कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सहरबाट पहाड पैदल

सहरकै पक्की सडकबाट थालिएको हाइकिङ टोली गाम्चाको खेतका गरा, बारीको डिल हुँदै तर्खगालचोकबाट अनन्तलिंगेश्वर डाँडो उक्लेको थियो 

भक्तपुर — सेता चम्किला हिमाल, हरिया पहाड अनि टुप्पोमै देखिएका सेता सोमेश्वर मन्दिर । भक्तपुरको अनन्तलिंगेश्वर डाँडाबाट देखिएको यही दृश्यलाई शनिबार एक्रेलिक कलरको माध्यमबाट चित्रकार दीपेन्द्र बनेपाली क्यानभास सिंगार्दै थिए ।

सहरबाट पहाड पैदल

हरिया जंगललाई विषय बनाएर पेन्टिङ गर्दै गरेका उनले भने, ‘यी हरिया डाँडाकाँडाले गर्दा नै हामी छौँ । हावामा स्वच्छता छ ।’


यस्तै स्वच्छता खोज्दै शनिबार बिहानै चित्रकार, साहित्यकार र रंगकर्मीहरूको एउटा टोली ठिमीको शंखधर साख्वा: चोकबाट हिँड्दै यो डाँडा आइपुगेको थियो । सहरकै पक्की सडकबाट थालिएको हाइकिङ टोली गाम्चाको खेतका गरा, बारीको डिल हुँदै तर्खगालचोकबाट यो डाँडो उक्लेको थियो ।


चराको चिरबिरसँगै खुलेको आकाश अनि क्षितिजमा देखिने गौरीशंकर, दोर्जेलाक्पा, लाङटाङ, गणेश हिमाल र मनास्लु हिमशृंखला । कवि र कलाकर्मी नरमाउने कुरै भएन । चित्रकार बनेपालीसँगै लालकाजी लामा, विक्रम प्रजापती, राजेन्द्र याकामी, झलक केसी, कान्छाकाजी भासिमा र प्रकाश मानन्धर तर्खगालमै केही घण्टा रोकिए । हरिया रूखका हाँगालाई सजेसनमा राखेर पुराना घरहरू क्यानभासमा कम्पोज गर्न थाले । वाटरकलरमा उनीहरूले उतारेको दृश्यचित्र निकै मनमोहक देखिए ।


कला, साहित्य र रंगमञ्चमार्फत समाजमा सकारात्मक र आशावादी ऊर्जा प्रवद्र्धन गर्ने ध्येयका साथ चार महिनाअघि सुरु भएको ‘जेसुम यात्रा’ को तेस्रो शृंखलामा थिए उनीहरू । ‘मौलिक संस्कृति, सम्पदा र

सौन्दर्य प्रवद्र्धनको समेत ध्येय हो,’ अनन्तलिंगेश्वरको जंगल उक्लिँदै गर्दा अभियान संयोजक एवं कवि अनिता लामाले भनिन्, ‘धुलिखेल र नगरकोटपछि यसपटक यहाँ आइपुग्यौं ।’


रोचक के भने, टोलीमा भक्तपुरकै आधा दर्जन चित्रकार भए पनि सबै जना पहिलो पटक अनन्तलिंगेश्वर पुग्दै थिए । ‘मौसम खुलेको बेला त यहाँबाट माछापुच्छ्रे हिमाल पनि देखिन्छ,’ स्थानीय सहदेव न्यौपाने र श्रीराम न्यौपानेले एकै स्वरमा भने, ‘तर सहरको प्रदूषण अब विस्तारै यता पनि सर्दै छ ।’


स्थानीयका अनुसार डाँडाबाट हेर्दा बिहान काठमाडौं उपत्यकाको पश्चिम (कलंकी–बालाजु) क्षेत्रको आकाश नै एकदम धुलोमैलो देखिन्छ, दिन ढल्किँदै जाँदा यो उड्दैउड्दै भक्तपुरमाथि आइपुग्छ र हिमाल छोपिदिन्छ । सहदेव र श्रीरामलाई सुनेपछि चित्रकार लालकाजीले हतारहतार हिमाल कैद गर्न थाले क्यानभासमा । त्यसपछि उनले हिमाल अगाडि हरिया रूख र चौरका घाँसलाई उभ्याए ।


टाढा देखिएका पहाडहरू केही काला र नजिकका पहाडलाई उनले हरिया रंगले रंगाए । ‘टाढा देखिएका दृश्यलाई नीलो रंगले छोपेको हुन्छ,’ उनले भने, ‘नजिकका प्रस्ट देखिने भएकोले वास्तविक रंग लगाउनुपर्छ । यो चित्रकारिताको नियमजस्तै हो ।’ अरूले पनि त्यसै गरे । कविहरूचाहिँ कापी र कलम लिएर दृश्यपानसहित घोत्लिन थाले ।


यही बेला आइपुगिन्, सूर्यविनायक नगरपालिकाकी उपमेयर जुना बस्नेत । उनले आफ्नो भेकमा कलाकर्मी र साहित्यकर्मी स्वच्छ हावा खोज्दै आएकोप्रति खुसी व्यक्त गरिन् ।


केही समयमै सिर्जना तयार भए । कविहरूलाई सुन्न न्यु गाम्चा रिसोर्टको मिनी हलमा चित्रकारहरू पनि पसे । कवि अनितासँगै अनन्त वाग्ले, रमेश कँडेल, सजनी नौबागे, पुष्करराज साउँतेली, बालकृष्ण बस्नेत, सुरेश हाचेकालीलगायतले स्थानीय सांस्कृतिक बिम्व र प्रतीक समातेर कविता सुनाए ।


कार्यक्रमकै बीच यही क्षेत्रमा सांसद एवं पूर्वमन्त्री महेश बस्नेत र वडाध्यक्ष उत्तम थापा आइपुगे । सांसद बस्नेतले कुनै समय आफूले पनि ‘अनि मात्र सिंगो देश ब्युँझिन्छ’ नाम नाटक लेखन, निर्देशन र अभिनय गरेको अनुभव सुनाउँदै भक्तपुरमा सांस्कृतिक र वातावरणमैत्री विकासका लागि आफू लागिपरेको बताए ।


उनले आफ्ना पुराना कविताका केही पंक्तिसमेत सुनाउँदै भने, ‘पाँच वर्षपछि भक्तपुरमा मानिस विकासको नमुना हेर्न आउनेछन् ।’ कवितापछि उनले आफ्नो पुरानो नाटकको सानो भूमिका पनि प्रस्तुत गरे ।

सकारात्मक उत्प्रेरणाको अभियानको रूपमा जेसुमलाई निरन्तरता दिने संयोजक अनिताले बताइन् ।

प्रकाशित : पुस १, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?