१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कुखुरालाई गीत

शिव पुरी

रौतहट — कुखुराले गीत सुन्छ । त्यो पनि लोकगीत । चन्द्रपुर–४ स्थित ठाडाटोलमा सञ्चालित आईएस पोल्ट्री फार्मका कुखुरालाई यस्तो बानी परेको छ । 

कुखुरालाई गीत

कुखुरालाई गीत सुनाउनैका लागि फार्ममा बुफर झुन्ड्याइएको छ, जसमा थरीथरीका नेपाली गीत बजाइन्छ । गीत सुन्न पाएपछि कुखुरा शान्त हुन्छन् । त्यति मात्र होइन, कुखुरालाई गीत सुनाउन एक जना प्राविधिक नै खटिएका छन् ।


फार्म आसपास कुनै गाडी वा ठूलो आवाजसहित मानिस दौडिँदा पनि कुखुरा तर्सिने र एकअर्कामा च्यापिएर मर्न सक्ने भएकाले लोकगीतको तालमा झुम्ने बानी पारेको सञ्चालक फिरोज श्रेष्ठले बताए । संगीतको तालमा ध्यानमग्न भएपछि कुखुराले अण्डा धेरै पार्ने उनको दाबी छ । ‘कुखुरालाई कुनै किसिमको ठूलो आवाज मन पर्दैन,’ उनले भने, ‘मन्द आवाजमा गीत बजाएपछि एकसुरले बस्ने बानी पर्छ ।’

दैनिक कम्तीमा ८ घण्टा लोकगीत बजाउने गरेको श्रेष्ठले सुनाए । रातिचाहिँ गीत बन्द गरिन्छ । कुखुरालाई संगीतमा भुलाउने यो उपाय वरपरका अन्य फार्ममा भने अपनाइएको छैन । गीत सुनाउनुअघि बाहिरको आवाजले तर्सेर एउटै पोको परी धेरै कुखुरा मरेको उनले बताए । उनका अनुसार एकचोटि कुखुरा तस्र्यो भने दिनभरि तर्सिरहन्छ ।


‘म्युजिक बजाउन थालिएपछि तर्सिएको छैन,’ उनले भने । चराविद् हेमसागर बरालले पोल्टी फार्महरूमा बाहिरी ध्वनि कम गर्न गीत बजाउने गरिएको बताए । यसको राम्रो प्रभाव परिरहेको उनको भनाइ छ । ‘गीतले पशुपन्छीलाई शान्त बनाउँछ, शान्ति ल्याउन म्युजिकको रोल हुन्छ,’ उनले भने ।


पशु चिकित्सक गृहमणि नेपालले फार्ममा हुर्किंदै गरेका साना चल्ला बाहिरको आवाजले तर्सिने र डराउने गरेको पाइएको बताए । ‘फार्मको जालीछेउमा बिरोलो, स्याल देखे पनि कुखुरा डराउँछन्,’ उनले भने, ‘तिनीहरूलाई एकोहोरो बन्ने बानी पार्न म्युजिक प्रयोग गर्ने गरिन्छ ।’


कुखुरा व्यवसायी संघका अध्यक्ष रामविनोद पाण्डेले फार्मभित्र कुखुराको संख्या अत्यधिक हुने र कुनै ठूलो आवाज आयो भने चेप्टिएर मर्न सक्ने भएकाले व्यवसायीले गीत सुनाउने गरेको बताए । ‘ध्वनि प्रदूषण रोक्न सबैले यस्तै उपाय अवलम्बन गर्नुपर्ने हो तर कसैले गरेको पाइँदैन,’ उनले भने, ‘आईएस पोल्ट्री फार्मले राम्रो गरेको छ ।’


युवा व्यवसायी श्रेष्ठ र धु्रव तिमल्सिनाले एक बिघा जग्गामा झन्डै ८ करोड लगानीमा पोल्ट्री फार्म सञ्चालन गरेका हुन् । पाँचवटा खोर (ब्लक) बनाएर सुरुमा चितवनबाट ८ हजार चल्ला पालिएको थियो । एकपटक चल्ला ल्याउँदा २० लाखभन्दा बढी खर्च हुने श्रेष्ठले बताए । फार्ममा रहेका १३ हजार हाराहारी कुखुरा सबै पोथी हुन् ।


फार्ममा दैनिक ११/१२ हजारवटा अण्डा उत्पादन हुन्छ । तिनले १६/१७ महिनासम्म अण्डा पारिरहन्छन् । त्यसपछि ती कुखुरा मासुका लागि प्रयोग गरिन्छ । फार्ममा ७ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । कुखुराको हेरचाहका लागि तीनवटा जर्मन सेफर्ड कुकुर पालिएको छ ।

प्रकाशित : कार्तिक २६, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?