‘निजामती गाउँ’ नेवारे

कुन–कुन घरका निजामती सेवामा छन् भन्दा पनि कुन घरमा छैनन् भनेर गन्ती गर्न सजिलो छ
करिश्मा चौधरी

वीरेन्द्रनगर — निजामती सेवामा २०५६ मा प्रवेश गरेका वीरेन्द्रनगर–१२, नेवारेका सुशील केसी आफ्नो परिवारमा चौथो पुस्ताका सरकारी जागिरे हुन् । उनका बुबा न्यायाधीश, हजुरबुबा मुखिया र हजुरबुबाको बुबा सरकारी पुजारी थिए । ‘त्यसभन्दा अघिको पुस्ताबारे थाहा भएन,’ उनी भन्छन्, ‘थाहा पाएसम्म हाम्रो सरकारी सेवा खानदानी हो ।’

उपत्यकाको उत्तरपूर्वमा अवस्थित नेवारेमा सुशील र उनको परिवार मात्र होइन, अन्य धेरै व्यक्ति निजामती (सरकारी) सेवामा छन् । त्यसैले त नेवारेले ‘निजामती गाउँ’को पहिचान बनाएको छ । स्थानीय टोल विकास संस्थाका अनुसार नेवारेमा करिब २ सय ५० घरधुरी छन् ।


यी घरबाट १ सय १४ जना निजामती सेवामा कार्यरत छन् । शाखा अधिकृतबाट अवकाश पाएका स्थानीय बुद्धिप्रसाद सापकोटाका अनुसार तीमध्ये ८० पुरुष र ३४ महिला छन् । गाउँमा १४ जना त दम्पती नै निजामती सेवामा रहेको उनले बताए ।


केशव चपाईंको परिवार नेवारेको त्यस्तै एक नमुना परिवार हो । उच्च सरकारी वकिल कार्यालय सुर्खेतमा उपन्यायाधिवक्ता (उपसचिव) रहेका उनको परिवारमा श्रीमतीका साथै दाइ–भाउजू, बहिनी र भतिजा निजामती सेवामै छन् । ‘व्यवसायमा जस्तो लगानी गर्नु नपर्ने, मिहिनेत गरे पुग्ने,’ उनी भन्छन्, ‘निष्पक्ष र स्वच्छ प्रतिस्पर्धाबाट सेवा प्रवेश गर्न सकिने भएकाले निजामती रोजें ।’ आफ्नै प्रेरणाले परिवारका अरू सदस्य पनि निजामतीतर्फ प्रवेश गरेको उनले बताए ।


नेवारे कसरी निजामती बाहुल्य गाउँ बन्यो त ? केसीको विचारमा अग्रजको प्रेरणा र लहर नै निजामती सेवा प्रवेशको वातावरण हो । ‘घरपरिवार मात्र होइन, छरछिमेकमा पनि सरकारी जागिरे,’ उनले भने, ‘यस्तो वातावरणमा हुर्किएको युवाको पहिलो रोजाइ पनि स्वाभाविक रूपमा निजामतीमा हुँदो रहेछ ।’


सरकारी सेवाले समाजमा सम्मान र प्रतिष्ठा दिने भएकाले पनि यसतर्फ आकर्षण बढेको उनले बताए ।

नेवारेमा स्वस्फूर्त रूपमा स्थापित बौद्धिक युवा समूह र ग्रामीण जागरण सामुदायिक अध्ययन केन्द्रले गाउँका युवालाई लोकसेवा आयोग अध्ययनका लागि परामर्श दिने र अध्ययनको वातावरण मिलाउने काम गर्छ ।


स्थानीय युवाहरू समूहमा बसेर छलफल गर्ने, क्विज खेल्ने गर्छन् । क्विज जित्नेहरू पुरस्कृत हुन्छन् । समूहको सदस्य बन्न सदस्यता शुल्क तिर्नुपर्छ । त्यही शुल्कले स्टेसनरी र क्विज बिजेतालाई पुरस्कार दिने गरिएको समूहका सदस्य तिलक सोमैले बताए । ‘यसले गर्दा युवाहरूलाई निजामती सेवामा किन प्रवेश गर्ने र लोकसेवा आयोग कसरी पास गर्ने भन्नेसम्मको सहजीकरण गर्छ,’ उनले भने, ‘निजामती कर्मचारी जन्माउन यस्तो छलफलले ठूलो भूमिका खेलेको छ ।’


सोमै पनि निजामती कर्मचारी हुन् । उनको परिवारमा अन्य ३ जना पनि निजामती सेवामै छन् । बौद्धिक समूहकै संगतले एसएलसी दिनेबित्तिकै लोकसेवा परीक्षामा सफल भएको उनले बताए । नेवारेमा कुन–कुन घरका निजामती सेवामा छन् भन्दा पनि कुन घरमा छैनन् भनेर गन्ती गर्न सजिलो छ । योग्यता पुगेकामध्ये अधिकांश निजामती सेवामा कार्यरत रहेको पूर्वशाखा अधिकृत सापकोटा बनाउँछन् ।


प्रत्येक घरमा कम्तीमा एकजना निजामती सेवामै रहेको उनले बताए । ‘गाउँमा लगनशील, मिहिनेत र लेखपढ प्रमुख पहिलो प्राथमिकतामा पर्ने गरेको छ,’ उनले भने, ‘हामी अग्रजहरूले पनि यही बाटोमा हिँड्न युवाहरूलाई प्रेरित गर्ने गरेका छौं ।’ सेवाबाट अवकाश पाएका आफूजस्तै १७ युवालाई सहयोग गरिरहेको उनले बताए ।


समाजसेवी पूर्णप्रसाद पौडेलका अनुसार प्रहरी–सेना, शिक्षक र संस्थानमा जागिर खानेको संख्या पनि उल्लेख्य छ ।

प्रकाशित : मंसिर २२, २०७५ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?