कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दुर्गम हतुवा क्षेत्रमा विकासले गति लिंदै, स्थानीयलाई सुविस्ता 

विद्या राई

भोजपुर (घोडेटार) — जिल्लाकै दुर्गम क्षेत्रका रुपमा मानिने दक्षिणी हतुवा क्षेत्रले पछिल्लो समय विकासमा फड्को मार्न थालेको छ । जटिल भौगोलिक अवस्था, चेतनाको अभाव तथा गरिबीका कारण पछाडि परेको यो क्षेत्र सडक, पर्यटन, शिक्षा, स्वास्थ्य, विद्युत तथा कृषि जस्ता पुर्वाधार विकासमा अघि बढिरहेको छ । जसको प्रत्यक्ष लाभ हतुवाबासीले लिन थालेका छन् ।

दुर्गम हतुवा क्षेत्रमा विकासले गति लिंदै, स्थानीयलाई सुविस्ता 

हर्काकी उषा बस्नेत दशैंमा चाँडै घर पुग्न पाएकामा खुशी छिन् । अघिल्लो साँझ काठमाडौंबाट ‘हिडें है’ भनेर घरमा फोन गरेकी छोरी भोलीपल्ट बिहान आगनमा टुप्लुक्कै आइपुग्दा परिवार पनि दंग परे । दक्षिणी भोजपुरको विकट गाउँकी उनी अध्ययन र व्यापारको सिलसिलामा काठमाडौं बस्छिन् । उनलाई दुई वर्षअघिसम्म गाउँ पुग्न र फर्कन झण्डै एकहप्ता लाग्थ्यो । यो दशैंमा घर पुगेर परिवार र आफन्तसंग भेट हुँदाभन्दा पनि ठुलो खुसी काठमाडौंबाट गाउँ नजिकिएकामा छ ।


‘गाउँको विकासमा भित्रैबाट खुशी छु,’ उनले सुनाइन् । बेलुकीपख काठमाडौंको कोटेश्वरबाट माइक्रो चढेर बिपि राजमार्गबाट उज्यालो नहुदै धरान पुगिन् । धरानबाट चतरा घाटसम्म लोकल बस चढिन् । त्यहाँबाट जेटबोट चढेर चुहार (गाडी लाग्ने ठाउँ) पुगिन् ।


उनी ०६९ चैतमा एसएलसी दिएर काठमाडौं छिरेपछिको पाँच वर्षको फरकमा दुईपल्ट मात्रै घर पुगेकी छन् । हप्तादिनसम्म जोखिमपुर्ण तथा कष्टप्रद यात्रा गर्नुपर्ने कारणले गर्दा पनि घर जान झन्झट हुने गरेकाले नगएकी हुन् । यस वर्षको दशैं यात्रा उनका लागि सजिलो र छिटो मात्रै रहेन । रोमाञ्चक पनि बन्यो । उनलाई मात्र होइन भोजपुरको दक्षिणी भेगका हतुवाबासीका लागि तराई तथा केन्द्रीय राजधानीको यात्रामा सुविधा भएको छ ।



पहिले तराई झर्दा झोलीतुम्बा बोकेर सप्तकोशीको तिरैतिर, अक्करे भिरैभिर हुँदै पैदल हिड्नु पर्‍थ्यो । पैदल यात्रा निकै कष्टप्रद हुन्थ्यो । पहाडको फेदि बराहक्षेत्र (गाडी लाग्ने ठाउँ)सम्म आइपुग्न मात्रै एक दिनभर खर्चनु पर्‍थ्यो । त्यसपछि मात्रै गाडी चढ्न पाइन्थ्यो । दुई वर्षदेखि हतुवाक्षेत्र सिधै तराईसंग जोडिएको छ । ‘कच्ची नै भए नि बाटो गाउँमा पुगेको छ, गाडी चल्छन्, स्वर्ग छ,’ ध्यान राई भन्छन् ।


हतुवाबासी यतिबेला घोडेटारदेखि हसनपुर, धनकुटाको अखुवाटार, मुलघाट हुँदै (८५ किमि) सवारी साधन चढेरै सहजै धरान बजार पुग्छन् । घोडेटारदेखि मचुवाटार (२१ किमि), सिम्ले (२५ किमि) र चुहार (२४ किमि) सम्म सडक यात्रा पार गरेपछि यात्रुका लागि तराई झर्ने दुई विकल्प छन् । सडक यात्रा र जल यात्रा । अखुवाटार मुलघाट हुँदै सवारी यात्रा गर्दा तीनघण्टामा धरान बजार पुगिन्छ । धरान पुग्न दुई दिनसम्म पैदल यात्रा गर्दै आएका हतुवाबासीका लागि सडक जोडिएपछि निक्कै सहज भएको छ ।


भोजपुर र धनकुटाको सिमाना अरुण नदीबाट सप्तकोशी हुँदै उदयपुर र सुनसरीको सीमाना चतराघाटतर्फ चल्ने जेडवोटबाट यात्रा गर्दा २० मिनेटमै तराई पुगिन्छ । यात्रु तथा पर्यटक २० मिनेटमा करिब १५ किलोमिटरको दूरी तय गर्छन् । यसले गर्दा सप्तकोशीको तिरैतिर, अक्करे भिरैभिर जोखिम मोलेर पैदल हिड्नुपर्ने बाध्यता टरेको छ । सात घण्टासम्म हिँड्नुपर्ने भौगोलिक अवस्थालाई जेडबोटबाट २० मिनेटमै पार गर्न सम्भव छ । जेडबोट सञ्चालनमा आएपछि यात्रा छोटिएको मात्रै छैन, छिटो, सजिलो र मनोरञ्जन समेत दिएको छ । भोजपुरको दक्षिणी भेग, खोटाङको दक्षिणपुर्वी भेग, धनकुटाको पश्चिम–दक्षिण तथा उदयपुरको उत्तरी भेगका बासिन्दालाई सुविधा पुगेको छ । यहाँ दुईवटा जेटबोट सञ्चालनमा छन् ।


विहान ५ बजे घोडेटारबाट गाडी चढेर धरानबजार खाना खान पुग्ने यात्रुहरु गाडी मिल्दा काम सकेर त्यसैदिन घर फर्किने गरेका छन् । तराईसँग लिंक जोडिएपछि टन्टलापुर घाममा हिडेर तराई जानुपर्ने बाध्यता हटेको छ । विरामीलाई गाडीमा चढाएर सहजै धरान, विराटनगर तथा काठमाडौं पुर्‍याउन सकिएको छ । यसअघि यायायातको असहजताका कारण कतिपय विरामीले अकालमै ज्यान गुमाउनु पर्‍थ्यो ।


हतुवा क्षेत्रको मुख्य व्यापारिक केन्द्र घोडेटारबजार तराईका व्यापारिक केन्द्रहरु धरान, इटहरी, विराटनगर र केन्द्रीय राजधानी काठमाडौसंग सोझै जोडिएको छ । यसले गर्दा सामान आयात निर्यातमा सहज भएको छ । साना गाडी, ट्याक्टर, बाइक, ट्याम्पो जस्ता करिब २५० भन्दा बढि सवारीसाधन सहजै आउजाउ गरिरहेका छन् ।


सुख्खा जमिन भएका कारण कृषि उत्पादनका हिसाबले यो क्षेत्र निक्कै पछाडि छ । मानिसहरुले वर्षभरी खान पुर्‍याउन अन्यत्रबाट बेसाएर ल्याउनु पर्‍थ्यो । डोको र नाम्लोको भर पर्नु पर्ने कारण महंगो हुन्थ्यो । सडक जोडिएपछि दैनिक उपभोग्य बस्तु सजिलै र सस्तो मुल्यमा पाउन थालेको छ । गाउँमा पहिले भान्सामा मकैको च्याख्लाले तीन महिना पकाउन पनि धौधौ हुन्थ्यो । अहिले जिरा, मसिना चामल छानीछानी पकाउने चलन आएको छ ।


यसैगरी सिजनअनुसारका स्थानीय उत्पादनलाई एकैचोटी सहज रुपमा विक्री गर्न सहरबजार पठाउन सकेका छन् । यसभेगमा उत्पादन हुने अलैची, अम्रिसो, चिराईतो, सुन्तला, मकै, अदुवा, बेसारलगायतका उत्पादित नगदेबाली, अन्नबाली, दलहन, तेलहन, मसलाका उत्पादन जिल्लाबाहिरका ठुला बजारमा निर्यात गर्न सहज भएको घोडेटारका व्यापारी बताउँछन् । धरान बजार दक्षिणी बेल्टका लागि मुख्य व्यापारिक केन्द्र हो । धरान बजारमा क्षेत्रबासीले वार्षिक करोडौंको व्यापारिक सामानको विक्री वितरण गर्दै आएका छन् । सोही अनुपातमा आयात गर्दै आएका छन् ।


हतुवागढी गाउँपालिकाभित्र पर्ने यो क्षेत्रको विकासमा स्थानीय तह पुन:संरचनाले गर्दा पनि लय समातेको हो । ‘सडक विकासको मेरुदण्ड रहेछ, निर्माणाधिन सडकहरुलाई प्राथमिकताको क्रममा बाह्रैमास चल्ने चलाउनेमा हामी जनप्रतिनिधिहरु लागेका छौ,’ हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । गाउँपालिकाले सदरमुकाम जोड्ने र तराई जोड्ने घोडेटार भोजपुर, घोडेटार चुहार, सुनबालुवा तथा पुरानो तृतीया जोड्ने चार वटा खण्डलाई मुख्य सडकका रुपमा मानेर मर्मतसम्भारमा जोड दिएको छ । चालुआव सुरु भएदेखि हालसम्म यी मुख्य सडक मर्मतका क्रममा १५ लाख रुपैया खर्चेको छ । २४ जना सडक हेरालुले सडक मर्मत गर्छन् । गाउँपालिकाले नयाँ सडक निर्माण गर्ने कार्यमा बजेट विनियोजन गर्न छाडेको छ । पुराना सडकको स्तरोन्नतीलाई जोड दिएको छ ।

भौगोलिक कठिनाइका बाबजुद दशकअघि छिमेकी जिल्ला धनकुटाको पाख्रिबास, अरुण नदीको सुनबालुवा हुँदै स्काइभेटर छिराएर सडक विस्तार थालिएको थियो । त्यतिबेला अरुण नदीमा १० घण्टालगाएर स्काइभेटर तारेका थिए । उतिबेला कसैले पत्याएका थिएनन् गाउँमा गाडी कुद्छन् भनेर । ठुला ठुला भिरपहराले छिचोल्दै सडक विस्तार हुँदै गएपछि हतुवाक्षेत्रले विकासमा लय समातेको छ । सडक निर्माणको सुरुवातदेखि अहिलेसम्म सुनबालुवा घोडेटार, घोडेटार–मचुवा–सिम्ले तथा चुहार सडक निर्माणमा सवा करोडजति खर्च भैसकेको गाउँपालिकाको अनुमान छ । जसमा गाउँपालिकाले ३४ लाख खर्च गरेको छ ।


स्थानीय तह आउनुअगाडि जिल्ला विकास समिति, सांसद विकास कोष तथा स्थानीयहरुको चन्दा संकलनबाट सडक निर्माण गरिएको थियो । स्थानीयले सडक निर्माणकै लागि गरगहना, जग्गा घर धरौटी राखेका थिए । घरमा पालेका कुखुरा, बाख्रा, गाई, भैसी बेचेका थिए । निकै कष्ट गरेर निर्माण गरिएका सडकको ऋण तिर्न अझै बाँकी छ । यसको सम्पुर्ण प्रोफाइल तयार पारेर सल्ट्याउँदै जाने गाउँपालिकाको योजना छ ।

सडक विस्तारले हतुवाबासीको जनजीवन फेरिएको मात्र छैन । ठुला विकासे योजना पनि बन्दै गएका छन् । गतवर्षदेखि विद्युतको केन्द्रीय प्रशारण लाइन पनि जोडिएको छ । यदि सडक नभएको भए विद्युत विस्तारका लागि आवश्यक ठुला उपकरण ल्याउन सकिने थिएन । कृषि तथा पर्यटनको सम्भावना खोज्दै युवा पिंडी लगानी गर्न थालेका छन् । पाँच वर्ष वैदेशिक रोजगारमा बिताएर आएका दियानाका इन्द्र थापा भन्छन्, ‘सडकले गर्दा नयाँ आशा पलाउँदैछन्, गाउँमा लगानी गर्ने आँट बढेको छ ।’ उनी र उनको टीम व्यावसायिक फर्म सञ्चालनमा जुटेको छ ।


प्रकाशित : कार्तिक १४, २०७५ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?