कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

माझीटारका माझी : अरूलाई तार्दातार्दै आफूचाहिँ वारि

आनन्द गौतम

(माझीटार, पाँचथर) — जसरी तमोर सलल्ल बगेको छ, त्यसरी बगेको छैन माझीहरूको जीवन । चट्टानमा ठोक्किएको नदीजस्तै दु:खले पिटिइरहेको छ । तीन दशकबीचमा धेरै कुरा फेरिए तर उनीहरूको अवस्था जस्ताको तस्तै छ । 

माझीटारका माझी : अरूलाई तार्दातार्दै आफूचाहिँ वारि

‘माझी दाइले जुनीभरि डुंगा तारिरहे

अरूलाई तार्दातार्दै आफूचाहिँ वारि रहे...’


उदितनारायण झाको यो गीतजस्तै छ, फिदिम माझीटारका माझीको अवस्था । तमोरमा पुल नबन्दा उनीहरूले धेरैलाई तारे । पटक–पटक पारि पुगे र वारि नै फर्किए । जसरी तमोर सलल्ल बगेको छ, त्यसरी बगेको छैन उनीहरूको जीवन । चट्टानमा ठोक्किएको नदीजस्तै दु:खले पिटिइरहेको छ ।


माझीटारमा बस्तीनजिकै तमोरसँगै ठाडो बग्ने हेवा खोला छ । हेवा र तमोरको दोभानमा छ माझी बस्ती । २९ वर्षअघि दुलही बनेर फिदिम नगरपालिकानजिकै माझीटार आइपुगेकी मनकुमारी माझी खरको छानोको सानो झुपडीमा भित्रिएकी थिइन् । रातभर विवाह मण्डपमा बसी भोलिपल्ट सात घण्टा हिँडेर नयाँ घर पुग्दा उनलाई खासै नयाँ अनुभूति भएन ।


पाँचथरको हिलिहाङ गाउँपालिका– ७, माझीटारका माझीका घर (माथि) र तल हेवा खोला । तस्बिर : आनन्द/कान्तिपुर


फरक यति थियो– पाँचथर अमरपुरको जन्मघरनजिकै तमोर नदीमात्रै थियो । अभिभावकको पुख्र्यौली पेसा माछा मार्ने भएकाले गरिखाने खोला थपिएको अनुभव गरेकी थिइन् ।


उनी भित्रिएको झुपडी अहिले पनि छ । मनकुमारी भने जस्तापाताको घरमा बस्न थालेकी छन् । खुट्टा दुखाएर सात घण्टा लामो यात्रा गर्नुपर्ने माइतीघर जान पनि गाडी पाइन थाले । अब तमोरको तीर पछ्याउनु पर्दैन, फिदिमबाट दुई घण्टामै माइती पुगिन्छ ।


धेरै कुरा फेरिए तर उनलाई समयअनुसार आफू र परिवारको अवस्थामा फेरबदल आएको अनुभव छैन । चार सन्तानमध्ये दुई छोरीले ८ कक्षासम्म पढे र विवाह गरे । अध्ययनरत दुई सन्तानलाई पनि राम्रो शिक्षा दिन नसकेको उनलाई लाग्छ । गाउँकै स्कुलमा पढ्ने उनीहरू नियमित जाँदैनन् । माछा मार्न जाँदा उतै दिन बिताइदिन्छन् । मानिसको चहलपहल सुरु भएपछि थालेको पसल बढाउन सकेकी छैनन् । ‘खै समय बदलियो, हामीचाहिँ बदलिन सकेनौं,’ उनले भनिन् ।


यस्तै बुझाइ छ चन्द्रबहादुर माझीको पनि । जीवन परिवर्तनका लागि उनी साउदी अरबसम्म पुगे । सात वर्षसम्म श्रम गरेर फर्किएसँगै पुर्खाले छाडेको व्यवसायलाई निरन्तरता दिँदैछन् । खोला किनारमा ढुकुवा थाप्छन् र माछाको प्रतीक्षामा बस्छन् ।

यसको भर नहुने भएपछि यसै वर्ष गाउँमा आएको सडक निर्माणमा सहभागी भएका छन् । त्यसले उनलाई दैनिक रोजगारी दिएको छ । तर जीवन बदल्ने गरी प्रगति अनुभूत गरेका छैनन् । ‘अरू जातको त कोही सांसद, मन्त्री पनि भए,’ चन्द्रबहादुरले भने, ‘हामी भने यहींको यहीं छौं । न जग्गाजमिन जोड्न सकियो न छोराछोरीलाई राम्रो पढाउन सकियो । न त सुविधासम्पन्न ठाउँ सर्नै सकियो ।’


उनकै भनाइमा यहाँका ३६ मध्ये चार परिवार अन्यत्र सरिसके । अब बन्ने तमोर ड्यामले विस्थापन गरेपछि नयाँ ठाउँ जाने उनले बताए । तमोर ड्यामले गर्ने विस्थापनलाई कसैले अवसरका रूपमा लिएका छन्, कसैले पुख्र्यौली थलो छाड्नुपर्दाको पीडाका रूपमा । ‘खै पछि छोड्नुपर्छ भन्छन् तर कहाँ लाने हुन्, कस्तो ठाउँमा बस्नुपर्ने हो, चिन्ता लागेको छ,’ निर्मला माझीले भनिन् ।


कहिले सुरु हुन्छ भन्ने पत्तो छैन तर माझी बस्तीमा तमोर ड्यामको चर्चा चुलिएको छ । आफ्नै जग्गामा बसे पनि यहाँका माझीको खानपानको माध्यम आसपासका जमिनमा बन्धकी र अधियाँ खेती हो । यो वर्ष तमोर करिडोरले कुलो भत्काएपछि उनीहरूले बाली लगाउन पाएनन् । गत वर्ष पनि खोलाको भेलले कुलो बगाइदिएको थियो ।


सदरमुकामनजिकै भए पनि हिलिहाङ गाउँपालिकामा पर्ने भएकाले आफूहरूले विकासको सुविधा कम पाएको उनीहरूको गुनासो छ । माझी बस्ती हिलिहाङ गाउँपालिका ७, भारपामा पर्छ । ‘माथि खनेको खनेकै छ, तल पुरेको पुरेकै छ,’ निर्मलाले भनिन्, ‘हामी गाउँवासी नमिलेर पनि अलिक समस्या भयो ।’ उनीहरूले नाराम आङदेम्बेको जग्गामा बन्धकी लगाएर ब्याज मरौनी धान उत्पादन गरेर खाँदै आएका थिए । भेलले बगाएको कुलो भने गाउँपालिकाले तीन लाख रुपैयाँ लगाएपछि बनाएका थिए ।


पर्नै छोड्यो माछा, हरायो डुंगा

चन्द्रबहादुरले आफ्नै बाबुको मुखबाट सुनेका थिए, पहिला बस्तु चराउन जाँदा खोला किनारमा माछा समाउन भेटिन्थ्यो । उनका बाबु बेलुका बस्तुसँगै माछालाई चोयाले उनेर ल्याउँथे । चन्द्रबहादुरका पालामा जाली थाप्नुपथ्र्यो । राति थापेको जालीमा चार/पाँच धार्नी परिहाल्थ्यो । अहिले चार/पाँच पाउ पनि पाउन छोडेका छन् ।


‘धेरै मान्छे माझीटारमा माछा खान आउँछन् तर हामीले माछा मारेर खुवाउन सकेका छैनौं,’ उनले भने, ‘खोलामा माछा छैन ।’ पाँच/सात वर्षअघिसम्म दिनमा पाँच/सात किलो माछा मारे पनि अहिले नभएको उनले बताए । अहिले माछाको दाम प्रतिकिलो ७ सय रुपैयाँ छ । ‘पहिला एक सय रुपैयाँ किलो बिक्री गर्न फिदिम बजार जानुपथ्र्यो, अहिले घरैमा मान्छे आउँछन् तर खोलामा माछा छैन,’ निर्मलाले भनिन् ।


माझीहरूले पहिला डुंगा चलाउँथे । आधुनिक सुविधासँगै उनीहरूको डुंगा पनि विस्थापित भएको छ । ‘न माछा न त डुंगाको अवस्था छ,’ चन्द्रबहादुरले भने, ‘समयसँगै अरू बदलिए, हामी जस्ताको तस्तै रह्यौं ।’


कांग्रेस जिल्ला नेता सुमन लामाका अनुसार यहाँका एक माझीले कांग्रेसबाट समानुपातिक सांसद पाउनुपर्ने प्रस्ताव गरेका थिए, एक जना नेकपाको सक्रिय सदस्य छन् ।


प्रकाशित : मंसिर ९, २०७५ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?