३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

बिदामा के गर्ने ?

कञ्चन अधिकारी

काठमाडौँ — दसैंमा लामो बिदा हुन्छ । कार्यालय, स्कुल, कलेज सबै बन्द हुन्छन् । कार्यालयहरू कम्तीमा चार दिन बन्द रहनेछन् । प्राय: शिक्षणसंस्थाले तिहारसम्मै बिदा दिन्छन् ।

बिदामा के गर्ने ?

यो लामो फुर्सदलाई कसरी सदुपयोग गर्ने ? कतिले योजना बनाइसकेका होलान् । धेरैलाई अन्योल पनि होला । निम्न तरिका उपयुक्त हुन सक्छन् :

हाइकिङ वा ट्रेकिङ
हाइकिङका लागि टाढा धाउनै पर्दैन । आफ्नो गाउँठाउँबाट नजिकै जाँदा हुन्छ । कम्तीमा ४ देखि ६ घण्टा हिँड्न सकिने ठाउँलाई हाइकिङ रुट बनाउनुपर्छ । हाइकिङ एक्लैभन्दा समूहमा रमाइलो हुन्छ । त्यसैले मन मिल्ने साथी बटुल्नुपर्छ । दसैंका बेला पसल बन्द हुन सक्ने भएकाले खाना र खाजा आफैं बोक्नुपर्छ ।

ट्रेकिङ पनि उपयुक्त विकल्प हो । यसका लागि बिदाको ४ दिन र अरू दुई दिन थपेर छोटो तर सजिलो रुटमा जान सकिन्छ । अन्नपूर्ण आधारशिविर, पाथीभरा मन्दिर, लाङटाङ, गोसाइँकुण्ड, खप्तड, रारा, कन्याम, मनाङ, कालिञ्चोक, सैलुङलगायत काठमाडौंनजिकका गन्तव्य हुन् । ट्रेकिङमा पनि एक्लैभन्दा समूहमै जानु उपयुक्त हुन्छ । यी गन्तव्यमा पर्यटनको मौसम सुरु भइसकेकाले खाने, बस्ने ठाउँको चिन्ता गर्नुपर्दैन । गोसाइँकुण्ड, सैलुङ र पाथीभरामा भने बास र खानेकुराको जोहो गरेरै जानु उपयुक्त हुन्छ ।

फोटोग्राफी
चाडबाडमा राम्रो देखिने र फोटो खिच्ने रहर सबैको हुन्छ । अहिले प्राय: मानिसका हातमा नयाँनयाँ फिचरका क्यामरा छन् । मोबाइलबाटै पनि खिच्न सकिन्छ । मोबाइल फोटोग्राफीदेखि डीएसएलआर फोटोग्राफीसम्म अपनाउन सकिन्छ ।

सामान्य नियम र आफ्नै क्यामेराको विशेषता थाहा नहुँदा उत्कृष्ट फोटो खिच्न सकिएको हुन्न । यो बिदालाई क्यामरा र फोटोग्राफीका तौरतरिका बुझ्ने अवसरका रूपमा पनि उपयोग गर्न सकिन्छ । इन्टरनेटबाट पनि क्यामरा चलाउने तरिका सिकिन्छ । इन्टरनेट सर्च इन्जिन वा यू–ट्युबमा गएर खोज्न सकिन्छ । कुन ठाउँमा कुन मोडमा राखेर खिच्ने, कम्पोजिसन कसरी गर्ने भन्ने ज्ञानले फोटो अझै उत्कृष्ट हुन सक्छ ।

भिडियोग्राफी
मोबाइल र क्यामरा मानिसका साथबाट नछुट्ने साधन भइसके । क्यामेरा नभए पनि मोबाइल प्रायसँग छ । कम्पनीहरूले मोबाइलमै उत्कृष्ट फोटो तथा भिडियो खिच्न सक्ने क्षमता राखिसके । फोरके भिडियो खिच्ने मोबाइलसम्म आइसकेका छन् । हामी भिडियो खिच्छौं तर सदुपयोग गर्न जान्दैनौं । त्यसलाई राम्ररी सम्पादन गर्न पनि जान्दैनौं । मोबाइलबाट ल्यापटप वा कम्प्युटरमा राखेर एडिट गर्न गाह्रो लाग्छ । त्यसैले बिदामा भिडियोग्राफी र सम्पादन सिकेर आफ्नो सीपलाई पूर्णता दिन सकिन्छ ।

यसका लागि पनि यू–ट्युब वा सर्च इन्जिन उपयुक्त हुन सक्छन् । मोबाइलमै भिडियो सम्पादन गर्ने अनेकौं एप्लिकेसन हुन्छन् । सम्पादित भिडियो यू–ट्युब वा क्लाउड स्टोरेजमा राख्न सकिन्छ ।

भ्लगिङ
कुनै जमाना थियो, दैनिकी डायरीमा लेख्ने अनि सँगालेर राख्ने । प्रविधिको फड्कोसँगै एनालग डायरीलाई डिजिटल डायरी अर्थात् ब्लगले विस्थापित गरेको छ । ब्लगलाई अब भ्लगले विस्थापित गर्दै छ । भ्लग भनेको भिडियोमार्फत तयार पारिने ब्लग हो । दसैंमा आफूलाई मनपर्ने ठाउँ वा विषयबारे भ्लगिङ गर्न सकिन्छ । यसो गर्दा आफूले खिचेका भिडियो जति उत्कृष्ट भयो त्यति राम्रो । नेपाल र विदेशका केही चर्चित भ्लगर र उनीहरूका कामबारे जानकारी लिएर भ्लगिङ गर्न सकिन्छ ।

भ्लगिङबाट फुर्सदको सदुपयोग मात्र होइन, आम्दानी पनि गर्न सकिन्छ । आफूले बनाएको भिडियो यू–ट्युबमा राखेर पैसा कमाउन सकिन्छ । नयाँ भ्लगिङ गर्दै हुनुहुन्छ भने तत्काल आम्दानी भइहाल्दैन । आफ्नो च्यानलको सब्स्क्राइबर भने बढाउन सकिन्छ ।

बायोडाटा बनाउने
बायोडाटा राम्रो नभएकैले जागिर नपाएको गुनासो धेरैको हुन्छ । त्यसैले जागिर खोजीमा रहेकाका लागि बायोडाटा बनाउने वा अद्यावधिक गर्ने उपयुक्त मौका हुन सक्छ दसैं बिदा । बायोडाटा बनाउने तरिका धेरै छन् । विश्वमा चलेका प्रमुख तरिकाबारे गुगल सर्च इन्जिनमा खोज्न सकिन्छ । आफ्नो शिक्षा, पेसा, रुचिजस्ता विषयअनुसार बायोडाटा तयार पार्नुपर्छ । जब अप्लाई गर्दा राम्रो बायोडाटा पेस गर्नुपर्छ । त्यसो भए मात्रै सर्टलिस्ट गर्नेहरू प्रभावित हुन्छन् ।

खाना बनाउन सिक्ने
खाना बनाउन कसलाई आउँदैन होला र ? तर हामीले घरमा खाइरहेको भन्दा फरक परिकार बनाउने कला सिक्न यो बिदा उपयुक्त हुन सक्छ । दसैंमा पारिवारिक जमघट हुने भएकाले पनि नयाँ/नयाँ परिकारको महत्व हुन्छ । चाडबाडमा सामग्री पनि पर्याप्त हुन्छन् । नयाँ स्वादका परिकारबारे घरपरिवारकै अनुभवीबाट सिक्न सकिन्छ । फेसबुकमा रहेका फुडसम्बन्धी पेज वा यू–ट्युब पनि हेर्न सकिन्छ ।

पेन्टिङ
पेन्टिङ सिर्जनशील काम हो । यो काम न भीडभाडमा गर्न सकिन्छ न हतारमा । यसका लागि पनि दसैंबिदा उपयुक्त हुन सक्छ । धेरै हतार र तनाब नहुने भएकाले उत्कृष्ट सिर्जनाको माहोल हुन्छ । पेन्टिङका लागि घरमै बस्नुपर्छ भन्ने छैन, बाहिर निस्केर पनि गर्न सकिन्छ । यस बेला सहरबजारमा त्यति भीडभाड हुन्न । प्राय: पसल बन्द हुने भएकाले आवश्यक सामग्री भने पहिल्यै जोहो गर्नुपर्छ ।

प्रकाशित : आश्विन २५, २०७५ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?