१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

माटोसँग मितेरी

‘जीवन नै माटो, माटो नै जीवन भएको छ मेरो लागि । माटोसँग खेल्ने बानी परिसक्यो, आकृतिसँग मुस्कुराउने बानी परिसक्यो ।’
भरत जर्घामगर

सिरहा — २०५७–५८ सालमा काठमाडौंको भृकुटीमण्डपमा मूर्तिकला प्रदर्शनी भएको थियो । त्यसमा बीपी कोइरालाको माटोको अर्धकदको मूर्ति बनाएका रामबाबु पण्डित पनि पुरस्कृत भएका थिए ।

माटोसँग मितेरी

‘त्यसपछि त्यस्ता प्रदर्शनीमा अहिलेसम्म भाग लिन पाएको छैन,’ हालैको भेटमा ३५ वर्षे रामबाबुले

भने, ‘प्रदर्शनीमा माटाको मूर्ति नराखिँदो रहेछ ।’


उनी माटाकै मात्र काम गर्ने गर्छन् । प्रदर्शनीप्रतिको यस्तो अनुभवले उनलाई त्यसबाट टाढा पार्न भने सकेको छैन । दुई दशक नाघेको छ उनले माटोसँग साइनो गाँसेको । जीविकोपार्जनको मुख्य स्रोत बनेको छ– मूर्तिकला व्यवसाय ।


दस कक्षासम्म पढेका, लहान नगरपालिका–८ का रामबाबु माटोलाई मुछेर कलात्मक प्रतिमा तयार पार्छन् । देवीदेवताका आकर्षक मूर्ति बनाएर बेच्ने गर्छन् । बढी माग यिनैको छ । वार्षिक ६ लाख रुपैयाँको व्यवसाय हुने गरेको छ ।


‘सरस्वती, विश्वकर्मा, दुर्गा भवानी, लक्ष्मी, इन्द्र, कृष्ण भगवान्, बुद्धको प्रतिमा तयार गर्ने गर्छु,’ उनले सुनाए, ‘धेरैतिरबाट मूर्ति बनाउन आग्रह गर्छन् । त्यहाँ गएर बनाउने गरेको छु । अरू बेला घरमै बनाएर बिक्रीका लागि राख्छु ।’


विशेष गरी सरस्वती पूजा, विश्वकर्मा पूजा, दुर्गा पूजा र कृष्ण जन्माष्टमीका बेला उनको व्यस्ता बढ्ने गर्छ । ‘यो समयमा मूर्ति बनाएरै फुर्सद पाइन्न, साथमा तीन जना सहयोगी राख्नुपर्छ,’ उनले भने, ‘त्यतिखेर डेढ लाख रुपैयाँ बराबरको मूर्ति बिक्री गर्छु ।’ उनीकहाँ सिरहा, सप्तरी, उदयपुर र धनुषा जिल्लाका बासिन्दाले समेत मूर्ति किनेर लग्छन् । उनको कलाले ती जिल्लामा ख्याति कमाएको छ ।


उनले मूर्ति बनाउने कला कुनै क्याम्पस र विद्यालयबाट भने सिकेका होइनन् । ‘मैले बुवाबाट सिकेको हुँ,’ उनले भने, ‘बुवा बेचन पण्डित पनि सानै उमेरदेखि मूर्ति बनाउने गर्नुहुन्थ्यो रे ।’


रामबाबु माटोको अलावा धातु र सिमेन्टको मूर्ति पनि तयार गर्छन् । ‘नमुना दिएअनुसारको जस्तो पनि मूर्ति तयार गर्छु,’ उनले भने, ‘धातुको मूर्ति बनाउन धेरै पुँजी लाग्ने भएकोले माटोको बनाएर बिक्री गर्छु । त्यही कमाइबाट घर जोडेको छु ।’


सुरुमा पैसा नहुँदा वैदेशिक रोजगारीमा जाने सोचसमेत उनले बनाएका थिए । ‘तर साहस गरे यही पनि कमाउन सकिँदो रहेछ,’ उनले सुनाए, ‘चर्चा नपाउन्जेल गाह्रो भयो, अहिले समय दिन भ्याउँदिनँ ।’

उनी मूर्तिको मुहार र सिंगारपटारमा वर्षैपिच्छे केही न केही ‘इम्प्रोभाइजेसन’ गरिरहेका हुन्छन् । एक पटक बनाएको कसैको मूर्ति अर्को वर्ष बनाउँदा उनले नयाँपन दिने गरेका छन् ।


मूर्तिको पसल खोलेर बसेका उनले यहीको आम्दानीबाट परिवार पालेका छन् । अहिलेसम्म यो व्यवसायका लागि कतैबाट सहयोग नलिएको बताउने उनले थपे, ‘मूर्तिको बजार सानो र लगानी धेरै गर्नुपरे पनि यो दिगो छ ।’


उनको दिन माटो, कुची रंगमै बित्ने गरेको छ । ‘जीवन नै माटो, माटो नै जीवन भएको छ मेरो लागि,’ उनले भने, ‘भगवान्का आकृति वरिपरि देख्दा भगवान् मदेखि टाढा छैनन् भन्ने लाग्छ । साथी नै ती आकृति भएको महसुस हुन्छ ।’जीवनभर मूर्तिकला व्यवसाय सञ्चालन गर्नमा समर्पित उनले थपे, ‘माटोसँग खेल्ने बानी परिसक्यो, आकृतिसँग मुस्कुराउने बानी परिसक्यो । कतैबाट सहयोग पाए धातुको मूर्तिको व्यवसाय गर्ने इच्छा थियो ।’


त्यस्तो हुन सके उनले सायद फेरि प्रदर्शनीमा भाग पनि लिने थिए ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?