३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

कोहलपुरका रिक्सावाली

मधु शाही

कोहलपुर — ‘आउनुस् हजुर, जयरूपाको रिक्सामा चढ्नुहोस्,’ उनीसँग अटोरिक्सा चलाउने सीप एकातिर छँदै छ, यात्रुसित मीठो बोलेर यात्राका लागि निम्तो गर्ने कला पनि छ  । कोहलपुर नगरपालिका २, प्रेमनगरकी ३८ वर्षीया जयरूपा चौलागाईंले ४ वर्षदेखि अटोरिक्सा चलाउँदै आएकी छन्  ।

कोहलपुरका रिक्सावाली

प्रहरीले भन्ने गरेको मुस्कानसहितको सेवा सही अर्थमा उनले दिइरहेकी छन् ।


नगरपालिकामा यस्ता रिक्साले सेवा दिन थालेको ५ वर्ष भयो । सुरुमा अटोरिक्सा चलाउँदा उनी एक्ली महिला थिइन् । अहिले उनीजस्ता अटोरिक्सा चालक महिलाको संख्या बढेको छ जसबाट उनीहरू आत्मनिर्भर बनिरहेका छन् । ‘सुरुसुरुमा आइमाईले चलाएको अटोरिक्सामा चढ्नु हुँदैन भनेर मान्छे बस्न मान्दैनथे,’ विगत सम्झेर उनले भनिन्, ‘महिलामा चलाउने ढंग हुँदैन, लडिहाल्यो भने उठाउने क्षमता हुँदैन भन्ने सोच राख्थे ।’


कतिपय पुरुष चालकले हाम्रो बराबरी गर्ने भन्दै हप्काउने गरेको पनि उनले बताइन् । यसले उनलाई खासै फरक परेन । अहिले भने समय फेरिएको छ । ढुक्कले रिक्सा चलाएर परिवार चलाएकी छन् । विगतमा जीविकोपार्जनका लागि निकै दु:ख गरिन् । मदिरा बनाउने, दाउरा बेच्ने, होटेलमा मजदुरीसमेत गरिन् । यस्ता कामबाट आम्दानी कम, अपमान धेरै हुने गरेको उनले सुनाइन् । रिक्साले सम्मान र आम्दानी दुवै दिएको उनले बताइन् ।


बर्दियाकी ३० वर्षीया तारा चौधरी २ वर्षअघिसम्म गृहिणी मात्र थिइन् । बसचालक पतिले कमाएको आम्दानीले घर खर्च चलाउन मुस्किल थियो । गुजारा चलाउन समस्या भएपछि तारालाई पनि आयआर्जनको बाटो रोज्न मन लाग्यो । पतिले सुरुमा त काम गर्न दिएनन् । ‘श्रीमतीले काम गरे आफूलाई लाज हुन्छ भन्नुहुन्थ्यो,’ उनले भनिन्, ‘धेरै सम्झाएपछि रिक्सा चलाउने अनुमति दिनुभयो ।’


२ वर्षदेखि अटोरिक्सा चलाइरहेकी तारा अहिले घर खर्च धान्ने भएकी छन् । २/४ हजारका लागि श्रीमानको मुख ताक्नु नपर्ने भएको उनले सुनाइन् । छोराछोरीको स्कुल शुल्क, लत्ताकपडा र खाजा खर्चसमेत आफैंले बेहोर्छिन् । छोराछोरीलाई स्कुल पुर्‍याएर बिहान ११ बजे रिक्सा चलाउन कोहलपुर आउँछिन् । साँझ ५ बजे घर पुगिसक्छिन् । घर चाँडै गएर खाना पकाउने जिम्मा पनि उनकै हो । ‘घरको काम सकेर रिक्सा चलाउँछु,’ उनी भन्छिन्, ‘दिनभरि बस्नुभन्दा २/४ पैसा आम्दानी हुन्छ ।’


२५ वर्षीया आरती चौधरी काम खोजिरहेकी थिइन् । ज्यालामजदुरी गरी गुजारा चले पनि उनको मन शान्त थिएन । दमका रोगी बाबुको उपचार खर्च जुटाउन निकै मजदुरी गर्नुपथ्र्यो । रिक्सा चलाउन थालेपछि यी समस्या समाधान भएका छन् । ‘अहिले रिक्सा चलाएर महिनाको २० हजार कमाउँछु,’ उनले भनिन्, ‘ज्याला मजदुरीभन्दा यो सजिलो पनि छ ।’ २ लाख रुपैयाँ बुझाएर किस्तामा अटोरिक्सा किनेकी उनले १ वर्षमा ऋण चुक्ता गरिन् । कर्ममा विश्वास राख्ने जयरूपा, आरती र ताराजस्ता अटोरिक्सा चालक देखेर अरू महिला पनि प्रेरित भएका छन् । यहाँका सहरमा यस्ता चालकको संख्या दिन प्रतिदिन बढिरहेको छ ।

प्रकाशित : कार्तिक १७, २०७५ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?