बजारमा घुइँचो

मुलुकभरका सहर बजारमा दसैंका लागि किनमेल गर्नेको घुइँचो छ । खाद्यवस्तु, लत्ताकपडासँगै गहना, सवारीसाधनलगायत खरिद गर्ने उपभोक्ताको संख्या बढेको छ । चाडबाडकै अवसरमा छुटका अफर पनि सार्वजनिक भएका छन् ।
राजु चौधरी

काठमाडौँ — धापासी बस्ने गुल्मीकी सुनीता ढकालले दसैंमा घर जान बसको टिकट काटिसकिन् । सोमबार असनमा भेटिएकी उनी घरपरिवारका लागि लत्ताकपडा र मसला किन्दै थिइन् । लत्ताकपडासँगै स्कुटर किन्ने योजना त ५ महिनाअघि नै बनेको थियो परिवारमा । त्यसका लागि उनीहरूले पहिल्यैदेखि रकम जोहो गर्न थालेका थिए ।

बजारमा घुइँचो

‘अरू समय किनमेलको समय पनि जुर्दैन, चाडबाडमा विभिन्न अफर र छुट पनि हुन्छ,’ उनले भनिन्, ‘नयाँ सामानको प्रयोगले थप उत्साह/उमंग थपिन्छ, त्यसैले प्राय: दसैंमा नै किनमेल गर्छौं ।’

ढकाललाई जस्तै दसैंको उमंगले अहिले सबै नेपालीलाई छोपेको छ । न्युरोड पिपल्स प्लाजामा भेटिएकी अनिता भेटवालको भनाइ पनि उस्तै छ । दसैंमा नयाँ लत्ताकपडा लगाउने चलन भएकाले सपिङ गर्न आएको उनले बताइन् । ‘एक जोर भए पनि नयाँ लुगा खरिद गर्ने चलन छ,’ उनले भनिन्, ‘त्यसैले घरपरिवारका लागि किन्न आएकी छु ।’

काठमाडौंको मुख्य व्यापारिक क्षेत्र मानिने असन, न्युरोड, दरबारमार्ग मात्रै होइन मुलुकभरिको सहर बजारमा अहिले किनमेल गर्नेको घुइँचो छ । खाद्य वस्तु लत्ताकपडासँगै, गहना, सवारीसाधन खरिद गर्ने उपभोक्ताको संख्या पनि बढेको व्यवसायी बताउँछन् । चाडबाडकै अवसरमा व्यवसायीले विभिन्न छुटका अफर सार्वजनिक गरेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न प्याकको अफर ल्याएको छ । नयाँ लगाउने, मिठो खाने चाडका रूपमा मानिने दसैंले अर्थतन्त्रलाई समेत चलायमान बनाएको छ । दसैंलगत्तै आउने तिहारको पनि हिसाब गर्दा यी दुई पर्व लक्षित उपभोगले मात्रै वर्षभरि हुने कुल उपभोगको करिब २० प्रतिशत हिस्सा ओगट्ने अनुमान छ । व्यवसायीका अनुसार बजारमा अहिले नुनदेखि सुनसम्मको कारोबार बढेको छ ।

खाद्यवस्तुको बिक्री १० प्रतिशत बढी
दसैं आएसँगै खाद्यवस्तुको बिक्री बढ्छ । सर्वसाधारण खाद्यवस्तुको जोहो गर्न थाल्छन् । राम्रो लगाउने, मिठो खाने प्रचलन भएकाले सामान्य दिनको तुलनामा १० प्रतिशतभन्दा बढी बिक्री हुने व्यवसायी बताउँछन् । ‘तथ्यांक नराखे पनि चाडबाडमा १० प्रतिशतभन्दा बढी नै बिक्री हुन्छ,’ नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भने, ‘अहिले खपत र बिक्री धेरै राम्रो छ ।’

दसैंका लागि खाद्यवस्तुमा कुनै समस्या नभएको उनले जानकारी दिए । अन्य खाद्यवस्तुसँगै चिनीको खपत पनि अत्यधिक बढ्छ । सरकारी तथ्यांकअनुसार हालको मौज्दातले साढे ७ महिनासम्म पुग्छ । ‘समग्रमा खाद्यवस्तुमा आत्तिनुपर्ने कुनै अवस्था छैन,’ चेम्बर अफ कमर्सका आपूर्ति सभापतिसमेत रहेका श्रेष्ठले भने । खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्रा वज्राचार्यले पनि खाद्यवस्तुको बिक्री राम्रो भएको बताए । आपूर्ति पर्याप्त भएकाले चाडबाडमा अभाव नहुने बताए ।

सहुलियत पसल
चाडबाडलाई लक्षित गर्दै सरकारले उपत्यका र उपत्यकाबाहिर गरी करिब ४८ स्थानमा सहुलियत पसल सञ्चालन गर्दै आएको छ । दैनिक उपभोग्य सामग्री बिक्री गर्ने सरकारी संस्थान र जिल्ला प्रशासन कार्यालयको सहकार्यमा मन्त्रालयले यस्ता पसल सञ्चालन गरेको हो ।

सहुलियत पसलमा साल्ट ट्रेडिङ, नेपाल खाद्य संस्थान र दुग्ध विकास संस्थानले छुटमा चामल, दाल, गेडागुडी, फापरको पिठो र खसीबोकामा बजारमा प्रचलित मूल्यमा ५ देखि १० प्रतिशतसम्म छुट दिएका छन् । साल्टले नुनमा २ रुपैयाँ, चिनीमा ५ रुपैयाँ छुट दिएको छ । दुग्ध विकास संस्थानले घ्यूमा प्रतिलिटर ५०, पनिरमा १० र अन्य दूधजन्य पदार्थमा पनि छुट दिएको छ ।

खाद्य संस्थानले सोना मन्सुली चामलमा ५ रुपैयाँ, जिरा मसिनोमा ५ रुपैयाँ, बासमतीमा १०, गोरखनाथमा १० रुपैयाँ, जापनिजमा ५ रुपैयाँ, जुम्ला सिमीमा १०, तिते फापरमा १० र खसीबोकामा १० रुपैयाँ छुट दिएको छ । आवश्यकताअनुसार थप घुम्ती पसल पनि सञ्चालन गर्ने आपूर्ति मन्त्रालयको दाबी छ । सहुलियत पसल कात्तिक २७ गतेसम्म चल्नेछ ।

६२ हजार खसीबोका/च्याङ्ग्रा
दसैंका लागि उपत्यकामा करिब ६२ हजार भित्रिने भएको छ । खाद्य संस्थान र चौपाया व्यवसायी संघ कलंकीले उक्त मूल्य बराबरको खसीबोका र च्याङ्ग्रा भित्र्याउने जनाएको छ । संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार संस्थानले खसीबोका र च्याङ्ग्रा गरी २ हजार वटा बिक्री गर्नेछ । ‘सरकारले कम परिमाणमा भित्र्याए पनि मुख्य उद्देश्य बजार हस्तक्षेप गर्नु हो,’ उनले भने । संस्थानले खसीबोका तराई र च्याङ्ग्रा मुस्ताङबाट खरिद गर्नेछ ।

व्यवसायीले खसीबोका र च्याङ्ग्रा गरी करिब ६० हजार हाराहारीमा ल्याउने संघका संरक्षक एवं निवर्तमान अध्यक्ष दीपक थापाले बताए । माग आधारमा संख्या थप बढ्न सक्ने उनले बताए । व्यवसायीले स्वदेशी उत्पादनसँगै भारतबाट पनि खसीबोका आयात गर्छन् । थापाका अनुसार दसैंका लागि करिब ९० प्रतिशत खसीबोका भारतबाट आयात हुन्छ ।

संस्थानका अनुसार सरकारले बिक्री गर्ने खसीबोका व्यवसायीको भन्दा सस्तो हुन्छ । व्यवसायीले निर्धारण गरेको मूल्यमा कम्तीमा प्रतिकिलो १० रुपैयाँ सस्तो बिक्री गर्ने योजना बनाएको छ । सोही योजनाअनुसार सरकारले प्रतिकिलो १० रुपैयाँ छुट दिने घोषणा गरिसकेको छ ।

खसीबोका खरिद गर्न जिल्ला प्रमुख अधिकारीको संयोजकत्वमा खरिद कमिटी गठन गर्छ । स्थानीय प्रशासनले बजार मूल्य निर्धारण गर्छ । त्यसपश्चात् काठमाडौंमा ल्याउन ढुवानी भाडा र बजार मूल्यअनुसार सञ्चालक समितिले बिक्री मूल्य निर्धारण हुन्छ । ती खसीबोका थापाथलीमा २६ गतेदेखि बिक्री हुने खाद्य संस्थानका अञ्चल प्रमुख सुरेन्द्र विष्टले बताए ।

मिठाईको बिक्री दोब्बर
चाडबाडसँगै मिठाईको व्यापार पनि दोब्बर बढ्ने व्यवसायी बताउँछन् । ‘हरेक वर्ष ग्राहक बढ्दै गएका छन्,’ मिठाई व्यवसायी संघका अध्यक्ष सुमन मानन्धरले भने, ‘कारोबार पनि दोब्बरले बढेको छ ।’ मुलुकभरि बर्फी, पेडा, लालमोहन, जेरी, दूधवरी, रसमलाई, लड्डु, रसवरी, गुलाब जामुन, क्रिम मिठाई, काजुको मिठाई बढी बिक्री हुन्छ । टीकाको दिनमा बिक्री थप बढ्ने उनीहरूको दाबी छ ।

हाल उपभोक्ताको स्वाद र छनोटअनुसार विभिन्न स्वाद र सुगर फ्री (चिनी नभएको) मिठाई पनि बजारमा उपलब्ध छन् । यसले व्यापारमा थप मद्दत पुगेको बानेश्वरमा रहेको शिव मिष्ठान्न भण्डारका सञ्चालक जीवन साहले बताए । ‘मिठाईको मुख्य व्यापार तिहार नै हो,’ उनले भने, ‘तर, दसैंको टीकामा पनि बिक्री ५० प्रतिशतले बढ्छ ।’

पछिल्लो समय मुलुकमा आयातित मिठाईको खपत बढ्न थालेको छ । हल्दीराम, गुलाब, बिकाजी, बिकानोलगायतका भारतीय उद्योगका मिठाई पनि नेपाली बजारमा उपलब्ध छन् । बजारमा नाम चलेका संगम स्विट्स, रामेश्वरम स्विट्स, पशुपति फुड्सको आँगन ब्रान्डको मिठाई पनि बजार बिक्री हुन्छ । यस्तै, चाडबाडकै अवसरमा नक्कली मिठाई पनि आउँछन् । ती मिठाईमा रसायन प्रयोग गरिएको हुन्छ । मुख्यत: भारतीय नाकाबाट भित्रिने ती मिठाईमा कडाइ गर्नुपर्ने संघको दाबी छ । ‘चाडबाडमा नक्कली मिठाई छयापछयाप्ती पाइन्छ,’ अध्यक्ष मानन्धरले भने, ‘त्यसलाई रोक्न सरकारले सीमा क्षेत्रमा अनुगमन कडाइ गर्नुपर्छ ।’

कपडामा छुटैछुट
लत्ताकपडामा पनि छुट छ । व्यवसायीले फुटपाथदेखि सपिङमलसम्म छुटको योजना सार्वजनिक गरेका छन् । लत्ताकपडामा छुटले दैनिक कारोबार बढेको उनीहरूको दाबी छ । ‘दसैंलाई नै लक्षित गरेर ४५ प्रतिशतसम्म छुट दिएका छौं,’ पिपल्स प्लाजाका बिफोर फेसनका हरि ज्ञवालीले भने, ‘छुटले बिक्री राम्रो छ ।’ चाडबाडमा छुट दिंदा ग्राहक पनि दंग पर्ने उनको अनुभव छ ।

पादुका इम्पेक्सका सञ्चालक नवराज गौतमले चाडबाडमा ग्राहकले छुट खोज्ने बताए । ‘समग्रमा व्यापार राम्रो छ,’ उनले भने । मुख्यत: मध्यमवर्गका ग्राहकहरू असन, न्युरोड, भोटाहिटी, खिचापोखरी, बानेश्वरलगायतका पसलमा किनमेल गर्छन् । ब्रान्डेड कपडा रुचाउनेका लागि दरबारमार्ग उपयुक्त गन्तव्य हो । दसैंलाई लक्षित गरी दरबारमार्गका व्यवसायीले पनि छुट अफर सार्वजनिक गरेका छन् । उनीहरूले पनि ५० प्रतिशतसम्म छुट दिएका छन् । दरबारमार्गमा रिबोक, नाइक, पुमा, एन्टा, ली, यूएस पोलो, ग्लोरडानो, बेन्ट्ली आदि ब्रान्डका कपडा पाइन्छ ।

सुनचाँदीको माग पनि उच्च
सुनचाँदीका गहनाको कारोबार मुख्यत: दसैं, तिहार र बिहेको सिजनमा हुन्छ । सुनचाँदी भित्र्याउँदा लक्ष्मीले बास गर्ने मान्यता भएकाले चाडबाडमा यसको कारोबार उच्च हुन्छ । ‘घटस्थापनादेखि सुनचाँदीको माग धेरै हुन्छ,’ सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले भने, ‘औसत २० किलो खपत हुने सुनको माग ४० किलो पुग्छ ।’

महासंघका अनुसार चाडबाडमा सबै प्रकारका गहना बिक्री हुन्छ । दसैंको अवसर पारेर गहना व्यवसायीले छुट दिएका छन् । जसले गर्दा पनि भीडभाड बढ्ने महासंघको दाबी छ । ‘ज्यालामा छुट, उपहारसमेत दिने चलन छ,’ उनले भने, ‘त्यसले ग्राहक र व्यवसायीबीचको सम्बन्ध बलियो हुन्छ ।’

बिदामा अनुगमन
सरकारले दसै‌ै बिदामा पनि बजार अनुगमन गर्ने भएको छ । बिदामा पनि बजार हस्तक्षेप र मूल्य नियन्त्रण गर्न सरकारले अनुगमन टोली तैनाथ राख्ने जनाएको छ । ‘दसैंको बिदामा उपभोक्ता ठगीको गुनासो/उजुरी भयो भने अनुगमन गर्छौं,’ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले भने ।

यसका लागि जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग सहकार्य भइरहेको उनले बताए । उपत्यकाबाहिरको हकमा जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा अनुगमन भइरहेको विभागले जनाएको छ ।

२० लाख यात्रु बाहिरिँदै
उपत्यकामा करिब ४० लाख जनसंख्या स्थायी/अस्थायी रूपमा बसोबास गर्छन् । दसैंको अवधिमा करिब २० लाख जनता उपत्यका छाडेर जाने यातायात व्यवस्था विभागको अनुमान छ । ‘नयाँ बसपार्कमा मात्रै ७० हजारले अग्रिम टिकट बुकिङ गरेका छन्,’ विभागका प्रवक्ता गोकर्ण उपाध्यायले भने, ‘दसैंमा २० लाख बाहिरिने अनुमान गरेका छौं ।’ यात्रुको मागअनुसार थप सवारी थप्ने उनले बताए ।

प्रकाशित : आश्विन २५, २०७५ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?