कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पेन्टिङमा चार नारायण

२ हजार वर्ष पहिले ‘चार तीर्थ चार नारायण’ (चारधाम)को अवधारणा अनुसार चार नारायण मन्दिर स्थापना गरिएको इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन् । 

काठमाडौँ — चित्रकार डिराम पाल्पालीको घर नजिकै ठूलो नारायण मन्दिर छ । समयक्रममा पाल्पाको टुडिँखेल नजिकै नारायण चोकको नाम पनि त्यही मन्दिरबाट रहन गयो । सानुमा डिराम उक्त मन्दिरमा पुजा गर्न जान्थे ।

पेन्टिङमा चार नारायण

पछि राजधानी आएपछि उनले चाँगुनारायणका अलावा उपत्यकामा चार नारायणको मन्दिर पनि थाहा पाए । उनी ती मन्दिरहरू खोज्दै पनि गए । त्यसमध्ये चाँगुनारायण र विशंखु नारायणलाई चित्रमै उतार्न भ्याए । उनले बनाएको नारायण ल्यान्डस्केपले मूल्य पनि राम्रै पायो ।

आइतबार उनले आफ्ना चित्रसँगै नारायण धाम सम्झे । किनभने सोमबार कात्र्तिक शुक्लपक्ष, हरिबोधिनी एकादशी । यो दिन उपत्यकाका चार प्रमुख नारायणहरूको पुजा अर्चना गरिन्छ । चार नारायणमध्ये भक्तपुरमा चाँगुनारायण, फर्पिङमा शेष नारायण, काठमाडौं हलचोकमा इचंगु नारायण र ललितपुर गोदावरीमा विशंखु नारायणका मन्दिर छन् ।

कुनै समय उपत्यकावासी हरिबोधिनी एकादशीका दिन यी चारै नारायणको मन्दिरमा हिँडेरै पुग्थे । चार मन्दिर पुग्दा पूरै उपत्यका परिक्रमा हुन्थ्यो ।

चाँगु नारायणलाई सन् १९६९ मै युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ । यो दिनमा तुलसीको विवाह गरिदिने चलन पनि छ यहाँ । केही दिन अघि मात्रै पनि डिरामले भक्तपुरको चाँगुनारायण मन्दिरलाई क्यानभासमा कैद गरे ।

कोरियन डा. कुन होरीले नेपालबारे लेख्दै गरेको पुस्तकका लागि डिरामले चाँगु नारायणको पेन्टिङ बनाएका हुन् । ‘पहिले नारायणको मन्दिरमा पूजा गर्ने ध्येयले मात्रै जान्थें, त्यति खोज्दिनँथें,’ उनले भने, ‘पेन्टिङ बनाउनका लागि अनुसन्धान गर्दै जाँदा नारायणलाई जीवन दिने भगवान्का रूपमा व्याख्या गरिएको पाएँ । नारायण पानीका देवता हुन् ।’

उनले यी मन्दिरलाई ल्यान्डस्केपमा मात्रै उतारेका छन् । प्यागोडा शैलीमा बनेका मन्दिरहरूमा रहेका काष्ठकला र बनावटलाई दुरुस्त पेन्टिङमा उतार्न गाह्रो रहेको उनले बताए ।

नारायणका चित्र क्यानभासमा उतार्नेमध्ये पर्छन् चित्रकार समुन्द्रमान सिंह पनि । तर उनले चित्रमा कल्पनालाई बढी मिसाएका छन् । हालै नारायणको आधा र पूर्ण गरी दुई पेन्टिङ बनाएका उनले एउटा चित्र अमेरिकाको कलेक्सनमा पठाएका छन् ।

पानीका देवता भएकाले उनले नारायणलाई समुद्रमाथि कमलको फूलमा बसाएका छन्, चार हातमा शंख, चक्र, गदा र पद्मसहित । ‘भारतमा नारायणलाई नीलो वर्णमा कोरिए तापनि नेपालमा भने नारायणको वर्ण हरियो कोरिन्छ,’ उनले भने, ‘थाङ्का चित्रमा पञ्च बुद्धमा वायुको प्रतीकको रूपमा हरियो रंगलाई प्रयोग गरिन्छ । तर नारायणलाई प्रयोग गरिने हरियो रंगको चाहिँ कुन अर्थ हुन्छ थाहा छैन ।’

लिच्छवि राजा मानदेव प्रथमले नै चाँगु नारायण बनाएको मानिन्छ र पाठ्यपुस्तकहरूमा यही पढाइँदै आएको छ । तर इतिहासविद् पुरुषोत्तमलोचनका अनुसार भने लिच्छवि राजा मानदेव प्रथमका पालामा नभई त्यसअघिका राजा हरिदत्त वर्माले इसापूर्व ३२३ मा चाँगु नारायण बनाएको मानिन्छ ।

‘गोपाल राज वंशावली र इचंगु नारायणमा राखिएको शिलालेख अध्ययन गर्दा यस्तै थाहा हुन्छ,’ उनले भने, ‘बरु मानदेवले चाँगुमा गरुड स्तम्भ र शिलास्तम्भ भने निर्माण गर्न लगाएका हुन् । तर शिलालेखमा पनि मानदेवको पालामा बनेको उल्लेख छैन ।’

लिच्छवि कालमा राजकीय स्तरमै वैष्णव धर्म चलिआएकाले नारायणका स्वरूपहरूको स्थापना गरिएको पुरुषोत्तमलोचनले बताए । २ हजार वर्ष पहिले ‘चार तीर्थ चार नारायण’ (चारधाम) को अवधारणा अनुसार चार नारायण मन्दिर स्थापना गरिएको हो ।

त्यतिबेला मानिसहरू हिँडेरै चार नारायणको परिक्रमा गर्थे । श्रेष्ठका अनुसार चारै नारायणको परिक्रमा गर्नुको अर्थ देशको परिक्रमा गर्नु मानिन्थ्यो । उनी भन्छन्, ‘चार नारायणको परिक्रमा गर्नु देशको सीमा सुरक्षा गर्नु मानिन्थ्यो ।

देशप्रेम र राष्ट्र रक्षा गर्न चार नारायणको परिक्रमा गरिन्थ्यो ।’ आठौं शताब्दीमा भारतका शंकराचार्यले चारधामको परिक्रमा गर्ने चलन सुरु गर्नुभन्दा सात/आठ सय वर्ष पहिले नै नेपालमा चार नारायणको परिक्रमा गर्ने चलन सुरु भएको उनको दाबी छ ।

यसको स्पष्ट प्रमाण अहिले पनि पाउन सक्ने उनी बताउँछन् । तर अहिले चार नारायणको परिक्रमा गर्नेहरूमा कमी आएको छ ।

प्रकाशित : मंसिर ३, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?