कहाँ छ खुला ठाउँ ?

‘खासमा कुनै ठाउँ स्थायी हुँदैन । मानिसले समय र परिस्थितिअनुसार आफ्नो बासस्थान निर्माण गर्छ ।’
सजना बराल

काठमाडौँ — हामी माथि–माथि गइरहेका छौं भन्ने कुरा वरिपरि निर्मित गगनचुम्बी भवनले प्रस्ट पार्छन् । खुला ठाउँको अभावले मान्छेलाई आकाशतिर लम्काइरहेको छ । चोक–गल्ली र केही मैदानहरू हाम्रा सरसामग्रीले भरिएका छन् । तसर्थ, ठाडो लाग्नुको विकल्प छैन ।

कहाँ छ खुला ठाउँ ?

जमिनले नपुगेर मानिस अब आकाश बाँड्ने तरखरमा छ । यही थिममा केही सातायता बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ‘बाँडिएको आकाश’ कला प्रदर्शनी चलिरहेको छ ।


फाइन आर्टकी कलाकार सुनीता महर्जनले विभिन्न माध्यमबाट मान्छेले निर्माण गरेका आधुनिक खुला ठाउँलाई प्रतिविम्बित गरेकी छन् । चित्र, छापा र कपडामा उनको प्रयोग देखिन्छ । तिनलाई मार्फा, कौसी, कीर्तिपुर र भूकम्प शृंखलामा वर्गीकरण गरिएको छ । मान्छेले आफ्ना लागि कसरी ठाउँ निर्माण गर्छ ? यसको जवाफ दिन उनले कपडामा बुट्टा कुँद्नुका साथै विभिन्न आकार तथा धर्साहरूको सहारा लिएकी छन् ।


‘फरक समयमा फरक ठाउँ बनाइँदो रहेछ,’ उनले भूकम्प शृंखलाका चित्र देखाउँदै भनिन्, ‘त्यो बेला भताभुंग भएका सामग्री जोडेर फेरि हामीले आफ्ना लागि नयाँ स्पेस निर्माण गर्‍यौं ।’


भूकम्पका चित्रमा उनले आफ्नै घरको भान्सा कोठा उतारेकी छन् । त्यो बेला आफूहरूले सुत्ने कोठामा खाना पकाएको, त्यो पनि भत्किएपछि भुइँतलामा भान्सा सारेको र त्यहाँबाट सरेर टहरामा पुगेको सुनीता सम्झिन्छन् । त्यो बेला उनलाई लागेछ, ‘खासमा कुनै ठाउँ स्थायी हुँदैन । मानिसले समय र परिस्थितिअनुसार आफ्नो बासस्थान निर्माण गर्छ ।’ उनले भान्साको अवस्थितिलाई एक्रेलिक–ग्रफाइटका साथै एक्रेलिक–चार्कोल माध्यमबाट क्यानभासमा व्यक्त गरेकी छन् ।


सन् २०१३ मा मार्फा घुम्न जाँदा नै सुनीतालाई खुला ठाउँ सम्बन्धि केही गर्ने उपाय फुरेको थियो । त्यहाँका स्थानीयले वातावरणअनुकूल बासस्थान निर्माण गरेको देखेपछि उनी प्रभावित भएकी थिइन् ।


घरबाहिर हावाले चिसो हुने भए पनि भित्र छिर्नासाथ न्यानो महसुस भएपछि उनलाई मान्छे र मान्छेले निर्माण गर्ने ‘स्पेस’ माथि काम गर्न सकिन्छ भन्ने लाग्यो । ‘त्यहीँबाट सुरु भएको थियो यो सबै,’ उनले भनिन्, ‘यी चारवटै शृंखलाको मूल भाव एउटै हो । फरक माध्यम र फरक शैलीमा अभिव्यक्त गर्न खोजेकी छु ।’


मार्फामा छँदा सुनीताले कपडामा प्रयोग गरिन् । सियो, धागो र कपडासँग आफ्नो पुरानो नाता रहेको उनलाई अचेल स्मरण हुन्छ । आफू सानो छँदा आमाले डसना सिलाएको देखेकी थिइन् । ‘उहाँ के–के बुनिरहनुहुन्थ्यो,’ सुनीताले भनिन्, ‘मैले ती कुरा बिर्से पनि मेरो अचेतन मनमा गडिएको रहेछ । मैले मार्फाको जनजीवन, घर, प्रकृति सबैलाई कपडामा उतारेकी छु ।’ उनले त्यहाँ अनुभव गरेका वस्तुगत अन्तरलाई टेक्सटाइल माध्यमबाट देखाएकी छन् ।


कौशी शृंखला मार्फाकै विस्तार हो भने पनि हुन्छ । यसमा उनले कौशीलाई आधुनिक खुला ठाउँका रूपमा पनि अथ्र्याएकी छन् । ‘पहिले हाम्रो घरमा कौशी थिएन,’ उनले भनिन्, ‘झिँगटीको छानो थियो । पछि कौशीसहित घर बन्यो । एउटा कौशीबाट अर्को कौशीमा जान मिल्ने भयो । सबै आ–आफ्नो पर्खालले घेरिए पनि कौशीहरू खुला हुन थाले । कौशीको चहलपहल छुट्टै देखिन्छ ।’

आकाश नजिक हुने भएकाले कौशी र प्रकृतिलाई जोड्न पनि सकिने उनले बताइन् । कीर्तिपुर शृंखलाअन्तर्गतचाहिँ उनले एउटा मात्रै आर्ट वर्क प्रदर्शनीमा राखेकी छन् । त्यसमा घरैघर देखिन्छन् । यसमा थप काम गर्ने सुनीताको भनाइ छ ।


वस्तुहरू चयन गर्ने मान्छेका तरिका र तिनको व्यवस्थापन गर्ने शैलीलाई उनले ख्याल गरेकी छन् कलाकृतिमा । उनका कामहरू मान्छेका गतिविधि र प्रतिक्रियासँग सम्बन्धित भए पनि कुनै चित्र वा प्रिन्टमा उनले मान्छे देखाएकी छैनन् । परम्परागत क्यानभासको सट्टा थ्रिडीमा काम गर्ने उनको तरिकाले आफूलाई छोएको सिद्धार्थ आर्ट ग्यालरीकी निर्देशक संगीता थापाले बताएकी छन् ।


स्याररे बज्राचार्य क्युरेटर रहेको प्रदर्शनी जनवरी १० सम्म चल्नेछ ।

प्रकाशित : मंसिर २७, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?