२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

चामलका लागि दश दिन पैदल यात्रा

राजबहादुर शाही

मुगु — हुम्लाको सर्केगार्ड गाउँपालिका–२, उनपानीकी ४५ वर्षीया कन्नसिला फडेरा आवश्यक बन्दोबस्ती सामग्री पिठ्युमा बोकेर पाँच दिनपछि गमगढी आइपुगेकी छिन् । गमगढीबाट खसी र भेडामा चामल बोकाएर घर पुग्न उनलाई थप पाँच दिन लाग्नेछ ।

चामलका लागि दश दिन पैदल यात्रा

उनीसँगै चामल लिन आएकी गाउँकै ५० वर्षीया भ्याल्ली फडेरी पाँच क्विन्टल चामल लिएर गाउँ फर्किने तयारीमा छिन् ।


यी दुईमात्र होइन, हुम्लाको सर्केगार्ड र चंखेली गाउँपालिकाका बासिन्दा चामल लिन १० दिन पैदल हिड्न वाध्य छन् । मुगुबाट दु:खकष्ट गरेर लिएको चामल एक महिना पनि नपुग्ने उनीहरुको गुनासो छ । स्थानीयलाई मुगु सदरमुकाम गमगढी आएर चामल लिनुको विकल्प छैन । स्थानीयका अनुसार सर्केगाड डिपोमा चामल ढुवानी नभएको लामो समय भयो । स्थानीयलाई सिमकोट पुग्न तीनदिन लाग्छ तर, त्यहाँ पनि चामल नपाइने भएकाले अधिकांश बासिन्दा मुगु आउने गरेका छन् । गमगढीमा प्रतिकिलो ५० रुपैयाँ पाइने चामल गाउँ पुग्दा दुईसय रुपैयाँ पुग्ने स्थानीयको भनाइ छ ।


‘गाउँमा अन्न उत्पादन र सडक सुविधा नहुँदा चामल बोक्दै पिठ्यु फाटिसक्यो,’ कन्नसिलाले भनिन्, ‘पानी परे बालीमा रोग लाग्छ, खडेरी परे बाली सुक्छ ।’ उनीहरुले गमगढीस्थित खाद्य संस्थानबाट प्रतिकिलो ५० रुपैयाँमा करिब एक महिनालाई पुग्ने चामल खरिद गरेका हुन् । गाउँबाट आउँदा बाटोभरी पुग्ने खाद्यान्न र अन्य सामग्री आफूले तथा चामल खसी भेडाले बोक्ने गरेको उनीहरुको भनाइ छ । दुबैले यस वर्ष चार पटक चामल लिन गमगढी आइपुगेको जनाए ।


हवाई मार्गबाट ढुवानी भएको चामल हुम्ला सदरमुकाम आसपासका बासिन्दालाई पुग्दैन । सडक सुविधा नहुँदा अधिकांश गाउँमा चामलको ढुवानी समस्या छ । मंसिर पहिलो सातादेखि हुम्लाका बासिन्दालाई चामल ओसार्ने चटारो हुन्छ । जडिबुटी व्यापारबाट आएको रकम चामल खरिदमै सकिने गरेको स्थानीयले बताए । विगत वर्षमा खसी र भेडा लिएर चामल लिन अछामको साँफेबगर जाने हुम्लाका बासिन्दा चार वर्षदेखि मुगुको भर पर्न थालेका छन् ।


‘नेताहरु भोट माग्न आउँदा चामल/नुन गाउँमै पुर्‍याइदिन्छौं भन्छन्, तर जितेर गएपछि वास्ता गर्दैनन्,’ भ्याल्लीले भनिन्, ‘कहिलेकाहि बाटैमा महिनावारी हुन्छौ, निकै सास्ती भोग्नुपर्छ ।’ खसी र भेडामा बोकाएको चामलले मुस्किलले एक महिना पुग्ने गरेको उनको भनाइ छ ।


हिमपात र वर्षाको बेला बाटोमै चामल भिज्ने गरेको हुम्लीको गुनासो छ । ‘गाउँमा अन्न उब्जिन्न, चामल बोक्दै जुनी बितिसक्यो,’ उनापानीकै बिष्णु फडेराले भने, ‘सिमकोटमा गए चामल पाइदैन, बालबच्चा पाल्न यहाँ आएर भेडामा चामल ढुवानी गर्नुपर्ने बाध्यता छ ।’ सोमबारमात्रै उनपानीबाट उनीसहित १४ जनाको टोली गमगढी आइपुगेका छन् ।


हुम्लाका बासिन्दाको चामल ओर्साने दिन सुरु भएको खाद्य संस्थानका शाखा प्रमुख भरतराज खनियाले बताए । सोमबारमात्रै हुम्लीले संस्थानको गोदामबाट २५ क्विन्टल चामल किनेको उनले जनाए । उनका अनुसार मुगुस्थित खाद्य संस्थानको ५० प्रतिशत चामल हुम्ला जाने गरेको छ । बालबालिकासमेत चामल ओसार्न आउने गरेकाले पठनपाठन प्रभावित हुने गरेको छ ।

प्रकाशित : मंसिर ४, २०७५ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?