२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सद्भाव बढाउन सामूहिक तरकारी

लक्ष्मी साह

बारा — तीन तहको चुनावका बेला प्रसौनी गाउँपालिका–७, बन्जरियाका बासिन्दा विभिन्न पार्टीका पक्षमा खुलेर लागे । एकै परिवारका सदस्य पनि यो र त्यो पार्टी भन्दै हिँडे । वल्लोपल्लो घरका स्थानीयबीच मतभेद बढ्यो । कतिको बोलचालै बन्द भयो ।

सद्भाव बढाउन सामूहिक तरकारी

चुनावको नतिजा आइसक्दा पनि स्थानीयबीच मेलमिलापको वातावरण बनेन । एउटालाई देख्दा अर्को तर्केर हिँड्ने, भेट भइहाले झगडा गर्ने । ससाना कुरामा खोंचे थाप्ने । चुनावको तुष लामो समयसम्म रहँदा सामूहिक निर्णयका आधारमा गर्नुपर्ने काम हुन सकेन ।


सामाजिक सद्भावमै खलल पर्ने अवस्था आएपछि स्थानीय युवाले मेलमिलाप गराउने उपाय खोजे । धेरै विकल्पमा छलफल भयो । अन्तिममा उनीहरूले निर्णय गरे– सामूहिक तरकारी खेती । त्यसका लागि २५ युवाको समिति बन्यो । युवाको यो प्रयासले अहिले दोहोरो सफलता पाइरहेको छ, गाउँलेबीच मेलमिलाप र मनग्य आम्दानी । चुनावसँगै बढेको अविश्वास तरकारी खेतीले घटाइरहेको छ ।


सामान्य खेतीपातीबाट गुजारा चलाइरहेका स्थानीयको जीवनस्तरमा पनि सुधार आइरहेको छ । कलैया हाटबजार नजिकै भएकाले उत्पादित तरकारीका लागि बिक्रीको समस्या छैन । ‘चुनावताका मनमुटाव बढेकाले सम्बन्ध बिग्रेको थियो । सामूहिक खेतीका माध्यमबाट मतभेद हट्दै छ,’ युवा समूहका अगुवा रामबाबु राउत भेडिहरले भने, ‘खेतीका लागि सबै जनालाई जिम्मेवारी तोकिएको छ । त्यसैअनुसार काम गरिरहेका छौं ।’


उनका अनुसार बीउ बेर्ना बनाउने, गोडमेल गर्ने, सिँचाइ, मल, औषधि छर्ने, बजार लैजाने, हिसाबकिताब राख्नेलगायत जिम्मेवारी बाँडिएको छ । समूहकी सदस्य कान्तिदेवी रामले तरकारी खेतीले समुदायका सबै पार्टीका समर्थकलाई एकै ठाउँमा ल्याएको बताइन् । सामूहिक खेतीले झन्डै २ सय घरधुरी एकै ठाउँमा जोडिएको उनले बताइन् ।

प्रकाशित : कार्तिक १६, २०७५ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?