२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

बिथोलिँदै चराको घर

मुलुकमै आगन्तुक चरालाई राम्रो आश्रय दिइरहेको तालमा डुंगा चलाउन सुरु गरिएको छ । डुंगाका कारण चराले असुरक्षा महसुस गरिरहेका छन् । डुंगा सयर गर्नेले चरालाई जिस्काउँछन् र समात्न खोज्छन् ।
मनोज पौडेल

कपिलवस्तु — विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर तालमा मानवीय अतिक्रमण बढ्दै गएपछि चराको संख्या घट्न थालेको छ । चराको स्वर्गका रूपमा चिनिने तालमा बढेको मानवीय क्रियाकलापप्रति संरक्षणकर्मी पनि चिन्तित बन्न थालेका छन् ।

बिथोलिँदै चराको घर

मुलुकमै आगन्तुक चरालाई राम्रो आश्रय दिइरहेको तालमा डुंगा चलाउन सुरु गरिएको छ । डुंगाका कारण चराले असुरक्षा महसुस गरिरहेका छन् । डुंगा सयर गर्न जानेले चरालाई जिस्काउने र समात्न खोज्छन् ।


‘रामसार क्षेत्रमा सूचीकृत ठाउँमा असुरक्षित मानवीय चहलपहल बढ्नु राम्रो होइन,’ चराविद् डा. हेमसागर बरालले भने, ‘चराले उन्मुक्त वातावरण नपाउँदा उनीहरूका लागि जगदीशपुर ताल असुरक्षित बन्दै गएको छ ।’ यस वर्ष चरा घटेको र चरा पर्यटनको गन्तव्य बोकेको ठाउँमा यस्तो हुनु चिन्ताको विषय बनेको उनले बताए । यसले चरा पर्यटनका लागि नेपालमा भएको आकर्षण घटाउँछ ।


अझ जहाँ बढी चरा बस्छन्, त्यही क्षेत्रमै डुंगा चलाइएको छ । अहिले तालमा पश्चिम क्षेत्रको दक्षिणदेखि उत्तरसम्मै डुंगा चलाइएको छ । डुंगा देख्नासाथ चरा भाग्ने गरेका छन् ।


तालमा कपिलवस्तु नगरपालिका ९ र १० नम्बर वडाले संयुक्त रूपमा ६ वटा डुंगा चलाएका छन् । असोज २२ बाट चलाइएका डुंगाका कारण चरा घटेका हुन् । गत वर्ष यहाँ २२ हजारभन्दा बढी चरा गणना गरिएको थियो । ‘यसपालि प्रशस्त चरा हेरेर निकै रोमाञ्चित हुन्छन् भनेर विदेशी पर्यटक लिएर आएको थिएँ,’ चराविद् सोम जीसीले भने, ‘तालमा चरा हेर्दा निराश भएँ । पानी कम छ, हजारौंको संख्यामा देखिने चरा पनि स्वात्तै घटेका छन् ।’ विस्तारै चर्चा कमाउँदै गएको जगदीशपुर तालको आकर्षणमा यसले नराम्रो धक्का पुगेको उनले बताए ।


तालमा भौतिक संरचना

जगदीशपुर तालको बीचमा भौतिक संरचना पनि निर्माण गरिएको छ । पर्यटकीय आकर्षण थप्न भन्दै जगदीशपुर ताल व्यवस्थापन बहुसरोकार मञ्चले बीच भागमा गौतम बुद्धको मूर्ति राख्न थालेको छ ।


मूर्तिका लागि तालको मध्यभागमा ७० फिट गोलाइ माटोको ढिस्को बनाइएको छ । ढिस्को १५ फिट उचाइको छ । त्यसमा जानका लागि उत्तर र दक्षिणबाट पक्की सिँढी बनाइएको छ । त्यसमा बुद्धको मूर्ति राख्ने तयारी छ । मूर्ति राखिएपछि डुंगाबाट बीचमा रहेको ढिस्कोसम्म आवतजावत हुँदा विचरणमा आउने चरा थप असुरक्षित हुनेछन् ।


कपिलवस्तु नगरपालिका ९ मा पर्ने ताल सन् २००३ मा विश्व सिमसारमा सूचीकृत भएको थियो । जैविक विविधता, सिमसार र चराका कारण महत्त्वपूर्ण मानिएकाले स्विट्जरल्यान्डमा रहेको रामसार सचिवालयले सूचीकृत गरेको थियो । निर्माणका काम बिनाअनुमति भइरहेका छन् । रामसार क्षेत्रमा सूचीकृत स्थानमा काम गर्नुपर्दा त्यहींबाट अनुमति लिनुपर्छ । रामसारको राष्ट्रिय रूपमा राष्ट्रिय वन्यजन्तु तथा संरक्षण विभाग प्रतिनिधि हो ।


‘प्रस्ताव स्वीकृत नगराई कुनै काम गर्न पाइँदैन,’ राष्ट्रिय वन्यजन्तु तथा संरक्षण विभागका इकोलोजिस्ट हरिभक्त आर्चायले भने, ‘त्यस्तो काम गैरकानुनी हो ।’ वातावरणीय प्रभाव मूल्यांकनसहित प्रस्ताव पास गरेर मात्र निर्माणमा काम गर्न मिल्ने भए पनि स्वीकृत लिने काम नभएको उनले बताए । ‘चरा र जैविक विविधतालाई असर नपुर्‍याई काम गर्न लागेका हौं,’ कपिलवस्तु नगरपालिका–९ का वडाध्यक्ष शिवबहादुर वाग्लेले भने, ‘यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।’ तर, तालमा भइरहेको संरचना निर्माणबारे अनुमति लिए/नलिएको आफूलाई थाहा नभएको उनले बताए ।


तालबाट स्थानीयलाई आय आर्जन र रोजगारीका लागि जोडेर अपनत्व बढाउन लागेको उनको दाबी छ । तालमा मानवीय अतिक्रमण बढदा पारिस्थितिकीय प्रणालीमा समेत असर पुग्छ । यसले कृषि उपज, बालीनालीको उत्पादनमा समेत असर पुग्छ । वातावरणसमेत प्रदूषित बन्छ । तत्कालै नदेखिने र महसुस नहुने कामलाई पनि प्रभाव पार्दै जान्छ ।


बासस्थान संकटमा

मानवीय अतिक्रमण र संरचना निर्माणका कारण चराको बासस्थान टुक्रिन्छ । फेरिन्छ । वासस्थान संकटमा पर्छ । जुन चरा र प्रकृतिप्रेमीका लागि राम्रो होइन । यसले आगन्तुक र रैथाने चरालाई नराम्रो असर गर्छ ।


‘एक/दुई घण्टामै ४० भन्दा बढी प्रजातिका चरा देख्न पाउनुले यहाँको महत्त्व उजागर हुने गरेको थियो,’ चराविद् दिनेश गिरीले भने, ‘तालमा चराका फोटो खिच्न मात्रै देश/विदेशबाट कति फोटो पत्रकार र पर्यटक आउँथे ।’ त्यसलाई कसरी बचाइराख्ने भन्नेबारे बेलैमा सोच्नुपर्ने उनले बताए ।


जलवायु परिवर्तन र आहारविहारले चरालाई समस्या परिरहे पनि यहाँ भने राम्रो वातावरण छ । उन्मुक्त वातावरणमा रमाउँछन् । यहाँ आहारविहार र जलक्रिडा गर्छन् । कतिपयले बच्चा पनि कोरल्छन् । तालभित्र लुक्ने, बस्ने र आहारका लागि राम्रो वातावरण छ । यो देख्दा पर्यटक उत्तिकै रमाउँछन् ।


‘ठूलो ताल हुँदा जता पनि रमाउन पाउँछन्,’ कछुवा तथा सरिसृप विशेषज्ञ प्राध्यापक करनबहादुर शाहले भने, ‘सुरक्षित पनि उत्तिकै महसुस गर्छन् ।’ मुलुकमै उत्कृष्ट चरा अवलोकन गन्तव्य बनेर पर्यटनमा राम्रो टेवा दिएको जगदीशपुर ताल संरक्षण गर्न स्थानीय नै लाग्नुपर्ने उनको सुझाव छ । पानीचरा खासगरी जाडो छल्न हिउँदयाममा नेपाल आउँछन् ।


तालमा साइबेरिया, रुस, चीन, मंगोलिया, तुर्कमिनिस्तान र किर्गिस्तानलगायतबाट चरा आउने गर्छन् । १ सय ५७ हेक्टरमा फैलिएको तालमा विगत ५ वर्षदेखि चरा आवागमन बढदै आएको थियो । कृत्रिम रूपमा बनेको यो मुलुकको सबैभन्दा ठूलो ताल हो ।

प्रकाशित : मंसिर १८, २०७५ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?