१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सुन्तलाले रोक्यो परदेश

वीरेन्द्र केसी

अर्घाखाँची — सुन्तला बगैंचा कसको राम्रो ? एउटा बोटमा कतिवटा सुन्तला फले ? कति ठूला फले ? पाणिनि गाउँपालिकाका किसानबीच प्रतिस्पर्धा छ । बारी, पाखा पहेँलपुर सुन्तला बगैंचाले सजिएका छन् ।

सुन्तलाले रोक्यो परदेश

सुन्तला बेचेर कति आम्दानी गर्ने भन्ने मात्र होइन, बगैंचा कसरी आकर्षक बनाई पर्यटक लोभ्याउने भन्ने होडबाजी छ । ‘विदेश जानेको समस्या हाम्रातिर त्यस्तो छैन । गाउँमै भ्याइनभ्याइ छ,’ सिम्लेका कृषक हरिप्रसाद पौडेलले भने, ‘यो वर्ष तेब्बर संख्यामा सुन्तला फले ।’

पाणिनिका सिम्ले, पोखराथोक, खिदिम, मैदानलगायत गाउँमा सुन्तला लटरम्म छन् । सम्ले गाउँमा जाने जो कोही पनि सुन्तलाको बगैंचा देखेर लोभिन्छन् । किसान स्वरोजगार उन्मुख छन् । कृषि पर्यटकीय स्थल बन्दै छ । ‘यहाँ आउनेले बगैंचा हेर्छन्, मोबाइलले सेल्फी खिच्छन्, सामाजिक सञ्जालमा राख्छन्,’ पौडेलले भने, ‘सुन्तलाका बोटमा रमाउँछन् । हामीसँग सुन्तलाका बारेमा केहीले कुराकानी गर्छन् ।’

हेर्न आउनेलाई देखाउन भनेरै स्थानीयले एक/दुई बोटका सुन्तला बिक्री नगरी राख्छन् । त्यस्ता सुन्तला घुम्न आउने र किन्न आउनेलाई चखाउन ठिक्क हुन्छ ।

पौडेलका अनुसार दुई सय ५० बोटमा फलेका सुन्तला बेच्दा ४ लाख जति आम्दानी हुन्छ । ‘कृषकबीच आफ्ना बोटमा कति धेरै र कति ठूला दाना फले भन्ने प्रतिस्पर्धा नै हुन्छ,’ उनले भने, ‘सबैको ध्यान सुन्तलाका बोटमै छ । सबैका घरमा लाखभन्दा बढी नै कमाइ हुन्छ ।’

व्यापारी बोटमै खरिद गर्न आउँछन् । अघिल्लो वर्ष थोरै फलेका थिए, सुन्तलाको अभाव थियो, महँगोमा बिक्री भए, यसपालि धेरै फलेकाले भाउ कम परेको युवा कृषक पीताम्बर भट्टराईले बताए । ‘सुन्तलाबाटै मनग्गे आम्दानी हुन्छ,’ उनले भने, ‘कृषि पर्यटकीय स्थल, आफ्नै गाउँमा स्वरोजगार र घरपरिवारसँग बस्न पाइएको छ । विदेश नगई सुन्तलाको बोट बढाउने र यहीँ धेरै आम्दानी कसरी गर्न सकिन्छ भन्नेमै ध्यान केन्द्रित गरेको छु ।’

सिम्लेमा ३ सय ६८ कृषकले व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका छन् । पहिले–पहिले पाहुनालाई चखाउन, इष्टमित्र, नातेदार र साथीभाइलाई कोसेली दिन २/४ बोट लगाएका हुन्थे । पछिल्लो समय व्यावसायिक उत्पादन सुरु भएको हो । अन्नबाली हुने बारी मासेर सुन्तला खेती गरिएको छ ।

‘फल धान्न नसकेर बोटमा टेका लगाइएको छ । हाँगा जोगाउन एउटा बोटमा ६/७ वटा टेका लगाएर अडयाएका छौं,’ सिम्लेकै तुलसा पौडेलले भनिन्, ‘अघिल्लो वर्ष त छिटफुट मात्रै दाना फलेका थिए ।’ खरबारीमा समेत सुन्तला फलिरहेका छन् । डेढ दशकदेखि पौडेलले सुन्तला बेचिरहेकी छन् । सुन्तला बेचेर वर्षमा ३/४ लाख रुपैयाँ आम्दानी भइरहेको उनले बताइन् ।

सुन्तलाका बोटसँगै पिँडालु, बेसार, अदुवा, काउली, साग, गोभी र आलु लगाइएको छ । तरकारी खेतीको मल सुन्तलाका बोटमा पनि जान्छ । सुन्तलाका बोटमा कम्पोस्ट र गोबर मल भने छुट्टै राखिन्छ । मलजल राम्रो भएको, असिनाले फूल नझारेको र भेट्नो कुहिने समस्या नभएकाले यस वर्ष दाना धेरै फलेका छन् ।

पाणिनि सुन्तला जात बागवानी विकास समितिका अध्यक्ष रेवती पौडेलको ८० हजार सुन्तलाका बिरुवा उत्पादन गर्ने नर्सरी छ । उनी बर्सेनि बिरुवा उत्पादन गर्छन् । बोट पुराना भए त्यहाँ नयाँ बिरुवा रोप्छन् । ‘पाणिनिबाट वर्षमा अढाई करोड रुपैयाँ बराबरको सुन्तलाको कारोबार हुन्छ,’ पौडेलले भने, ‘बर्सेनि उत्पादन बढदो छ ।’ यसपालि ७ लाख रुपैयाँ आम्दानी हुने उनले बताए ।

गाउँपालिकाले सुन्तलाका बिरुवा उत्पादन गर्न प्रशस्त लगानी गरेको छ । बगैंचा सुदृढीकरण, मलजल गर्ने र धेरै दाना फल्ने तरिकासहित आवश्यक कृषि प्रावधिक तालिम र प्रशक्षिणका कार्यक्रम सञ्चालन गरिरहेको छ । अघिल्लो वर्ष १३ हजार बिरुवा पालिकाको अनुदानमा रोपिएका थिए ।

यसपालि त्यसभन्दा धेरै बिरुवा रोप्ने लक्ष्य छ । ‘पाणिनिका धेरै बस्तीमा सुन्तला उत्पादन हुने प्रचुर सम्भावना छ । सबै कृषकलाई व्यवसाय उन्मुख गराएर सुन्तलाबाटै समृद्ध पाणिनि बनाउने योजनामा लागेका छौं,’ पाणिनि गाउँपालिका अध्यक्ष अच्युत गौतमले भने, ‘यसले युवालाई खाडी मुलुकमा जानबाट रोकेको समेत छ ।’

प्रकाशित : मंसिर २६, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?