संसारबाट यसरी लोप भए डाइनोसर, यसरी उत्पति भयो मानिस

गोविन्द पोखरेल

काठमाडौँ — करिब साढे १४ करोड वर्षसम्म पृथ्वीमा राज गरेका डाइनेसोरहरु एकाएक कसरी लोप भए ? जल, जमिन, जंगल जताततै पाइने डाइनेसार लोप हुनुपर्ने कारण के थियो? पृथ्वीमा के त्यस्तो घटना भयो जसका कारण डाइनसोरको नामोनिशान नै मेटियो ?

डाइनोसोर इभोलुसनरी इकोलोजीको एउटा महत्वपूर्ण पाटो हो। कतिपयका लागि यो ‘मिथ’ लागेपनि जीवाशेषहरुबाट प्राप्त प्रमाणले पृथ्वीमा कुनै समय डाइनोसोरको युग थियो भन्ने पुष्टि भइसकेको छ।

Yamaha

पृथ्वीको अनुमानित उमेर साढे ४ अर्ब वर्ष हो। यसबीच पृथ्वीमा धेरैै आरोह अवरोह भए र हुनेक्रम जारी छ। धेरै ठूला–ठूला महाप्रलयहरु(मास एक्सटिङक्सन) भए। हरेक मास एक्सटिङक्सनबाट एउटा प्रजातिको अन्त्य र नयाँ प्रजातिको उदय हुँदै आएको खोजहरुले देखाएको छ।

मास एक्सटिङक्सनमा धेरै प्रजातिका जीवहरु विनाश हुन्छन्। हालसम्म ५ वटा महाप्रलयका घटनाहरु भएका छन्। छैटौँ महाप्रलय सुरु भइसकेको वैज्ञानिकहरुले दाबी गर्दै आएका छन्। र, छैटौँ महाप्रलयबाट मानव जातीको अस्तित्व समाप्त हुने दाबी गरिएको छ।

आजभन्दा साढे ६ करोड वर्ष पहिले पृथ्वीमा क्रेटासियस महाप्रलय घटेको थियो। जसका कारण डाइनोसोरको विनाश भएको साइन्टिफिक जर्नलहरुमा उल्लेख छ। उक्त महाप्रलयमा परी पृथ्वीमा भएका ७६ प्रतिशत प्रजातिहरुको विनाश भएको वर्ल्ड एट्लास अनलाइनले उल्लेख गरेको छ।

क्रेटासियस महाप्रलय के–कारणले भएको थियो भन्ने विषयमा वैज्ञानिहरु विभाजित छन्। नेशनल जोग्राफिकले वैज्ञानिकहरुको भनाइ उद्दृत गर्दै लेख्छ, ‘क्रेटासियस महाप्रलय आकशीय पिण्ड र ज्वालामुखी विष्फोटनका कारणले भएको थियो।’ कतिपय वैज्ञानिकहरु भूकम्प, क्लाइमेट चेन्ज र प्राकृतिक कारणले यो महाप्रलय भएको ठान्दछन्। तोहोकु विश्वविद्यालयका कुनियो कैहो र नागा ओसिमाको अध्ययनले पनि पृथ्वीको सतहमा आकशीय पिण्ड झरेका कारण महाप्रलय गएको उल्लेख गरेका छन्।

प्रख्यात वैज्ञानिक एवं हावार्ड विश्वविद्यालयका पूर्व प्राध्यापक स्टेफेन जे गोउल्डको भनाइलाई उदृत गर्दै वातवरण विज्ञानका प्राध्यापक अमूल्य रत्न तुलाधार भन्छन्, ‘पृथ्वीमा उत्पत्ति भएका ९९ प्रतिशत जीवहरु लोप भइसकेका छन्। अहिले भएकाहरु कूल उत्पत्ति भएका प्रजातिहरुको एक प्रतिशत मात्र हुन्।’ उनका अनुसार पृथ्वीको हरेक कालखण्डहरुमा महाप्रलय आउने गरेका छन्।

आकशीय पिण्ड पृथ्वीको सतहमा खसेपछि क्रेटासियस महाप्रलयको भएको मानिदै आएको छ। साढे ६ करोड वर्षपहिले पृथ्वीको तापक्रम औसत थियो। जताततै हरियाली अनि सफा वायुमण्डल थियो। अहिले जस्तो प्रदूषित थिएन। जमिनमा, पानीमा बस्ने अनि उड्ने डाइनोसोरको युग थियो।

डाइनोसोरको त्यो युगमा प्राथमिक स्तनधारी जीव लुकेर बस्थे। मुसा जस्तो देखिने ती स्तनधारी जीवहरु सुरक्षाको कारणले जमिनमुनि लुकेर बस्थे। जमिनमुनी बस्ने यी स्तनधारी अहिलेको आधुनिक युगका लागि वरदान हो। आधुनिक युगमा स्तनधारी प्रजातिको प्रभुत्व छ, त्यसमा पनि मानवको।

त्यसबेला एउटा १० किलोमिटर चौढाइ भएको आकशीय पिण्ड पृथ्वीतिर आउँदै थियो। पृथ्वीको गुरुत्वकार्षण क्षेत्रमा प्रवेश गरेसँगै उक्त पिण्डको गति एकाएक बढ्यो। ७० हजार किलोमिटर प्रति घण्टाको गतिमा पिण्ड पृथ्वीको नजिक पुग्छ। वायुमण्डलीय क्षेत्रमा पुग्ने बित्तिकै घर्षणका कारण पिण्ड आगोको गोलामा बदलिन्छ। आगोको गोला यति शक्तिशाली थियो कि यसको ८ सय किलोमिटरको रेडियसमा आउने जीवहरु खरानी भए।

‘उक्त आकशीय पिण्ड पृथ्वीको सतहमा ठोक्किए पछि ठूलो विष्फोट भयो। विष्फोट यति शक्तिशाली थियो कि पृथ्वीमा भएका धेरै धातुहरु आन्तरिक्षमा पुगे। विष्फोटन भएको क्षेत्रमा १८० किलोमिटर चौढाइ र २० किलोमिटर गहिराई बन्यो। ठोक्किएको क्षेत्रमा भएका माटो वायुमण्डमा पुगेर एउटा ठूलो बाक्लो तह भएको बादल बन्यो। बादलमा गएको धुलोका कारण ठूलो तुफान आयो। २० हजार प्रति किलोमिटरको रफ्तारमा धुलोको बादल देखियो। बादल धेरै किलोमिटर बाक्लो भएकाले पृथ्वीमा सूर्यका किरणहरु आउन पाएनन्। धेरै वर्षसम्म पृथ्वी अध्याँरो भयो। जसका कारण कयौ बिरुवाहरु मरे।’ प्राध्यापक तुलाधारले भने।

यस्तै, पिण्ड विष्फोटनका कारणले भुकम्प आयो। समुद्रका तरंगसँगै सुनामी सुरु भयो। उड्ने जीवहरु सतही खतराबाट त बाँचे तर विष्फोट भएर आकाशमा गएका पृथ्वीका धातु तथा वस्तुहरु त्यस घटनाको ४० मिनेटपछि आगोको गोलाको रुपमा वर्षिएपछि उनीहरुको इहलिला पनि समाप्त भयो। विष्फोटको डेढ घण्टापछि पृथ्वीको तापक्रम एक सय ९० डिग्री सेल्सियस पुगेको थियो। जसका कारण धेरै टाढामा रहेका डाइनोसार तथा अन्य जीवहरु तापक्रम सहन नसकेर मरे। उच्च तापक्रमका कारण पानी वाष्फीकरण भयो।

यो महाप्रलयका कारण पृथ्वीको ७६ प्रतिशत प्रजातिहरुको विनाश भयो। पृथ्वीमा उक्त आकशीय पिण्ड मेक्सिकोको यूकेटान पेनिन्सुलामा खसेको थियो। उक्त पिण्डमा इरिडियम धातु पाइएपछि वैज्ञानिकहरुले आकशीय पिण्ड भएको पत्ता लगाएका थिए। इरिडियमा धातु आकशीय पिण्डहरुमा पाइन्छ। यस्तै, ज्वालामुखी विष्फोटनका कारण इरिडियम धातु पृथ्वीको गर्भबाट निस्किएको अर्का थरीका वैज्ञानिकहरुको धारणा छ। वैज्ञानिकहरु क्रेटिसियस महाप्रलयकै कारण डाइनोसोरको लोप भएको कुरामा भने एकमत छन्।

विनाश डाइनोसोरको, फाइदा मानव प्रजातिलाई

क्रेटासियस महाप्रलयका कारण डाइनोसारको विनाशसँगै स्तनधारी जीवहरुको विकास भएको तथ्य भौगर्भिक समयतालिकाबाट थाहा पाउन सकिन्छ। यदि त्यो महाप्रलय नभैदिएको भए सायद आज मानव जातिको उत्पति नै हुदैन थियो कि भन्ने तर्कहरु पनि इभोलुसनरी इकोलोजिस्टहरुको दाबी छ।

महाप्रलयमा मुसा जस्तो देखिने ती ‘प्राथमिक स्तनधारी’ जीवहरु बाँचेका थिए। भ्यागुता, गोही, शंखे किरा जस्ता जीवहरु पनि बाँचे। उच्च तापक्रममबाट बच्नका लागि ती स्तनधारी जीव जमिनमुनी बसे। त्यहाँ जे भेटे त्यही खाएर आफ्नो अस्तित्व जोगाए।

महाप्रलयको केही लाख वर्षपछि पृथ्वी स्थिर हुँदै गयो। बाँचेका ती स्तनधारीहरु पनि विकास हुँदै गए। उनीहरु आकारमा पनि ठूला हुँदै गए। स्पेसियसन (नयाँ प्रजाति बन्ने प्रकिया) पनि हुँदै थियो। नयाँ प्रजातिको उत्पत्ति हुँदै गयो। मानवको प्राचिन पुर्खा पनि त्यही अनुरुपमा विकास हुँदै थिए। करिब ४ दशमवल ७ करोड वर्ष पहिले पृथ्वीको अवस्था सामान्य भइसकेको थियो। औसत तापक्रम २४ डिग्री सेल्सियस पुगेको थियो।

तर, पृथ्वीमा अझै प्राकृतिक हलचल हुने क्रम भने रोकिएको थिएन। क्रेटासियस महाप्रलयपछि लाखौ वर्षसम्म पृथ्वीको टेक्टोनिक प्लेटहरु हलचल भइरह्यो/जुन क्रम अहिलेपनि जारी छ।

महाद्वीपहरु सर्न थाले। महाद्वीपहरु सर्ने प्रक्रियालाई कन्टिनेन्टल ड्रिफ्ट भनिन्छ। यिनीहरु वर्षमा एकसेन्टिमिटर वा त्योभन्दा बढी सर्न सक्छन्। यही सेरोफेरोमा इन्डियन टेक्टोनिक प्लेट र यूरेसियन टेक्टोनिक प्लेट एकआपसमा ठोक्किए। त्यसको प्रतिक्रया स्वरुप हिमालय श्रंखलाको निर्माण भयो। हिमाली श्रंखलाको निर्माणसँगै हाम्रो देशको भूगोल निर्माण भयो। संसारको सबैभन्दा ठूलो चुचुरो सगरमाथाको उत्पत्ति त्यही बेला भयो। हिमश्रंखलाको बरफबाट धेरै हिमनदीको उत्पत्ति भयो। नदी र हिमालयको उत्पति भइसकेपछि कमी थियो त सिर्फ मानव जातीको। यसको थप विवरण वैज्ञानिक अल्फ्रेड वेगनरको किताब ‘ओरिजन अफ कन्टिनेन्ट्स एण्ड ओसन्स’मा उल्लेख छ।

४० लाख वर्षअघि अफ्रिकाको पूर्वी इलाकामा इस्ट अफ्रिकन रिफ्ट भ्याली पर्वत श्रंखलाको उत्पत्ति भयो। उक्त पर्वत श्रंखलाले मनसुनी हावालाई अवरोध पुर्‍याउन थाल्यो। रिफ्ट भ्याली नजिकैको जंगलमा बस्थे, एप्स। मनसुनी अवरोधका कारण पानी पर्न छाड्यो। रुखहरु सुके। जंगल विस्तारै उजाड बन्दै गयो, मरुभूमी हुन थाल्यो। खानाको अभाव भएपछि ती एप्सहरु रुखबाट भुईँमा आए। खानाको खोजी गर्ने क्रममा उनीहरु हिड्ँन थाले।
रुखबाट जमिनमा हिड्ने एप्स थिए, एर्डिपिथेकस रेमिडस। एर्डिपिथेकस रेमिडस प्रजातिका एप्सहरुको दिमाग सानो थियो। ४ फिट उचाइ थियो उनीहरुको। चारपाउबाट दुईपाउबाट हिड्नु नै क्रमभंग भइसकेको थियो।

हजारौ वर्षौसम्म विकासक्रम चली रह्यो। दुई खुट्टाले हिड्दा उनीहरुलाई कम उर्जा चाहिन्थ्यो। खान पनि सजिलो हुन्थ्यो। चेतना त्यही अनुरुप बढ्दै थियो। एस्ट्रोलोपिथेकस उभिएर हिड्ने पहिलो मानव प्रजाति बने।

त्यसपछि हेमो ह्याबिसको विकास भयो। उनीहरुले ढुंगाबाट हतियारको निर्माण गरे। शिकार खेल्न त्यही प्रयोग गरे। समय चलि रह्यो।त्यसपछि होमो एरिक्टिसको विकास भयो। उनीहरु आवाजको माध्यमबाट एकअर्काबीच इशारा गर्न थाले। यही क्रममा भाषाको निर्माण भयो। उनीहरुले आगोको खोज गरे। यो नै विकासक्रमको सबैभन्दा ठूलो सफलता थियो।

आगो पत्ता लागेपछि समूहमा बस्ने परिपाटी सुरु भयो। पकाएर खाने चलन सुरु भयो। पकाएर खादा कम उर्जा लाग्ने भएपछि शरिरमा सञ्चित उर्जा दिमागमा प्रयोग हुन थाल्यो। हेमो इरिक्टिस पछि होमो नियनडेरथल प्रजाति आए। तर आइस ऐजका कारण विलय भए।

त्यसपछि होमो सेपियन्सको उत्पति भयो। यिनीहरु अन्य प्रजातिभन्दा आधुनिक थिए। वातवरण अनुकुल भएकाले संसारभर फैलिन सके। यिनीहरु बुद्धिमानी थिए। समूहमा बस्थे, खेतीपाती गर्न सुरु गरे। प्राकृतिक विपत्तिको सामना गर्न सक्थे।

र, यसरी जीव विकासकै क्रममा आधुनिक मानवको उत्पत्ति भयो। जुन संसारको सबैभन्दा श्रेष्ठ र बुद्धिमानी प्राणी हो। चार्ल्स डार्बिनले भनेजस्तै पृथ्वीमा जीव विकासको क्रम अहिले पनि चलिरहेको छ। यदि क्रेटासियस महाप्रलय नभइदिएको भए, आकशीय पिण्ड (एस्टिरोइड) पृथ्वीमा नखसेको भए सायद डाइनोसोरहरुलाई आज हामी देख्न सक्थ्यौ कि? महाप्रलय नभइदिएको भए ती प्राथमिक स्तनधारीहरु आज जमिन मुनी नै बस्थे होलान् कि?

महाप्रलयपछि अफ्रिकाको रिफ्ट भ्यालीको उत्पत्ति नभइदिएको भए ती एप्सहरु रुखमै बस्थे होलान्। सायद मानव प्रजातिको उत्पत्ति नै हुदैन थियो होला।

प्रकाशित : कार्तिक ११, २०७५ १३:५८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रधानमन्त्री ओलीलाई मौसमी रूघाखोकी, अझ तीन दिन घरमै आराम गर्न चिकित्सकको सल्लाह

अतुल मिश्र

काठमाडौँ — प्रधानमन्त्री केपी ओली दुई दिनदेखि मौसमी रूघाखोकी र हल्का ज्वरोको समस्याका कारण निवासमै आराम गरिरहेका छन् । चिकित्सकले थप तीन दिन आराम गर्न सुझाएका छन् ।


प्रधान‍नमन्त्रीका निजी चिकित्सक डा. दिलिप शर्माका अनुसार उनको स्वास्थ्यस्थितिमा शनिबारको तुलनामा आइतबार सुधार देखिएको छ।

"मौसमी रूघाखोकी र हल्का ज्वरो देखिएपछि प्रधानमन्त्रीलाई भेटघाट, बैठक र भीडभाडभन्दा टाढा रहन सल्लाह दिएका हौं' डा. शर्माले कान्तिपुरसंग भने।

दशैं, तिहार, नेपाल सम्वत, छठलगायतका चाडपर्वका उपलक्ष्यमा नेकपाले शनिवार आयोजना गरेको चियापानमा प्रधानमन्त्री ओली उपस्थित भएनन्। सञ्चो नभएर कार्यक्रममा उपस्थित नभएको भनिएपछि उनको स्वस्थ्यस्थितिबारे चासो बढेको हो।

चिकित्सकका अनुसार हाल प्रधानमन्त्री ओलीलाई एउटा साधारण एन्टिवायोटिक र रूघाखोकीको औषधी दिइएको छ। उपचारमा सलग्न चिकित्सकले उनलाई थप तीन दिन औषधी सेवनसंगै निवासमै आराम गर्न सल्लाह दिएका छन्।

यसैबीच प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले एक प्रेस नोट जारी गरी प्रधानमन्त्री अोली चिकित्सकको सल्लाह बमोजिम दुई दिनदेखि नियमित भेटघाट र बैठकबाट टाढा रहेको उल्लेख गरेका छन् । प्रेस नोटमा स्वास्थ्यमा सुधार भएको उल्लेख गर्दै पूर्ण सुधार भएपछि सार्वजनिक कार्यक्रममा सहभागी हुने उल्लेख छ ।

प्रकाशित : कार्तिक ११, २०७५ १३:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT