मुन्डाको ढौसी

पर्वत पोर्तेल

काँकडभिट्टा — अरूले देउसी खेले । झापाका सीमान्तकृत आदिवासी मुन्डा समुदाय तीन दिनसम्म ढौसीमा रमाए । परम्परागत बाजाका तालमा नाचे । मुन्डा समुदायमा लक्ष्मी पूजाका दिनदेखि भाइटीकासम्म ढौसी खेल्ने परम्परा छ ।

मुन्डाको ढौसी

लख्खी अर्थात् लक्ष्मी पूजाका दिन खेतबारी र आफूसँग भएको जायजेथाको पूजा गरे । गोरिया पूजा (हली तिहार) मा गोरुको पूजा गरेर जुटे ढौसीमा ।


यो समुदायको ढौसी खेल्ने शैली अन्य समुदायसँग मिल्दैन । वाद्यवादन बजाउँदै फरक शैलीमा ढौसी खेल्छन् । पुरुषहरू कुर्ता, धोती र पगरीमा सजिन्छन् । महिलाहरू साडी–चोलोमा ठाटिन्छन् । पुरुषको साथमा मादल, नगेरा, ढोल र झ्याम्टा हुन्छ । महिला एकै लहरमा उभिएर नाच्छन् । ‘एउटा घरमा एकदेखि डेढ घन्टासम्म खेल्छौं,’ मुन्डा समुदायका अगुवा बन्धनकुमारले भने, ‘हाम्रो समुदायमा मात्रै खेल्छौं ।’ मुन्डाको ढौसीमा केही रोचक कुरा पनि छन् । गोबरले लिपेको आँगनमा चामलको पिठोको रेखी लगाइन्छ । त्यसमाथि खन्याएको एक पाथी धानमाथि जाँड (घरेलु मदिरा) ले भरिएको एउटा झर्के थाल राखिन्छ ।


जाँडको थालभित्र तामाको ढक (पैसा) हुन्छ । त्यो पैसा प्राप्तिका लागि सुतेर झर्के थालको जाड पिउनुपर्छ । ‘जाँड पिइसकेपछि दाँतले च्यापेर पैसा निकालिन्छ,’ बन्धनकुमार भन्छन् । ढौसी सकिएपछि घरबेटीलाई चामल र फूल आशिषका रूपमा दिने चलन छ । ‘ढौसे टोलीले दिएको त्यो सामान राख्नाले सम्पत्ति प्राप्त हुने विश्वास छ,’ मुन्डा उत्थान समिति झापाका अध्यक्ष विश्वदेव मुन्डाले सुनाए, ‘त्यसैले चामल र फूल अनिवार्य लिने चलन छ ।’


विगतमा ढौसी खुब खेल्थे मुन्डा समुदाय । अचेल कम हुँदै गएको छ । मुन्डा समुदायको मौलिक संस्कृति क्रमश: हराउँदै गएकोमा अगुवाहरूको चिन्ता बढेको छ । ‘हाम्रो मौलिकता हराउँदै गएको छ,’ मुन्डा उत्थान समितिका सचेतकसमेत रहेका बन्धनकुमारले भने, ‘हराउँदै गएको संस्कृतिलाई जसोतसो जोगाउने प्रयत्न गरिरहेका छौं ।’

प्रकाशित : कार्तिक २५, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?