पर्यटक बढ्दा किन उत्साहित हुन्छन् गोठाला ?

घनश्याम खड्का

घार (म्याग्दी) — पर्यटक र गाई गोठालाबीच सम्बन्ध हुन्छ ? धेरै गोठालाका लागि पर्यटक आउनु/नआउनुमा खास अर्थ राख्दैन पनि । तर यहाँका गाई गोठाला र पर्यटकबीच भने खास सम्बन्ध छ । स्थानीय गाईको दूधबाट उत्पादित चीज सेवन गर्ने ग्राहक पर्यटक बढेपछि अन्नपूर्ण गाउँपालिका-६ घारका गाई गोठाला उत्साही भएका हुन् ।

पर्यटक बढ्दा किन उत्साहित हुन्छन् गोठाला ?

अन्नपूर्ण चक्रीय मार्गको तातोपानी–घोडेपानी क्षेत्रमा पर्यटक बढ्दा गाई गोठाला उत्साही हुन्छन् । गाउँमा उत्पादन हुने चीज खाने ग्राहक बढे, चीज बनाउने दूधको खपत पनि बढ्ने भएकोले पर्यटक आउँदा गाई पाल्ने कृषक उत्साही हुन्छन् । त्यसो त गाउँमा पर्यटक आउँदा तरकारी उत्पादक कृषक पनि उत्तिकै खुसी हुने गरेका छन् ।


अन्नपूर्ण गापा, पाउद्वार, घार र राम्चेमा स्थानीय र उन्नत जातका गाईको दूधबाट चीज उत्पादन हुन्छ । तीन वटै चीज उद्योग कृषक समूहले सञ्चालन गरेका हुन । कृषकले नै स्थापना गरेको उद्योगको चीजको बिक्री ह्वात्तै बढेपछि गोठाला खुशी भएका हुन । गोठको दूध बिक्री हुने र चीज बेचेर पनि आम्दानी हुन थालेपछि किसान उत्साही छन् ।


‘तातोपानी, घोडेपानी र पोखराको लेकसाइडमा चीजको माग बढेसँगै दूधको खपत र उत्पादन दुवै बढेको छ । स्टक पुरै सकियो । चीजका रोल राम्रोसँग जम्न नपाउँदै बिक्री भैसक्छ’ निलगिरी गाईपालन कृषी सहकारी एवं हिमालयन चीज उद्योगका सचिव श्याम खडाले भने, ‘सुरुमा चीज बोकेर मुस्ताङ र घान्द्रुकसम्म पुर्‍याएर उधारोमा बेच्थ्यौं तर अहिले अवस्था उल्टो छ, चीजको अग्रिम भुक्तानी आउन थालेको छ ।’


३५ गाईपालक कृषक आवद्ध निलगिरी गाईपालन कृषी सहकारी संस्थाले नै हिमालय चीज उद्योग स्थापना गरेको हो । दैनिक ३ सय लिटर दूधबाट ४० किलोग्राम चीज उत्पादन हुन्छ । कृषकले दूधको मूल्य आफैं तोकेका छन्, प्रतिलिटर ६० रुपैयाँ ।


कृषकले हरेक महिनाको पहिलो दिन दूधको भुक्तानी बुझ्ने गरेका छन् । १ लिटरदेखि ३० लिटरसम्म दैनिक दूध ल्याउने कृषक छन् । कृषकले दूध र चीज बिक्रीबाट पनि राम्रो आम्दानी गरेका छन् । उद्योगले अघिल्लो वर्ष प्रति कृषक २२ हजार नगद लाभांश बाँडेको थियो ।


‘पशु चौपाया पाल्दा झरीबादल र चाडपर्व केही भन्न पाइन्न । पशु पाल्न सजिलो छैन, दुःख छ । तर महिना पुगेपछि कर्मचारीले तलब बुझे झैं दूधको पैसा बुझ्न पाउँदा सबै दुःख बिर्सिइन्छ,’ किसान लिलबहादुर खडाले भने, ‘अझै चीज उद्योग व्यवस्थित बनाउन सकेका छैनौं । पर्यटक अफसिजनमा उत्पादित चीज भण्डारण र बर्खायाममा सडकमा यातायात नचल्ने भण्डारण क्षमता सानो छ ।’


राम्रो नगद आम्दानी पाएपछि उत्साही कृषकले ८० हजारसम्म मूल्य तिरेर होलिस्टिक, न्यूजिल्याण्ड र जर्सी समेतका गाई थपेका छन् । अधिकांश स्थानीय क्रस जातका छन् ।

पर्यटकको आगमन बढेपछि उत्साही भएका गोठालाहरुले स्थानीय गाईगोठ सुधार गर्दै व्यवसायीक रुपमा गाई पाल्ने बढेका छन् । तीन वर्ष अघिको नाकाबन्दी र त्यसअघि हुद्हुद् आँधीको बेमौसमी हिमपातपछि पर्यटक घटा समेत हतास नभएका कृषक अहिलेको पर्यटक चाप देखेपछि हौसिएका छन् ।


चीज बजारको सहजता, प्रयाप्त घाँसे क्षेत्र, मोटरबाटोले दैलोमा पुग्ने हुँदा दाना लैजान सहज, बिजुली पानी र सञ्चार सेवाको सहज पहुँच बस्तीसम्म पुगेपछि परम्परागत गाई गोठहरु विस्तारै व्यवसायीक बन्न थालेका हुन ।

प्रकाशित : कार्तिक ७, २०७५ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?