कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

मण्डल थरीथरीका

‘मण्डल एउटा रेखा र कलमको संयोजन मात्र होइन । यी मनका विभिन्न विचारका तह पनि हुन् । जीवनमा सफल हुने सूत्र मण्डलमै पाइन्छ ।’ 
प्रशान्त माली

ललितपुर — नेवार समुदायमा अनेक मण्डल बनाएर वर्षभर देवीदेवताको पूजाआराधना गर्ने परम्परा छ । तिहार होस् या न्हुँ दयाँ भिन्तुना या म्ह: पूजा, विशेष मण्डल बनाएर आफ्नो आत्माको आफैंले पूजा गर्छन् । मण्डल विशेषज्ञ रीतीश बज्राचार्यका अनुसार मण्डल बुझ्ने व्यक्तिलाई ब्रह्माण्ड, उसको शरीर र जन्मदेखि मृत्युसम्मका सम्पूर्ण तत्त्वबारे थाहा हुन्छ ।

मण्डल थरीथरीका

बढदो आधुनिकतासँगै यस्ता मौलिक ज्ञान र परम्परा भने लोप हुँदै गएका छन्, नयाँ पुस्ताको खासै चासो छैन । यस्तोमा ललितपुरस्थित झी झी पुच: ठेचोले नेपाल संवत् ११३९ को उपलक्ष्यमा मण्डल लेखन प्रतियोगिता गरेको छ । गत वर्ष गोदावरी नगरपालिकामा सीमित प्रतियोगिता यस वर्ष ललितपुर जिल्लाव्यापी रूपमा भएको हो ।

‘मण्डल एउटा रेखा र कलमको संयोजन मात्र होइन,’ बज्राचार्य भन्छन्, ‘यी मनका विभिन्न विचारका तह पनि हुन् । जीवनमा सफल हुने सूत्र मण्डलमै पाइन्छ ।’

उनका अनुसार, संस्कारका नियमले कुनै पनि देवीदेवताको आसन ग्रहण गराउन लेखिने विधि नै मण्डल हो । म्ह: पूजा मण्डलमा अष्टमंगल चिह्न हुन्छन्, आठ वटा । पहिलो प्रतीक मानिने श्रीवत्सलाई महायान बौद्धमार्गीले अवलोकितेश्वरको हृदयको प्रतीक र हिन्दु पुराणमा विष्णुको अंगमा परेको चिह्नको रूपमा मानिन्छ । दोस्रो प्रतीक पुण्डरीक (कमलको फूल) मानिन्छ ।

“बौद्ध दर्शनअनुसार महामन्त्र ‘ओम् मणिपद्मे हुँ’ को एक अंशका रूपमा पुण्डरीकलाई लिइन्छ,” बज्राचार्य भन्छन् । उनका अनुसार स्वाभिमानको प्रतीकका रूपमा चाहिँ ध्वजा मानिएको छ । कुनै पूजाआराधना गर्दा देवता आवाहन गर्न कलश प्रयोग हुन्छ । ‘जल राख्न पनि कलशको प्रयोग गरिन्छ,’ उनी भन्छन्, ‘शिरमा कलशयुक्त गजुर हालेर मन्दिर निर्माण गरिने भएकाले कलशलाई घडाको प्रतीकको रूपमा लिइएको छ ।’ अन्य प्रतीक हुन्– चमर, माछा, छत्र र शंख ।

यस पटकको मण्डल लेखन प्रतियोगितामा ठेचोको मालिगा टोलस्थित भली पुच: ले बनाएको म्ह: पूजा मण्डल पहिलो भयो । ठेचोकै आर्ट क्लबले सिर्जना गरेको पञ्चबुद्ध मण्डल दोस्रो भयो । पाटनको बालकुमारीस्थित महर्जन सिस्टर समूहले बनाएको स्वस्तिक मण्डल तेस्रो स्थानमा रह्यो ।

‘हिन्दु धर्मअनुसार मण्डललाई यन्त्र मानिन्छ,’ अर्का मण्डल विशेषज्ञ समुद्रमानसिंह श्रेष्ठ भन्छन्, ‘बीच भागको चक्रमा बुद्ध मूर्ति भएको मण्डल पञ्चबुद्धको हो । पञ्चबुद्ध मण्डल पञ्चवली तत्त्व मिलाएर बनाइन्छ । सबभन्दा बाहिर आगोको ज्वालावली तत्त्वले रिस, राग र मोह बुझाउँछ भने बज्रावलीले शक्ति, पद्मावलीले निश्छल मन अनि वायुवलीले मिलनसार हुनुपर्ने संकेत गर्छ ।’

उनका अनुसार, त्यसपछि दरबार आकृतिमा चारैतिर मुख्य प्रवेशद्वारमा महाकालजस्ता डरलाग्दा देवता राखिएका हुन्छन् । यसबाट मानिसका फरक–फरक स्वभाव इंगित गरिएको हो । यसको पहिचान क्षमता मानिसमा हुनुपर्छ ।

प्रतियोगितामा १३ समूह सहभागी थिए । आयोजक झी झी पुच:का अध्यक्ष अनिल महर्जनले प्रतियोगितामा यस वर्षदेखि रनिङ सिल्डको व्यवस्था गरिएको जनाए । ‘अबदेखि पुरस्कार पाउन अनिवार्य रूपमा तीन पटक जित्नुपर्ने हुन्छ,’ उनले भने, ‘प्रतियोगिताको दायरा विस्तार गरेर उपत्यकाव्यापी बनाउने योजना छ ।’ पुच:ले चार वर्षअघिदेखि यो प्रतियोगिता गर्दै आएको छ ।

प्रतियोगीहरूले अधिवासन मण्डल, ग्रहमण्डल पनि बनाएका थिए । अधिवासन महायानी बौद्ध धर्मको पूजाकर्ममा प्रयोग हुन्छ । चैत्य स्थापनामा र बूढाबूढीको भीम रथारोहण (जंको) आदिमा समेत यो मण्डल प्रयोग गरिन्छ । ‘यो मण्डलमा पञ्चबुद्ध, चारतारा, चार द्वारपाल र चार देवी विराजमान भएका छन्,’ बज्राचार्य अथ्र्याउँछन्, ‘मूल देवता बौद्ध दार्शनिक दृष्टिले पञ्चस्कन्ध, चतुरार्य सत्य एवं आर्य अष्टांगिक मार्गको प्रतीकको रूपमा हुन्छन् ।’

ग्रहमण्डल बज्रयान बौद्ध धर्ममा परम्परागत ग्रह शान्ति, भीमरथारोहणको कर्मकाण्डमा पनि प्रयोग हुन्छ । बज्राचार्यका अनुसार, मण्डलमा सबभन्दा महत्त्वपूर्ण काठमाडौं स्वयम्भू महाचैत्यअगाडिको धर्मधातु वागीश्वर मण्डल हो । यो मण्डलका बीचमा वैरोचन, अक्षोभ्य, रत्न सम्भव, अमिताभ र अमोघसिद्धि गरी पाँच तथागतका चित्र हुन्छन् ।

प्रकाशित : कार्तिक २६, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?