चित्रकारहरूले देखेको बुद्धभूमि

सुनीता साखकर्मी

लुम्बिनी — ठूलो बोधिवृक्ष । हाँगाबिँगामा विभिन्न भाषामा लेखिएका दज्र्यु (ध्वजापताका) । जराहरू भने टीका र पूजाले रंगीबिरंगी । इन्टरनेसनल वाटर कलर फेस्टिभलको चौथो दिन बिहीबार लुम्बिनीको मायादेवी मन्दिर परिसरमा स्थलगत पेन्टिङ कार्यशाला बुद्धमय बन्यो ।

लुम्बिनीमा आयोजित इन्टरनेसनल वाटर कलर फेस्टिभलका क्रममा बनाएकाे सिर्जना । तस्बिर : सुनीता/कान्तिपुर


देशविदेशका चित्रकारहरूले मायादेवी मन्दिरको ल्यान्डस्केपलाई क्यानभासमा उतार्दै गर्दा बंगलादेशकी चित्रकार मसुदा अहमद भने मन्दिरको पश्चिमपट्टि रहेको बोधिवृक्षलाई क्यानभासमा सजाउँदै थिइन् । उनले रूखमा दज्र्यु फरफराएको बंगलादेशमा देखेकी छैन । त्यही भएर उनलाई यो रोचक लाग्यो । ‘बंगलादेशमा यस्तो केही टाँगिँदैन, यहाँ त रूखले पनि माला लाएको जस्तो देखिँदो रहेछ । रूखको यो भिन्न सौन्दर्य हो,’ उनले भनिन्, ‘हेर्दै गर्दा मनमा पनि आनन्द मिल्ने ।’

Citizen


मसुदाका अनुसार बंगलादेशमा बोधिवृक्षलाई वटवृष भनिन्छ । मायादेवीले बुद्धलाई नुहाइदिएको पोखरीसँगै भएकाले यो रूखको पनि पूजा हुँदै आएको थाहा पाउँदा उनको अनुहारमा अर्कै खुसी नाचेको थियो ।
पुजारी योगेन्द्रनाथ पाण्डेका अनुसार, यसलाई ज्ञानको रूखका रूपमा मानिन्छ । बुद्धलाई नुहाएको स्थान भएकाले यहाँ पूजा गरे ज्ञान बढ्छ, शान्ति मिल्छ भन्ने जनविश्वास छ ।

मसुदा प्राय: फूलहरूको पेन्टिङ बनाउँछिन् । बन्द कोठामै बसेर कल्पनामा डुब्दै फूलहरूको पेन्टिङ बनाउँदा आनन्दित महसुस गर्ने उनले बिहीबार पहिलो पटक स्थलगत पेन्टिङ गरेकी हुन् । उनलाई कल्पनामा देखिने कुराहरू वास्तविकताभन्दा सुन्दर हुन्छन् भन्ने लागेको थियो तर अहिले भने यो सोचाइ परिवर्तन भएको उनले बताइन् । स्थलगत पेन्टिङ गर्दा रमाइलो लागेको बताउँदै उनले थपिन्, ‘लुम्बिनीका धेरै फोटा पनि खिचेकी छु । बंगलादेश फर्किएपछि पनि पेन्टिङमा उतार्छु ।’

इन्टरनेसनल वाटर कलर सोसाइटीद्वारा आयोजित फेस्टिभलको दोस्रो संस्करणमा नेदरल्यान्डकी चित्रकार ज्यानेट भने मायादेवी मन्दिरलाई क्यानभासमा सजाउँदै थिइन् । उनी आफ्नो देशमा वाटर कलर पेन्टिङ सिकाउँछिन् ।
विभिन्न ठाउँ घुम्ने क्रममा उनी त्यहाँका धार्मिक स्थल तथा घरहरूको शैली पनि नियाल्ने गर्छिन् । धेरै देश घुमेकी उनलाई नेपालमा मायादेवी मन्दिरले निकै लोभ्यायो । ‘मन्दिर बाहिरबाट जति सुन्दर देखिन्छ, भित्र अझै महत्त्वपूर्ण सम्पदाले भरिपूर्ण रहेछ,’ पहिलो पटक लुम्बिनी पुगेकी उनले भनिन्, ‘यहाँको वातावरण पनि राम्रो लाग्यो ।’

इन्टरनेसनल वाटर कलर सोसाइटी भारत च्याप्टरका अध्यक्ष एवं चित्रकार अमित कपुरले स्थलगत कार्यशालामा दुइटा पेन्टिङ बनाए । एउटामा उनले मायादेवी मन्दिरलाई उतारे भने अर्काेमा लुम्बिनीको सिटिस्केप बनाए । लुम्बिनी क्षेत्रको सहरीकरण उनलाई केही मात्रामा भारत र केही मात्रामा पाकिस्तानजस्तै लाग्यो रे । भने, ‘मानिसको रहनसहन, बाटोघाटो उस्तै छ । तर यहाँ रहेका विभिन्न देशका स्तूप र कलाले यसलाई धनी बनाएका रहेछन् ।’

कार्यशालामा भाग लिन चित्रकार डिल्लीकृष्ण आले पनि धनकुटाबाट लुम्बिनी आइपुगेका थिए । उनले मायादेवी मन्दिरमाथि काल्पनिक बुद्ध उभिइरहेको पेन्टिङ बनाए । मन्दिर अगाडि भने विभिन्न देशका कलाकार आई चित्र बनाइरहेको जस्तो दृश्य देखिन्थ्यो । कलाका माध्यमबाट पनि शान्ति प्रचारप्रसार हुन सक्छ भन्ने भाव आफ्नो पेन्टिङले दिएको उनले बताए ।

‘लुम्बिनीलाई चित्रको माध्यमबाट पनि चिनाउन सकिन्छ भन्ने सन्देश चित्रमा उतारेको छु,’ उनले भने ।
कार्यशालामा नेपाली चित्रकार डिराम पाल्पाली, भीम श्रेष्ठ, लालकाजी लामा, केशवराज खनाल, महेन्द्र राई, विनोद गुप्ता, मनोज तामाङ, डिबी राई, सुरेश स्याङतान, विक्रम प्रजापती, प्रकाश मानन्धर, कान्छाकाजी भासिमा, गोपाल दराई, जीवन पौडेल, सरोजा खड्गी, अनन्तमणि आचार्य, डी बराल लगायतले पेन्टिङ बनाए ।

भारतका अमलेश मजुमदार, प्रशान्त कटुवा, बंगलादेशका कौशर हुसैन, फरिसा महमुद, एहसन अहमद, साहिन अख्तरसहित चीन र मंगोलियाका चित्रकारहरूको पनि सहभागिता थियो । यी सबै देशका गरेर पचासभन्दा बढी कलाकारले लुम्बिनीलाई सिर्जनामा उतारे । यी पेन्टिङ लुम्बिनीको होटल आदर्श इनमा प्रदर्शनीमा राखिएका छन् ।
यीमध्ये पन्ध्र उत्कृष्ट पेन्टिङलाई पुरस्कृत गर्ने सोसाइटीको नेपाल च्याप्टरका महासचिव दीपेन्द्रमान बनेपालीले जनाए । उनका अनुसार उत्कृष्ट पन्ध्र कलालाई प्रमाणपत्रका साथै ट्रफी दिइनेछ ।
सोसाइटीका अध्यक्ष एनबी गुरुङका अनुसार वाटर कलरका माध्यमबाट नेपाली कलालाई विदेशमा चिनाउन सजिलो हुन्छ ।

‘चित्र बुझ्न भाषा जान्नुपर्दैन,’ उनले भने, ‘त्यसैले विदेशी कलाकारको माध्यमबाट नेपाली कला बाहिर पुर्‍याउन यो फेस्टिभल सहयोगी बन्न सक्छ । नेपालको पर्यटन पनि बढाउँछ ।’

प्रकाशित : मंसिर २१, २०७५ ०८:४९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

छोरी जन्मनु श्राप हो यदि भने...

कान्तिपुर संवाददाता

काठमाडौँ — इटहरीमा रहेर क्रियाशील कवि टीका आत्रेयलाई बिहिबार काठमाडौंमा सुनियो । उनले आफ्ना कविताहरू छन्दमा वाचन गरिन् ।

कवि टीका आत्रेय कविता वाचनमा ।

विभिन्न छन्दका कविता सुनेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निकै मज्जा आएको प्रतिक्रिया दिए । ‘यसअघि उहाँलाई सुनेको रहेनछु,’ ज्ञवालीले भने, ‘पहिले नै सुनेको भए धेरै सिक्न पाइने रहेछ ।’

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले प्रत्येक महिनाको तेस्रो बिहीबार आयोजना गर्दै आएको ‘स्रष्टा र सिर्जना’ कार्यक्रममा यसपालि टीकालाई निम्त्याएको थियो । सोही समारोहमा मन्त्री ज्ञवालीले टीकाका केही कविता दोहोर्‍याएर सुने । ‘उहाँको जस्तो लयमा गाउन सक्दिनँ,’ उनले भने, ‘मेरो स्वर कर्कश सुनिएला ।’ भाव, स्वरूप र प्रस्तुति तीनै तरिकाले टीकाका कविता सुन्दर लागेको ज्ञवालीको भनाइ थियो ।

समारोहमा कविले ‘आमा बनेको दिन’ शीर्षक रचनामा प्रसव पीडाका प्रसंग सुनाएकी थिइन् :
मेरो ऊर्वर कोखबाट धरती
आशा यही गर्दथ्यो
मैले सुन्दर सृष्टि रोप्छु जगमा
विश्वास यो भर्दथ्यो
ब्रह्माले रचना गरे यदि भने
आमा बनायो किन ?
यौटा मृत्यु गरें परास्त पहिले
आमा बनेको दिन ।
शार्दूलविक्रीडित छन्दकै
‘भ्रूण प्रश्न’ शीर्षक कविता उत्तिकै शक्तिशाली थियो :
यो ब्रह्माण्ड कहाँ रहन्छ यसको,
मासेर मूलै जरा ?
रोक्दै छौ किन जन्मिने पथ यहाँ, छोरीहरूकै तर ?
त्रासैत्रास छ भ्रूणमै पनि हरे
पाउन्नँ कि जन्मन ?
छोरी जन्मनु श्राप हो यदि भने
संसार कस्को भन ?

‘धरौटी प्राण’ कवितामा उनले वैदेशिक रोजगारीमा रहेकाहरूको मनोभाव सुनाइन् । ‘परदेश जानेलाई’ मा भने उनले बिदेसिनेको सम्झना र अभावमा रहेका परिवारको व्यथा व्यक्त गरेकी थिइन् ।

कविकी छोरी स्वीकृति काफ्लेले ‘आमा’ शीर्षक कविता सुनाइदिइन् । इन्दु अंशुले पनि मन्दाक्रान्ता छन्दमा रहेको ‘यात्रा मेरो अविरल बनोस्...’ भन्दै टीकाको रचना वाचन गरिदिएकी थिइन् । ‘वसुन्धरा’, ‘युवा’ लगायत कविता पनि प्रस्तुत गरिएका थिए ।

काठमाडौंलाई केन्द्र र काठमाडौं बाहिरलाई मोफसल भन्दै कलामा कृत्रिम पर्खाल निर्माण गरिएको भन्दै मन्त्री ज्ञवालीले यो तोड्नु आवश्यक रहेको औंल्याए । ‘टीकाजीका कविता सुनेपछि काठमाडौं मात्र श्रेष्ठ वा सिर्जनाको केन्द्र हो भन्ने भ्रम तोडिन्छ,’ उनले भने, ‘त्यो भ्रमका लागि यस्ता रचनाहरू जबरजस्त जवाफ हुन् ।’

प्रकाशित : मंसिर २१, २०७५ ०८:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT