कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

दिनहुँ देखिन्छन् बाघ

कमल पन्थी

बर्दिया — दसैंतिहारको बिदामा यो पटक बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकीय चहलपहल बढ्यो । बाह्य अनुहार त देखिन्थ्यो नै । आन्तरिक पर्यटक पनि थपिए । र, हिउँद लाग्नासाथ बढ्ने क्रम जारी छ । कारण हो, निकुञ्ज क्षेत्रमा दिनहुँ बाघ देखिनु । 

दिनहुँ देखिन्छन् बाघ

निकुञ्जभित्र बबई, बघौरा फाँट, कर्णाली तटीय क्षेत्र, तीनकुने क्षेत्रमा पाटे बाघ देखेर पर्यटक खुबै लोभिने गरेका छन् ।


‘पहिलोपटक बाघ देखें । डमरु पनि देखें,’ नेदरल्यान्डबाट घुम्न आएकी अनाले उत्साहित हुँदै भनिन्, ‘मलाई त साथीहरूलाई फूर्तिसाथ देखाउने कोसेली नै यही फोटो भयो ।’


कात्तिकयता निकुञ्जमा दैनिक २ सयभन्दा बढी आन्तरिक र ४० देखि ६० विदेशी पर्यटक आइरहेका छन् । नजिक घर भएकाहरू दिनभर निकुञ्ज अवलोकन गरेपछि फर्किने गर्छन् । टाढाबाट आएकाहरू २ देखि ४ दिनसम्म बस्ने गरेका छन् ।


विदेशी पर्यटक भने एक सातासम्म निकुञ्जसँग जोडिएका ठाकुरद्वारास्थित होटलमा बस्ने गरेका छन् । केही पर्यटक डल्लास्थित थारू होमस्टेमा बस्ने गरेका छन् । गत साउनदेखि असोजसम्म तेस्रो मुलुकबाट आउने पर्यटक उल्लेख्य बढेका हुन् ।


निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत अशोककुमार भण्डारीले पर्यटक आगमन बढ्दै गएको बताए । ‘विगत वर्षका तुलनामा यस वर्ष बढे,’ उनले भने, ‘बाघ नै प्रमुख आकर्षण हो ।’


बर्दिया निकुञ्जमा ८७ वटा बाघ रहेको पछिल्लो गणनामा देखिएको छ । निकुञ्ज अवलोकन गरी वनभोज खाने प्रचलन पनि छ । ठाकुरबाबा नगरपालिकास्थित हात्तीसारमा विद्यार्थी र शिक्षकले निकुञ्ज अवलोकन गरी सार्वजनिक बिदाको उपयोग गर्छन् ।


सुर्खेतबाट साथीसहित घुम्न निस्केका दिलबहादुर खत्रीले पनि तीनकुने क्षेत्रमा बाघ देखे । आफूले पहिलोपटक बाघ देखेको प्रसंग राख्दै खत्रीले भने, ‘बाघ नजिकैको खोलामा आई विचरण गरेको हेर्दा मज्जा लाग्यो ।’


पछिल्लो ३ महिनामा २ हजार ३ सय १५ जना तेस्रो मुलुकबाट पर्यटक आएका निकुञ्जले जनाएको छ । कात्तिक महिनामा भने आन्तरिक पर्यटक हवात्तै बढेका छन् । दसैं र तिहार बिदा मनाउन ६ हजारको हाराहारीमा नेपाली पर्यटक र १ हजार २ सय विदेशी पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् ।


निकुञ्ज आसपासमा २२ वटा पर्यटकीय होटल छन् । पर्यटकीय चहलपहलले व्यवसायीको मुहारमा खुसी छाएको छ । विदेशीभन्दा आन्तरिक पर्यटकले बढी खर्च गर्ने अनुभव व्यवसायीको छ । गैंडा कटेजका सञ्चालक रामजी थापा यो वर्ष आन्तरिक पर्यटक बढदा उत्साह थपेको बताउँछन् ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?