पार्क पसे ढिकी, जाँतो र कोल

हरिराम उप्रेती

गोरखा — ढिकीमा धान अनि जाँतोमा कोदो, मकै, चामल, गहुँ र जौ पिस्ने गरिन्थ्यो– १० वर्ष अघिसम्म । तोरी र तिल कोलमा हालेर तेल निकालिन्थ्यो । तर समय यसरी बदलियो कि, परम्परादेखि प्रयोग हुँदै आएका यस्ता सामग्रीको चलनै हरायो । लोप नै होला भन्ने डर ।

यिनै ढिकी, जाँतो र कोल संरक्षण गर्न गोरखा नगरपालिका– १२ रानीटारमा पर्यटकीय पार्क नै बनाइएको छ। आधुनिक मेसिन औजार नआउँदै पुर्खाले प्रयोगमा ल्याएको ढिकी, जाँतो र कोल लोप हुने अवस्थामा पुगेपछि संरक्षण गर्नुपरेको स्थानीयले बताए।


वडा अध्यक्ष डिलबहादुर थापाका अनुसार नगरपालिकाको ५ लाख र वडा कार्यालयको ३ लाख रुपैयाँ लगानीमा नौ रोपनी क्षेत्रफलमा पार्क बनाइएको हो । ‘पुराना सामग्री लोप हुँदै गए, जगेर्ना गर्न पार्क निर्माण गरेका हौं,’ उनले भने । पार्कमा राखिएका ढिकी, जाँतोमा स्थानीयले धान कुट्न र मकै, गहुँ, कोदो पिस्न सक्ने उनले बताए । ‘यहाँ आएर कुट्दा पैसा लाग्दैन, स्थानीयको सजिलोका लागि समेत पुराना सामग्री राखेका हौं,’ उनले भने, ‘ढिकीमा कुटेको धानको प्रोटिन
त्यति जाँदैन, पिठो पनि ढिकीमा कुटेकै स्वादिलो।’


‘१० वर्ष अघिसम्म घरघरमा रहेको ढिकीमै कुटेको चामलको भात खान्थ्यौं,’ गोरखा नगरपालिका– १२ दसकिलोकी ६० वर्षीया ज्ञानुमाया आचार्यले सुनाइन्, ‘अहिलेका मानिस बरु घण्टौं मिलमा पालो कुरेर चामल कुट्छन् ।’ आफूहरूले ढिकी, जाँतो, कोलको प्रयोग गरेको सुनाउँदा पछिल्लो पुस्ताका बालबालिकाले अचम्म मान्ने गरेको उनले बताइन् । ‘घरघरमा हुने ढिकी, जाँतो लोप हुने अवस्थामा पुगेका थिए, धन्न पार्कमै भए पनि देख्न पाउँदा खुसी लाग्यो,’ आचार्यले भनिन् ।

प्रकाशित : कार्तिक ५, २०७५ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्

नेकपाद्वारा सांसद मानन्धरको राजीनामा पत्र अस्वीकृत

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाले सांसद रामवीर मानन्धरको राजीनामा पत्र अस्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले काठमाडौं ७ बाट निर्वाचित सांसद मानन्धरले दिएको राजीनामा पत्र अस्वीकृत गर्ने  निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले भने, 'सचिवालय बैठकले संघीय संसद्‌का सांसद रामवीर मानन्धरले राजीनामा दिन दिनुभएको स्वीकृति पत्र अस्वीकृत गर्ने निर्णय गरेको छ।' उनका अनुसार अब तत्काललाई उपनिर्वाचनमा नजाने र वामदेव गौतम चुनाव नलड्ने निष्कर्ष निकालिएको छ।

बर्दियाबाट गत निर्वाचनमा पराजित नेकपा नेता गौतमलाई सांसद बनाउन काठमाडौं ७ खाली गर्ने तयारीपछि सांसद मानन्धरले राजीनामाका लागि पार्टीलाई स्वीकृति पत्र दिएका थिए। तर, गौतमलाई उपनिर्वाचनमार्फत सांसद बनाएमा पार्टी र सरकारलाई नोक्सान पर्ने भन्दै नेकपाभित्र चर्को विवाद भएपछि उक्त विषय तत्काललाई स्थगित गरिएको थियो।

त्यस्तै नेकपा बैठकमा सरकारको विषयमा संसद्‌मा नेता माधवकुमार नेपालले गरेको टिप्पणी, पार्टीका तल्ला तहको एकीकरणलगायत विषयमा पनि छलफल भएको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई उद्धृत गर्दै उनका प्रेस संयोजक विष्णु सापकोटाले कान्तिपुरसित भने, 'माधव कमरेडले संसद्‌मा बोलेको विषय, नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत् संसदमा ल्याउने र पार्टीको आन्तरिक विषयमा सकारात्मक छलफल भयो।' उनले पार्टीको तल्ला कमिटीहरुको समायोजनको विषयमा भोलि १ बजेका लागि फेरि बैठक डाकिएको बताए।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीका सञ्चारविज्ञ रामशरण बजगाईंले पनि पार्टी समायोजन विषयमा छलफल गर्न भोलि (सोमबार) दिउँसो १ बजे बालुवाटारमै बैठक बस्ने तय भएको जानकारी गराए।

यो पनि पढ्नुहोस्

सांसद बन्ने योजनाबाट पछि हटे गौतम


नेकपाका सांसद मानन्धरले भने, ‘पार्टीको स्वीकृतिपछि राजीनामा दिन्छु’

प्रकाशित : कार्तिक ४, २०७५ २०:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्