कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टपरीमा रैथाने स्वाद

कलेन्द्र सेजुवाल

सुर्खेत — चियापान कार्यक्रम भनिए पनि त्यहाँ चिया मात्र थिएन । जुम्ली कोदोको सेलरोटी, जाजरकोटी मासको बारा अनि दैलेखी टिमुरको अचार । मुखै रसाउने ती परिकार खानका लागि दुना–टपरीचाहिँ सुर्खेतको स्थानीय उद्योगबाट ल्याइएका थिए ।

टपरीमा रैथाने स्वाद

प्रदेश प्रमुख कार्यालयले पहिलोपल्ट आयोजना गरेको चियापानमा हर्बल चियादेखि दाल–रोटीसम्म सबै कर्णालीकै रैथाने खाद्यवस्तुका परिकार समावेश थिए ।


इत्रामस्थित कार्यालय परिसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित प्रदेशका पदाधिकारीले मौलिक स्वाद र नयाँ शैलीको मुक्तकण्ठले प्रशंसा गरे । ‘फापरमा केही मिसावट भएजस्तो छ है †’ हुम्लामा जन्मे–हुर्केका प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले भने, ‘अरूमा त कमेन्ट गर्ने ठाउँ देखिनँ ।’ चियापानका लागि जुम्लाबाट हर्बल (जडीबुटी) चिया, सिमी, फापर र कोदो, जाजरकोटबाट मास र दैलेखबाट टिमुर ल्याइएको थियो ।


प्रदेश प्रमुख कार्यालयका कर्मचारी पदम रावलले स्थानीय उत्पादनलाई बढावा दिन यस्तो कार्यक्रम गरिएको जनाए । खाद्यवस्तु सुर्खेत बाहिरबाट ल्याउनुपर्ने भएकाले दुई साता अघिबाटै तयारी गरिएको थियो ।


‘खर्चको हिसाबले पनि निकै किफायती भयो,’ प्रदेश प्रमुख कार्यालयका पदम रावलले भने, ‘करिब १० हजार ५ सय रुपैयाँमा फापर, कोदो, सिमी, मास, टिमुर र हर्बल चिया किनियो । कुक र क्याट्रिनमा १२ हजार खर्च भयो ।’


कार्यक्रममा करिब सयजना सहभागी थिए । कर्णाली प्रदेशकी प्रवक्तासमेत रहेकी कृषिमन्त्री बिमला केसीले रैथाने स्वादको परिकारहरूसहितको चियापानले कर्णालीका स्थानीय अन्नबाली प्रवद्र्धन र बजारीकरणलाई सघाउने बताइन् ।

प्रकाशित : आश्विन २६, २०७५ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?