१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

दसैंलाई धूप

सुनीता साखकर्मी

काठमाडौँ — टिका, जमरा मात्रै हैन, दसैं पूजाआजाको दृष्टिकोणले पनि विशेष छ  । दसैंको नवरात्रीमा नवदुर्गाका पीठलगायत अन्य मन्दिरहरूमा पूजा गर्न जानेको भीड नै लाग्छ  ।

दसैंलाई धूप

टिका, जमरा मात्रै हैन, दसैं पूजाआजाको दृष्टिकोणले पनि विशेष छ । दसैंको नवरात्रीमा नवदुर्गाका पीठलगायत अन्य मन्दिरहरूमा पूजा गर्न जानेको भीड नै लाग्छ । पूजा सामग्रीमा कहिल्यै नटुट्ने कुरा हो, धूप । बाटेको, सिन्के, धुलो, लस्सादार लगायत थुप्रै किसिमका धूपहरू बाल्ने गरिन्छ । यी धूप घरैमा पनि तयार पार्न सकिन्छ । हालैको भेटमा काठमाडौं थ्यामरू टोलकी हरिदेवी श्रेष्ठ पनि दसैंका लागि धूप बनाउँदै थिइन् ।


सुरुमा हरिदेवीले नेपाली कागज लामो गरी काटिन्, धूपचुँ अर्थात् धूपको धूलो बीचमा छर्दै गइन् । हातमा उठाएर त्यसलाई केही छिनमै बाटेर उनले धूपको स्वरूप दिइन् । हेर्दाहेर्दै केही मिनेटमै एक मुठा धूप पुर्‍याइन् । ‘म व्यापार गर्दिनँ,’ उनले भनिन्, ‘घरमै पूजा गर्नका लागि अलिअलि बाट्छु ।’


५८ वर्षीया हरिदेवीले धूप बनाउन थालेको धेरै भएको छैन । यी धूपहरू दसैंमा घरमा र मन्दिरहरूमा पूजा गर्न जाँदा बाल्ने बताइन् । भनिन्, ‘व्यापरीले धूप चुरोट खाएर पनि बनाउँछ, चिया खाएर पनि बनाउँछ । उनीहरूलाई व्यापारसँग मात्रै मतलब हुन्छ । आफैंले बनाउँदा शुद्ध हुन्छ ।’

उनको माइती भक्तपुर हो, विवाह गरेर उनी थ्यामरू आइपुगेकी हुन् । भक्तपुरमा किसान समुदाय धेरै भएकाले उनीहरूले यस्तो धूप बाट्ने काम गर्दैनथे । बाल्नुपर्दा किनेरै ल्याउनुपथ्र्यो । हरिदेवीले पनि लामो समय धूप किनेरै चलाइन् । पछि टोलका अरू मान्छेहरूले आफैंले धूप बनाएको देखेपछि उनले पनि आफैं बाट्न थालिन् । पसलबाटै नेपाली कागज र फूलको शुद्ध धूलो किनेर उनी धूप बनाउँछिन् । ‘किन्दा भन्दा बनाउँदा सस्तो र राम्रो हुने रहेछ,’ उनको अनुभव छ । बजारमा पाइने धूपमा व्यापारीहरूले काठको धूलो राखेर बनाउने गरेको पनि उनले दाबी गरिन्, जुन धूप बाल्दा आँखै पिरो हुने धूवाँ आउने गर्छ ।

उनलाई धूप बेचेर पैसा कमाउँm भन्ने छैन । दसैंमा धेरै पूजा हुने भएकाले पनि कम्तीमा शुद्ध धूप बालौं भन्ने उनको मनसाय हो । फेरि शुद्ध धूपको धूवाँले स्वास्थ्यलाई असर पनि गर्दैन । बेच्दा पनि यसमा मेहनत बढी परेको हुनाले महँगो पर्न जान्छ । ‘अरूले त केमिकल हालेर सस्तोमा बेच्छन्’, उनले भनिन्, ‘शुद्ध बनाउँदा महँगो पर्छ, अनि बेच्ने त कुरै भएन ।’ हरिदेवीका छोराहरूचाहिँ सिन्के धूप बाल्छन् । उनी आफ्नो सीप छोराहरूलाई दिन चाहन्छिन् । तर उनका छोराहरू सिक्न मान्दैनन् ।

‘आजकालका छोराहरूले यस्तो काम गर्दैनन्,’ उनले भनिन्, ‘कम्तीमा पुख्र्यौली ज्ञान किकिदिए हुन्थ्यो जस्तो लाग्छ ।’ थ्यामरू टोलमै लालबहादुर श्रेष्ठ पुस्तौंदेखि धूप बनाउने र बेच्ने गर्दै आएका छन् । उनले नेपाली कागज र धूपको धूलो बेच्ने पनि गरेका छन् । उनका अनुसार धूपी, असुरगन्ध, जटामसी, झरा, धूपीको काठ, पात लगायत जडिबुटी, गुलाफको फूल लगायत बास्ना आउने फूलका पातहरूलाई सुकाएर त्यसलाई धुलो बनाई धूप बनाउन प्रयोग गरिन्छ । लालबहादुरका अनुसार पहिले ढिकीमा कुटिन्थ्यो भने अहिले घरमा बसेर आवश्यकता अनुसार मिक्स्चरमा पिनेर बनाउन पनि सकिन्छ । अहिले धूप बनाउने काम पनि प्रोफेस्नल हुन थालेपछि बास्नादार र सस्तो बनाउने नाममा काठको धूलो, केमिकल प्रयोग हुन थालेको उनको पनि गुनासो छ ।

‘पहिले पो मानिस शुद्ध र भागवानप्रति आस्थावान थिए, त्यही भएर धूप पनि शुद्ध हुन्थ्यो’, उनले भने, ‘अब भावना नै शुद्ध नभएपछि पैसा कमाउनेतिर मान्छेहरू लागे । शुद्ध धूपको खोजी गर्ने चलन पनि गयो ।’ लालबहादुरका अनुसार नेपालमा सिन्के धूप वा अन्य धूपहरू आएको धेरै भएको छैन । तीन दशकदेखि सिन्के लगायत तिब्बतीयन, गोजा, गोल, गोकुल धूपहरूको प्रयोग हुन थालेको हो । पहिले बास्ना राम्रो बनाउनको लागि नेपाली कागजभित्र ल्वाङ, सुकुमेल लगायत मसलाहरू पनि राखेर स्वास्थ्यलाई फाइदा पुर्‍याउने वस्तुहरू राख्ने उनले बताए । भने, ‘तर अहिले सिन्के होस् या अन्य बाटेको धूपहरू, सबैमा केमिकल मिसाउन थालियो । केमिकल नभएको धूप घरको सबैभन्दा तल्लो तल्लामा बाले पनि मधुरो बास्ना घरभरि पिँmजिन्छ र हत्तपत्त यसको बास्ना हराउँदैन ।’

आयुर्वेदका डा. प्रकाश ज्ञवालीका अनुसार बजारमा दुई थरी धूपहरू पाइन्छ । केमिकल युक्त र जडिबुटीयुक्त । गोकुल, साल लगायत सुगन्धित द्रव्य हालेर बनाइएका धूप बालेर ध्यान, मेडिटेसन गर्दा शरीरलाई ऊर्जा प्राप्त हुन्छ । यस्ता जडिबूटीमा शरीरमा भएको टक्सिनलाई बाहिर निकाल्ने गुण हुन्छ । यसले फोक्सो, लगायत शरीरका भित्री अंगलाई पनि शक्ति प्रदान गर्छ । उनका अनुसार धूपी, गोकुल, चन्दनको धूपले शीतलता प्रदान गर्ने तथ्य वैज्ञानिक रूपले नै पुष्टि भइसकेको छ ।
तर तीव्र बजारीकरणले गर्दा धूपमा जडिबुटी नभई फ्लेवर हाल्न थालिएको र त्यस्ता केमिकलले क्यान्सर, जङाइटिस, सीओपीडी लगायत रोग हुन सक्ने खतरा रहेको उनले दाबी गरे ।

प्रकाशित : आश्विन २८, २०७५ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?