दिन आए पालाका

‘धेरै वाटको चिमको अगाडि हामीले बालेको पाला फिक्का लाग्न थालेको छ । लक्ष्मीपूजाको सौन्दर्यमा कमी आएको छ । बिजुली बत्ती बाल्ने परम्पराले लक्ष्मीपूजा आयातित संस्कृतिजस्तै बन्न पुगेको छ ।’
सुनीता साखकर्मी

भक्तपुर — होस सम्हालेदेखि नै भक्तपुर पोटरी स्क्वायरका विवेक प्रजापती माटोसँगै खेलेर हुर्किए । खेलौना पनि माटोकै हुन्थे । माटोबाटै उनी आफूलाई चाहिने सबै चिजबिज बनाउँथे । बुवाले इलेक्ट्रिक हीलमा माटोका विभिन्न भाँडाहरू बनाएको देखेर उनले पनि सिक्दै गए भने कति उनका बुवाले सिकाए ।

इलेक्ट्रिक हीलमा पहिलो माटोको पाला (दियो) बनाएको उनलाई याद छ । अहिले पनि माटोको पाला बनाइरहेका छन् । तिहार नजिकिँदै गर्दा २७ वर्षीय विवेकलाई पाला बनाउन भ्याईनभ्याई छ ।


भक्तपुरमा प्रजापती समुदायले बनाएको पालामा दियो बालेर घर झिलीमिली बनाउने गरिन्छ । हालैको दिनमा भेटिएका विवेक पाला बनाउनका लागि माटो मुछ्दै थिए । उनलाई यस वर्ष ५० हजार पालाको अर्डर आएको छ । ‘तिहारअघि नै जसरी पनि बनाउनु पर्नेछ,’ उनले भने । अर्डरअनुसार काम गर्ने भएकोले उनलाई आफूले बनाएको सामान कहाँसम्म पुग्छ भन्ने थाहा छैन । तर अहिले माटोको पाला बनाउने अर्डर पहिलेभन्दा कम आउन थालेको उनको अनुभव छ । पाला बनाएर कमाएको पैसा तिहारमा खर्च हुने गरेको उनले बताए । ‘पहिले इलेक्ट्रिक बत्तीहरू नआउँदा सबैले माटोको पाला किनेर घर झिलीमिली पार्थे,’ उनले भने, ‘अहिले पाला थोरै मात्र प्रयोग हुन्छ । त्यसैले अर्डर पनि घटेको छ ।’ पालाबाहेक उनी तिहारमा प्रयोग हुने धुपौरो पनि बनाउँछन् ।

Yamaha


भक्तपुरकी ४४ वर्षीया श्रीलक्ष्मी प्रजापतीका अनुसार तिहारमा नेवार समुदायले दुई थरीको पाला प्रयोग गर्छन् । एकमुखे र चारमुखे । एकमुखे पालाहरू लक्ष्मीपूजाको दिन घर सजाउनका लागि प्रयोग गरिन्छ भने म्हपूजा र भाइटीकाको दिनमा दाजुभाइ र परिवारको अगाडि बाल्नका लागि चारमुखे पालाको प्रयोग हुन्छ । उनको छोराहरूले माटोको पाला बनाउने काम गर्छन्, अनि छोराहरूले बनाएको पाला उनी सुकाउने, रंगाउने काम गर्छिन् । भन्छिन्, ‘पहिले पचास/साठी हजार बनाउने गरेकोमा अहिले चार/पाच हजार मात्रै बनाउन थालेका छन् ।’

लक्ष्मीलाई खुसी पार्न दियो
नेवार समुदायमा लक्ष्मीपूजाको दिनमै बनाएको काँचो माटोको पालामा तेल राखेर दियो बाल्ने परम्परा अहिले पनि छ । लक्ष्मी अँध्यारोमा बस्दिनन् भन्ने आध्यात्मिक मान्यताअनुसार नै पालामा दियो बाल्ने चलन सुरु भएको संस्कृतिविद् ओम धौभडेलले बताए ।

पुर्खाले पाला बालेर घर उज्यालो पार्थे । घरमा दियो बालेर जति उज्यालो बनाउन सक्यो त्यति नै लक्ष्मीको आगमन हुने विश्वास पनि छ । ‘नेवारहरूले घरको पिखालाखी (आँगन) देखि ढुकुटीसम्म र झ्याल, ढोकामा समेत पालामा बत्ती बाल्ने परम्परा छ,’ धौभडेलले भने ।हिन्दु धर्ममा धेरै पहिलेदेखि नै दीपावली गर्ने परम्परा चलिआएको र अन्यमा पनि धनको देवीको पूजा गर्ने परम्परा रहेको धौभडेल बताउँछन् । ‘इसापूर्वभन्दा पहिलेदेखि नै लक्ष्मीको आराधना गर्ने परम्परा छ ।

विश्वका युनान, ग्रिक, मेसोपेटामेनियाजस्ता पुरानो सभ्यतामा लक्ष्मीजस्तै धनका देवीहरूलाई बत्ती बालेर पूजा गरेका तथ्य इतिहासमा पाइएको छ,’ उनले भने, ‘तत्कालीन मुद्राहरूमा धनसँग सम्बन्धित हात्ती, कमललाई कुँदिएको पाइएको छ ।’ भक्तपुरमा पाला बनाउनु प्रजापती समुदायको मौलिक पेसा हो । नेवार कला संस्कृतिमा माटोका भाँडाकै बढी प्रयोग भएको देखिन्छ । उनका अनुसार पहिले लक्ष्मीपूजाकै दिनमा बनेका पालाको प्रयोग गरिन्थ्यो ।

तर अहिले केही दिनअघि नै बनाएर सुकाइएका पाला प्रयोग गरिन्छ । तर अहिले भने सुकाएका वा पोलेर रातो बनाइएका पालाको प्रयोग पनि बढेको छ । ‘पोलेको माटोको पाला तिहारमा प्रयोग गर्ने चलन छैन,’ धौभडेलले भने, ‘अन्य पाला अपसकुनको बेला बाल्ने कारण तिहारमा कालो माटोकै पालामा बाल्ने चलन छ । तर अहिले त्यो विस्तारै मेटिँदै गयो ।’

समयको सूचक
शरद ऋतु सुरु भएसँगै जाडो मौसम सुरु भइरहेको छ । अब दिनहरू छोटो र रात लामो हुने समय आएको छ । पहिले घडीको आविष्कार नभइसकेको अवस्थामा समय मापन गर्ने प्रविधि नहुँदा लक्ष्मीपूजामा दियो बालेको हेरेरै जाडो बढ्दै गयो र रात लामो हुँदै गयो भन्ने संकेत दियोले दिने गरेको धौभडेलले जनाए ।

अहिले पनि भक्तपुरको नेवार समुदायले दसैंको कोजाग्रत पूर्णिमाको दिनदेखि प्रत्येक दिन आकाशदीप बाल्ने चलन छ । उनी भन्छन्, ‘पहिले यो दियोको प्रकाश जति चम्किँदै गयो, त्यति नै रात छिप्पिँदै गएको वा लामो छोटो संकेत गथ्र्याे ।’

अहिले समय फेरिएको छ । ‘धेरै वाटको चिमको अगाडि हामीले बालेको पाला फिक्का लाग्न थालेको छ,’ उनले भने, ‘लक्ष्मीपूजाको सौन्दर्यमा कमी आएको छ । बत्ती बाल्ने परम्पराले लक्ष्मीपूजा आयातित संस्कृतिजस्तै बन्न पुगेको छ ।’

प्रकाशित : कार्तिक १७, २०७५ ०८:२९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गायत्रीको देउसी गीत

कान्तिपुर संवाददाता

विराटनगर — तिहार नजिकिँदै गर्दा गीतकार गायत्री लम्सालले देउसी गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्  । फरक शैलीको यो पूर्वेली भाका उनी आफैंले गाएका छन्  ।

उनलाई अञ्जु गौतमले साथ दिएकी छन् । गीतले भन्छ–

भैलिनी आयौं खान्दानी आँगन मौकैले भयो भेट
काटेर आयौं देउराली भन्ज्याङ छिचोल्दै गैरी खेत...

बलराम समालले संगीतबद्ध गरेको गीतको भिडियोमा भैली खेल्न गायिका गौतमको अगुवाइमा महिलाहरूको टोली छ भने देउसी खेल्न लम्सालकै नेतृत्वमा पुरुषहरूको टोली ।

तुलसी घिमिरेले निर्देशन गरेको म्युजिक भिडियो संयोग विष्ट र राजु श्रेष्ठले छायांकन गरेका हुन् । लम्सालको यसअघि ‘आकाश हेर्दै दोबाटोमा’ गीतिसंग्रह प्रकाशित छ ।

प्रकाशित : कार्तिक १७, २०७५ ०८:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT