कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नोबेल विजेताको नेपाल सम्झना : ‘हिमाल हेर्न मन छ’

बालकृष्ण बस्नेत

काठमाडौँ — यो वर्षको नोबेल शान्ति पुरस्कार विजेतामध्ये डा. डेनिस मक्वेगे २६ वर्षअघि नेपाली बिरामीको उपचारमा सामेल थिए । त्यतिबेला जुन अस्पतालमा उनले बिरामीको उपचार गरे, उनलाई अहिले त्यो अस्पताल हेर्नु छ ।

नोबेल विजेताको नेपाल सम्झना : ‘हिमाल हेर्न मन छ’

त्यतिबेला थोरै बसाइ भए पनि त्यो ठाउँ र स्थानीयको आत्मीयता उनले अझै भुल्न सकेका छैनन् ।

त्यो ठाउँ अर्थात् पाल्पा तानसेनस्थित मिसन अस्पताल । त्यसताका पश्चिम क्षेत्रमै चर्चित थियो । विदेशी डाक्टरहरूसमेत सेवामा खटिने भएकाले पनि वरपरका जिल्लाबाट बिरामी त्यहाँ धाउँथे । त्यही क्रममा पुगेका थिए मक्वेगे ।

‘अहिले त्यो अस्पताल कस्तो भयो होला,’ गत साता नोबेल शान्ति पुरस्कार पाउने घोषणापछि विश्वभर चर्चामा छाएका मक्वेगेले कान्तिपुरसँगको सम्पर्कमा भने, ‘मलाई त्यो अस्पताल हेर्न मन लागेको छ ।’

युद्ध क्षेत्रमा बलात्कारविरुद्ध अभियान चलाउने २ अभियन्तालाई नोबेल शान्ति पुरस्कार प्रदान गर्ने घोषणा भएको थियो । तीमध्ये एक हुन् अफ्रिकी मुलुक कंगोका डा. मक्वेगे । विश्वकै सबैभन्दा प्रतिष्ठित यो पुरस्कार उनी र इराकी अभियन्ता नादिया मुरादलाई संयुक्त रूपमा दिने घोषणा भएको हो ।

डा. मक्वेगे कंगोका गाइनोकोलोजिस्ट हुन् । उनी र उनको टोलीले १० हजारभन्दा बढी बलात्कार पीडितको उपचार गरिसकेका छन् । मुराद भने इराकको याजिदी सम्प्रदायकी महिला हुन् । उनलाई स्लामिक स्टेटका सेनाहरूले अत्याचार र बलात्कार गरेका थिए ।

डा. मक्वेगे भने अहिले पनि कंगोको बुकाभुस्थित अस्पतालमा बलात्कार र यौन हिंसापीडितको उपचारको अगुवाइ गरिरहेका छन् । कंगोमा शान्ति स्थापनाका लागि राष्ट्रसंघीय मिसन २० वर्षदेखि कार्यरत छ । त्यहाँ डा. मक्वेगे पनि कार्यरत छन् । उनलाई नेपालबाट शान्ति स्थापनार्थ खटिएका सेनाले आवश्यक सुरक्षा पनि दिएका छन् ।

बुकाभुको बसाइसँगै उनी तानसेनबाट देखिने हरियाली पहाड र हिमशृंखलालाई सम्झिरहेका छन् । ‘वरिपरि पहाड र हिमाल भएको नेपाल असाध्यै राम्रो देश हो,’ मौका मिल्दा आफू पुन: नेपाल आउने बताउँदै उनले भने, ‘तानसेनबाटै अन्नपूर्ण र अन्य हिमालको दृश्य हेर्न मन लागेको छ ।’

मक्वेगेलाई नेपाली आतिथ्यले पनि लोभ्याएको छ । उनी अझै नेपाली साथीलाई नेपालमै आएर भेट्न चाहन्छन् । नेपाली खाना पनि उस्तै मन पराउँछन् । सम्झन्छन्– ‘केही पिरो भए पनि नेपाली खाना साह्रै मीठो ।’

नोबेल पुरस्कार दिइने निर्णयबाट हर्षित भएका मक्वेगेले यो निर्णय पीडितको पक्षमा रहेको प्रतिक्रिया दिए । ‘पुरस्कारको घोषणापछि मलाई विश्वले अन्तिममा पीडितका कुरा सुनेको जस्तो लागेको छ,’ उनले भने ।

कंगोमा निरन्तरको अस्थिरता रोक्न त्यहाँको सुरक्षा व्यवस्थाले मात्र अपुग भएकाले नेपाली सेनाको समन्वयमा प्रभावकारी काम भएको उनी बताउँछन् । ‘कंगोमा शान्ति पुन:स्थापना गर्न राष्ट्रसंघको सहायता अझै छ, त्यसमा नेपाली सेनाको उपस्थिति प्रभावशाली छ,’ डा. मक्वेगेको मूल्यांकन छ । पुरस्कारको निर्णयपछि डा. मक्वेगेको थप सुरक्षाका लागि उनी कार्यरत अस्पतालमा समेत सुरक्षा दिइरहेको प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिए ।

कंगोमा कर्णेल झपेन्द्र रेस्मीको नेतृत्वमा नेपाली सेनाको टोली त्यहाँ खटिएको छ ।

(कंगोस्थित राष्ट्रसंघीय मिसनमा खटिएका नेपाली सेनाको सहयोगमा)

प्रकाशित : आश्विन २६, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?