गर्ने परम्परामध्ये हनुमानढोकाको यस तुलजा भवानीको पूजा विशेष सुरु भयो । इतिहासअनुसार हनुमानढोकाको तलेजु मन्दिरको निर्माण कान्तिपुर राज्य स्थापनाको धेरै समयपछि मात्र भएको थियो । महिन्द्र मल्लले यसको निर्माण सुरु गरे । प्रताप मल्लको पालामा पनि यसको पुनर्निर्माण भएको पाइन्छ । यसपछि पनि केही पुनर्निर्माणका काम भएका छन् । यस मन्दिरभित्र पूर्ण कलशका रूपमा तुलजा भवानीको प्रतीक रहेको छ ।


संस्कृतिविद्हरूले के पनि बताएका छन् भने यस तलेजु मन्दिर तयार भइसकेपछि नवमीको रातमै तुलजा भवानीले त्यस मन्दिरमा प्रवेश गरेकी थिइन् । ‘त्यसैले नवमीको दिनमा नै त्यति बेला नयाँ मन्दिरमा तुलजा भवानीको स्थापना भएको मान्न सकिन्छ,’ संस्कृतिविद् वज्राचार्यले भने । त्यसैले महानवमीकै दिन मात्र यो वर्षको एकपल्ट खुल्छ । यहाँनिर के उल्लेखनीय छ भने भगवतीको मन्दिरभित्र भगवतीको प्रतिमा भने हुने गर्दैन । त्यसको स्थानमा आह्वान गरेर स्थापना गरिएको पूर्ण कलश मात्र हुने गर्छ ।

यो नै हाम्रो सांस्कृतिक परम्पराको अत्यधिक रोचक पक्ष हो । हाम्रो मौलिक परम्पराअनुसार दसैंमा नवमीको दिन तुलजा भवानीको पूजाका लागि बिहानदेखि पूरा दिन ठूलो भीड लाग्ने गरेको छ । शाहवंशीय राजाहरूले समेत तुलजा भवानीलाई आफ्नो इस्टदेवी मान्ने क्रम कायम राखे र यसको पूजा परम्परा सुरु गरे । यसले पनि सर्वसाधारणमा यसको प्रभाव बढ्नु र कायम रहनु स्वाभाविक हो । हनुमानढोकाको मूल चोकमा त्यस दिन तुलजा भवानीको ठूलो र भव्य पूजा हुन्छ ।

प्रकाशित : आश्विन २५, २०७५ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?