कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अहेवको ठाउँमा डाक्टर

मोहन शाही

डोटी — स्वास्थ्यचौकीमा सधैं अहेवले मात्र सेवा दिन्थे । गम्भीर बिरामी पर्दा सदरमुकाम वा महँगा अस्पतालमा कुदाउनुपथ्र्यो । महँगो त पर्थ्याे नै, समयमा उपचार पनि पाउँदैनथे केआई सिंह गाउँपालिका बासिन्दाले । 

अहेवको ठाउँमा डाक्टर

बुधबारदेखि भने गाउँपालिकाभित्रको दुर्गामाडौं स्वास्थ्यचौकीमा अहेवले हैन, एमबीबीएस डाक्टर राजु गुरुङले नेतृत्व गरेका छन् । गाउँमै डाक्टर पाइयो भनेर स्थानीयवासीमा हर्षको सीमै रहेन ।


‘यत्रा वर्षपछि गाउँमै डाक्टर आई पहिलोपल्ट उपचार गर्न पाइयो । साह्रै खुसी लाग्यो,’ ८० वर्षीय इन्द्रसिंह खडका पुलकित भए । उनले रक्तचाप र छाती जाँच गराए । लगत्तै ७६ वर्षीय शेरबहादुर खडकालाई पनि गुरुङले जाँच गरे । दुवैलाई उच्च रक्तचाप रहेको भन्दै खानपान र स्याहारमा ध्यान दिन सुझाए ।


बुधबार केआई सिंह गाउँपालिकाका ज्येष्ठ नागरिक मात्र होइन, महिला, बालबालिकाले पनि गाउँमै सेवा पाए । ‘डाक्टरसाब’ आए भन्दै स्वागतका लागि घरधन्दा छोडेर स्थानीयवासी स्वास्थ्यचौकी पुगेका थिए ।


डाक्टरलाई गाउँको स्वास्थ्यचौकीमा दरबन्दीसहित ल्याउने चाँजो गाउँपालिकाले नै मिलाएको हो । यसअघि २ वर्ष अछामको चौरमान्डु स्वास्थ्य केन्द्रमा सेवा गरेका डा. गुरुङ गाउँपालिकाको प्रस्तावपछि स्वास्थ्यचौकीमा सेवा गर्न राजी बनेका हुन् ।


‘आफ्नो लगानीमा एमबीबीएस डाक्टर भित्र्याउने केआई सिंह सुदूरपश्चिम प्रदेशमा पहिलो गाउँपालिका हो,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज शर्माले भने, ‘स्थानीय सरकार भनेकै यही हो । जनताले वर्षौंदेखि भोग्दै आएको समस्या समाधान गर्न डाक्टर ल्याएका छौं । डिसेम्बर ५ अर्थात् मंसिर १९ को तिथि गाउँपालिकावासीका लागि सुनौला अक्षरले लेखिएको छ ।’


गाउँमा पुगेलगत्तै फूलमाला र अबिरले स्थानीयबाट भव्य स्वागत पाएका डा. गुरुङले बुधबारै ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गरी सेवा शुभारम्भ गरेका हुन् । स्वागतपछि उनले गाउँवासीको उपचार र सेवाका लागि कुनै कसर बाँकी नराखी खट्ने दृढता पनि राखे ।


‘गाउँपालिकाको पनि केही गरौं भन्ने योजना पाएँ । मलाई पनि गाउँमै बसेर सेवा गर्ने इच्छा हो । हामी मिलेर अघि बढ्यौं भने गाउँमै बसी स्वास्थ्य सेवा बलियो हुन सक्छ,’ उनले त्यसो भन्दा स्थानीयले गडगडाहट ताली बजाए ।


डाक्टर गुरुङको स्वागत गर्दै गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले निर्वाचनअघि जनतासँग गरेको प्रतिबद्धता कार्यान्वयन गर्दै जाने बताए । उनले दुर्गामान्डौ स्वास्थ्यचौकीलाई १५ शय्याको बनाउन पहल गर्ने योजना सुनाए । ‘यसअघि ल्याब सेवा सुरु भइसकेको छ । यथाशीघ्र एक्सरे मेसिन र अन्य उपकरण थपी स्वास्थ्य समस्या हटाउँदै लगिनेछ,’ शाहीले भने ।


विगतमा अनमी तथा अहेवसमेत नभएर उपचारका लागि घन्टौं हिँडेर सदरमुकाम धाउन बाध्य केआई सिंह गाउँवासीले डाक्टर आएपछि आफूहरूले समस्या भोग्नु नपर्ने आशा पनि राखे । गाउँपालिका वडा ४ का वडाध्यक्ष जयबहादुर धामीले डाक्टरलाई गाउँमै टिकाउन अन्य जनशक्ति र पूर्वाधारमा समेत ध्यान दिनुपर्ने बताए ।


पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरकारी छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरेका गुरुङ सुरुमा अहेव हुन् । ‘डाक्टर पढेपछि पनि मैले अछाममा काम गरें,’ गुरुङले भने, ‘देश बुझ्न सहर पसेर हुन्न ।’

प्रकाशित : मंसिर २३, २०७५ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?