कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

शक्तिको साधना

माधव घिमिरे

काठमाडौँ — निधारभरि रातो टीका, जमरा, नयाँ कपडा, पिङ, मालश्री धून, लिपपोत अनि रंग्याएर नयाँजस्तै बनाइएको घर, शक्तिपीठहरूमा धार्मिक अनुष्ठान, अग्रजबाट टीका र आशीर्वाद, टाढा–टाढाका आफन्तसँग भेटघाट ! दसैं भन्नेबित्तिकै यी प्रसंग ताजा भएर आउँछन् ।वर्षभरि जति दु:ख गरे पनि दसैंका बेला गच्छेअनुसार मिठोमसिनो खाने नेपाली परम्परा मौलिक छ ।

शक्तिको साधना

अधिकांश नेपालीको प्रमुख पर्व हो दसैं । यो शरद ऋतुको आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइन्छ । दसैं मुख्यत: १० दिन मनाइन्छ ।

यसमध्ये नौरथा अवधिभर विशेष पूजाआराधना गरिन्छ । नौरथाभित्र गरिने विविध क्रियापलापले नै दसैंको महत्त्व झल्कने गरेको छ । उल्लासमय दसैं पर्वले धार्मिक एवं सांस्कृतिक मात्र होइन, सामाजिक एवं आर्थिक रूपले पनि उत्तिकै असर पार्ने गरेको पाइन्छ ।

राम्रो लुगा लगाउने, पूजापाठ गर्ने, टीका लगाउने, आफन्तकहाँ जाने, मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने यो पर्वको मुख्य विशेषता हो । दसैंका बेला गरिने पूजापाठले आध्यात्मिक भाव वृद्धि गर्ने अनि सत्मार्गमा हिंड्न प्रेरित गर्ने विश्वास गरिन्छ ।

टीका लगाउन आफन्तकहाँ आउजाउ हुने चलनले लामो समयदेखि भेट हुन नसकेकाहरूबीच भेटघाटको अवसर मिल्छ । अपनत्वको भाव विकास हुन्छ । देशका विभिन्न भागमा काम र पढाइका सिलसिलामा बसोबास गरिरहेकाहरू पुख्र्यौली थलो फर्कने बेला यही हो । यति मात्र होइन विदेशमा रहेकाहरू पनि यही मौकामा घर फर्कन्छन् ।

स्थानअनुसार फरकपन देखिए पनि दसैंको मूल मर्म भनेको असत्यमाथि सत्यको विजयका रूपमा लिइन्छ । दसैंलाई मिलनको पर्व पनि मानिन्छ । निधारभरि रातो टीका, जमरा, विशेष खानपिन, आफन्तजनसँगको भेट, पिङ खेल्नेजस्ता कुराले दसैं उल्लासमय बन्ने गरेको छ ।

दसैंका बेला नौ दिनसम्म दुर्गा भगवतीको विशेष पूजाआजा गरिन्छ । अग्रजका हातबाट टीका र जमरा लगाई आशीर्वाद लिने संस्कृति यो पर्वको विशेषतै हो । महाकाली, महालक्ष्मी एवं महासरस्वतीको पूजा–आराधना गरेर जन्मजन्मान्तरका लागि शक्ति आर्जन गर्न सकिने विश्वास पाइन्छ । पौराणिक ग्रन्थहरूमा वर्णन गरिएअनुसार पनि राम, कृष्ण आदिले शक्ति प्राप्त गर्न देवीकै आराधना गरेका थिए ।

संस्कृतिविद् प्राडा सोमप्रसाद खतिवडाका अनुसार दसैं नेपाली संस्कृतिभित्र धर्म, संस्कृति, आवश्यकता, मनोरञ्जन, पौष्टिकता, मान्यजन सत्कार र आत्मसम्मान सबै विषयवस्तु समावेश भएको पर्व हो । यसले पारिवारिक एकता कायम राख्ने काम पनि गरेको उनको भनाइ छ ।

मातृशक्तिका रूपमा पूजा गरिने देवीहरूको पनि कल्पना गरिए वा ती त्यतिबेला मातृसत्तात्मक परिवार रहेका बेलाका शक्तिशाली लोकमाता थिए भन्ने मानिन्छ । उर्वरा शक्ति एवं धैर्य, सहनशीलताजस्ता स्वभावका कारण नारीलाई पृथ्वीसित तुलना गरेर पूजा गरिने गौरवमय आर्य–संस्कृति दसैंका माध्यमबाटै जीवन्त हुने जानकारहरूको भनाइ छ ।

दसैं सामाजिक गतिविधिका हिसाबले पनि महत्त्वपूर्ण छ । टाढाटाढा गएकाहरूसमेत दसैंका लागि भनेर घर फर्कने र परिवार, गाउँ, टोल एवं छरछिमेकसँग भेट गर्ने परम्पराका कारण दसैंले सामाजिक सम्बन्धलाई पनि बलियो बनाउँछ ।

दसैंका बेला आर्थिक क्रियाकलाप पनि बढ्छ । सरकारी तथा गैरसरकारी क्षेत्रमा यो बेला बिदा दिइन्छ । दसैं मनाउन सबैजसो कार्यालयले कर्मचारीलाई ‘बोनस’ पनि दिने गरेका छन् । दसैंका अवसरमा खाद्यान्न, कपडाका साथै अन्य सामानको व्यापार पनि उल्लेख्य रूपमा हुने गरेको छ । यो बेला गच्छेअनुसार खर्च गरिन्छ । कतिपयले यसै अवसरमा नयाँ सवारीसाधन, गहना, विद्युतीय सामग्री किन्ने गर्छन् ।

यही बेला परिवारसहित घुमफिर गर्ने चलन पनि विकास भएको छ । आफू बसेको जिल्लाका महत्त्वपूर्ण स्थलहरू भ्रमण गर्ने, नजिकका पर्यटकीय स्थानहरू घुम्ने अनि कतिपय विदेशका आकर्षक गन्तव्यको यात्रा पनि गर्छन् ।

प्रकाशित : आश्विन २५, २०७५ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?