‘...अनि पत्रकार भइन्’

‘अरूले थालमा खाँदा, हामीले पातमा खायौं, अरू कुर्सी र खटियामा बस्दा हामी भुइँमै बस्थ्यौं’
मनोज पौडेल

कपिलवस्तु — विद्यालयमा भर्ना भइन्, ढुक्कले पढ्न पाइनन् । बिदाका दिन जमिनदारका बस्तुभाउ चराउन जानुपथ्र्यो । आर्थिक अभाव थियो । नयाँ कापीमा लेख्ने अवसर विरलै मिल्थ्यो । दाजुले लेखेको कापीमा लेख्थिन् ।

‘...अनि पत्रकार भइन्’

नयाँ कपडा सपना थियो । घरछेउमै कुवा थियो । उनको परिवारले त्यहाँ पानी भर्न पाउँदैनथ्यो । केही गरी भाडा छोइएँ, नयाँ किन्न लगाउँथे । कुटपिट सहनुपथ्र्यो । छुन नपाएपछि खोलाबाट पिउने पानी ओसार्थे ।

‘अरूले थालमा खाँदा, हामीले पातमा खायौं,’ बुद्धभूमि नगरपालिका ९, मैटहवाकी ३० वर्षीया सोना खटिकले भनिन्, ‘अरू कुर्सी र खटियामा बस्दा हामी भुइँमा बस्थ्यौं ।’ उनले व्यथा सुन्दा आँखा रसाउँछन् । आमा गर्भवती भइन् । जीउ भारी हुँदै गएपछि जमिनदारको घरमा काम गर्न सकिनन् ।


‘शारीरिक अवस्था कमजोर भएकाले आमा घरमै बस्नु भो,’ उनले भनिन्, ‘काम गर्न किन नआएको भन्दै घरमा आएर जमिनदारले गाली गर्थे ।’ धेरै दिन काममा जान नसकेपछि जमिनदार र खटिक परिवारबीच झगडा सुरु भयो । अटेर गरेको आरोपमा जमिनदारले तीनपटक घर जलाए ।


आकाशमुनि जलेको घरको खरानीमा भाइ जन्मिए । सोनाका अनुसार साबिकको गाविस कार्यालयमा सहयोगी माग भयो । उनका बाबु राखलखनले जमिनदारसमक्ष उक्त पदमा काम गर्ने इच्छा व्यक्त गरे । ‘तेरो पानी चल्दैन । तैले छोएको कसैले खाँदैन । चिया पकाएर दिनुपर्छ,’ जमिनदारले भने ।


त्यसपछि उनले आवेदन हालेनन् । जेठा दाइ राजाराम त्यहीँ घरमा गोठाला बसे । कान्छा बालखै थिए । परिवारले भोगेका पीडा सोनाले नजिकबाट नियालेकी थिइन् । परिवार विपन्न थियो । साँझ–बिहान छाक टार्ने समस्या । एक दशक अघिसम्म उनको परिवार यस्तै थिचोमिचोमा थियो ।


बाध्यताले चुपचाप सहनुको विकल्प थिएन । जिल्लामा पहिलोपटक सञ्चालनमा आएको रेडियो कपिलवस्तुले ०६५ मा पत्रकारिता तालिम सञ्चालन गर्‍यो । त्यसमा सहभागी बनेर उत्कृष्ट भइन् । रेडियोमा समाचार वाचनको अवसर पाइन् । त्यसपछि उनको जीवन परिवर्तन हुन थाल्यो । अनेक समस्या, पीडा र अभाव चिर्दै अघि बढेको जनाउँदै विश्व बैंकले महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा यसपटक उनलाई ‘इन्सपायरिङ हिरोज्’ को उपाधि दिएको छ ।


घरदेखि २० किमि टाढा रेडियो स्टेसन थियो । हिँडेरै पुग्थिन् । दैनिक ४० किमि ओहोरदोहोर गर्दा लखतरान पर्थिन् । उनको हिम्मत र ऊर्जा देखेर रेडियोले साइकल दियो । त्यसपछि दत्तचित्त भएर काममा खटिइन् । समाचार वाचन गर्दागर्दै लेख्न थालिन् । २ हजार रुपैयाँ पारिश्रमिक पाउन थालेपछि घरायसी आवश्यकता पूरा हुने भयो । आमा–बाबु खुसी भए । ‘बैनीले घर छाडेर गई । इज्जत डुबाउने भई । मान्छेले कुरा काट्न थाले,’ भनेर उनका दाजु राजाराम बोल्नै छाडे । ७ वर्षसम्म बहिनीसित बोलेनन् । ३ वर्षअघि सोना सिकिस्त बिरामी भइन् । अस्पतालबाट आमासित ‘दाइसँग कुरा गर्ने अन्तिम इच्छा छ,’ भनिन् । मोबाइलमा कुराकानी भयो । अहिले आमने–सामने हुँदा पनि बोल्दैनन् ।


०६६ वैशाख १ गते रेडियोबाट आवाज गुन्जियो । त्यसबेला अवधि र थारू भाषामा समाचार पढ्थिन् । रेडियोमा बोल्ने जिल्लामा पहिलो महिला बनिन् । आफ्नै कमाइबाट पढिन् । अप्ठयारोमा पनि अध्ययनलाई निरन्तरता दिइन् । छात्रवृत्तिमा मिडिया एन्ड टेक्नोलोजीमा स्नातकोत्तर गरेकी छन् ।


रेडियो पत्रकारितासम्बन्धी बंगलादेश र भारत पुगेर तालिम लिइन् । त्यहाँको तालिमको अनुभव बाँड्न थाइल्यान्ड पुगिन् । समाचार वाचिकाबाट अहिले स्टेसन म्यानेजर पदमा पुगेकी छन् । उनले सफलताका लागि संघर्ष गरिरहेका बेला उनकी दिदीलाई दाइजो नल्याएको आरोपमा घर निकाला गरियो ।


सोनाले त्यसविरुद्ध मुद्दा हालिन् । आफैं वारिस बनेर अंश दिलाइन् । ०६५ मा बाबुलाई हरुवाचरुवाबाट छुटाइन् । राखलखनललाई जमिनदारले गाउँका चौकीदारको जिम्मा दिएका थिए । त्यसबापत प्रत्येक घरले वर्षको ४ किलो चामल र एक मुठा धान दिन्थे । परालसहितको धानबाट मुस्किलले २ किलो चामल झर्थ्याे ।


जमिनदारले चाडबाडमा ‘बकस’ स्वरूप एक छाकका लागि चामल र दाल, तरकारी दिन्थे । २ वर्षअघि परिवारलाई बस्न दिएको गाउँ ब्लक डिहीको ११ धुर जग्गा बाबुको नाममा पास गरिन् । उक्त जग्गामा बसेका छिमेकीलाई जमिनदारले लालपुर्जा नबनाएर धपाए ।


गाउँका ५० दलित बालबालिकालाई पढाउन उत्प्रेरित गरिन् । पढाइ छाडेर बसेकालाई आफैंले विद्यालय पुर्‍याइन् । अहिले उनीहरू १० देखि स्नातक तह पढ्ने भएका छन् । सोनाका भाइ पनि पढाइमा अब्बल थिए । अहिले छात्रवृत्तिबाट वीरगन्जमा एमबीबीएस गरिरहेका छन् ।


एक समय जमिनदारले दिएको खानेकुराले ४ महिना धान्न मुस्किल पथ्र्यो । कनिकाको रोटी, दाल पिस्दा निस्केको चोकर र जंगलका फलफूल, बेलौती (अम्बा) र जामुनलगायतले बाँकी ८ महिना टार्थे । कन्दमूलले खटिक परिवार धानिएको थियो । सोनाले घरबाट विद्रोह गर्दा परिवार दु:खी र तनावमा थिए । ‘मैले जे गरें ठीक गरें जस्तो लाग्छ,’ उनले भनिन्, ‘मेरो संघर्षबाट परिवार सुखी बन्दै छ ।’


विस्तारै कामबाट पाउन थालेको सम्मानले झन् हौसला बढेको उनले बताइन् । ‘न्याय, समानता,

पहिचान र समृद्धिका लागि निरन्तर लड्ने प्रेरणा पाएको छु,’ उनले भनिन् । विश्व बैंकले नेपालको नायक उपाधि दिँदा गर्वले छाती फुलेको उनले सुनाइन् । ‘पत्रकारितामै जीवन बिताउँछु,’ उनले भनिन्, ‘गरिब, विपन्न र दलितका अधिकारका लागि कमल चलाउँछु ।’

प्रकाशित : मंसिर २८, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?