चाड रमाइलो मादलले

हरिराम उप्रेती

काठमाडौँ — परिवारलाई साथमा लिएर दिनको १० वटासम्म मादल बनाइरहेछन् साने कुलु  । दसैं–तिहार नजिकिएसँगै उनको परिवारलाई झनै भ्याइनभ्याई भएको छ  ।

चाड रमाइलो मादलले

चाडका लागि भन्दै किन्नेहरू पसलमा पुग्दा मादलको मीठो धुनजस्तै मीठो मुस्कान छाउँछ उनका छोराहरू हरेराम, पूर्णबहादुर, राम्जी अनि छोरी फुदवेकीको अनुहारमा ।

‘बाजेले यही गरे, बाउले पनि यही, मैले पनि यही,’ सानेले सुनाए, ‘छोराछोरी पनि यसैमा लाग्दा खुसी लाग्दोरहेछ ।’ मादलले जति मीठो धुन र ताल दिन्छ, बनाउन त्यति सजिलो छैन । बनाउन लाग्ने समय र परिश्रम देखेर सडकमा हिँड्नेहरू पनि दंग पर्ने उनले बताए । धेरै मिहिनेत गरेर घार मिलाउने, छाला काट्ने, खरी हाल्ने र रंगरोगन गरेपछि बल्ल बन्छ मादल ।

‘बुबाले बनाएको हेर्थ्यौं, सघाउँथ्यौं,’ पूर्णबहादुरले भने, ‘११ वर्षको हुँदै बनाउन जानिसकेको थिएँ ।’ मादलसँगै छालाबाट बन्ने खैंजडी, मृदंग, डमरु र धिमे बाजा पनि उनीहरूले बेच्ने गरेका छन् । ‘अहिले मादलको सिजन हो, भ्याइनभ्याई नै छ,’ उनले भने, ‘बनाउन सके एक महिनामा ५०/६० हजार नाफा बस्छ ।’

जानेको सीप र परिश्रमले मनग्गे आम्दानी भइरहेकाले पुख्र्याैली पेसामै रमाएर दिन बितिरहेको उनले बताए ।साउनयता दैनिक १० घण्टासम्म मादल बनाउन व्यस्त रहेको हरेरामकी पत्नी सरिता कुलुले बताइन् । विवाह भएर आएपछि उनले बनाउन सिकेकी हुन् ।

‘आम्दानी राम्रै छ, छोराछोरी पढाएर बचत पनि हुन्छ,’ उनले भनिन् । दुई जनाले दिनमा ५ वटासम्म बनाउन सकिने उनले सुनाइन् । धादिङबाट उत्तिसको काठका घार र काठमाडौंबाट छाला, खरी, रिङ र रङ उनीहरूले ल्याउने गरेका छन् । ‘दसैंमा हुने सांस्कृतिक कार्यक्रम र तिहारको देउसीभैलोका लागि अहिले थुप्रै मादलको माग छ,’ उनले सुनाइन् । मादल एउटाको हजारदेखि २५ सयसम्ममा बिक्री हुने गरेको छ ।

पसलमा त बेचिन्छ नै, गोरखाका विभिन्न ठाउँ, काठमाडौं, पोखरा, नारायणगढ र पाल्पासम्म आफूहरूले बनाएको मादल पुग्ने गरेको उनले सुनाए । ‘हुन त बाग्लुङ, धरान र इटहरीबाट पनि मादल किन्न आउने गर्नुभएको छ,’ सानेले सुनाए ।

प्रकाशित : आश्विन २८, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?