कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

जङ्गल मै कुहिन्छ बहुमूल्य 'तारुचुक' 

बझाङ — असोजदेखि मङ्सिरसम्म साइपाल गाउँपालिकाका जङ्गलहरू पहेंलपुर देखिन्छन् । यहाँका जङ्गलहरूमा यस मौसममा तारुचुक (नेपालीमा डालेचुक) पाकेर पहेँलै भएको दृश्य हेर्न लायक हुन्छ । व्यावसायिक तथा औषधीय महत्त्व बोकेको यो फल यस गाउँपालिकामा प्रशस्त मात्रामा पाइने भए पनि उपयोग नहुँदा जङ्गलमै कुहिन्छन् ।

जङ्गल मै कुहिन्छ बहुमूल्य 'तारुचुक' 

स्थानीयहरूले यसको औषधीय र घरायसी प्रयोग गर्ने गरेको भए पनि व्यावसायिक प्रयोग हुन सकेको छैन । यहाँका बासिन्दा पेटमा जुका परेमा तारुचुकको प्रयोग गर्ने गर्दछन् । ‘जुकाको यो भन्दा राम्रो औषधि नै छैन’ साइपाल गाउँपालिका काँडाका गोरख बोहराले भने, ‘पेटमा जुका रहेछ भने साँझ एक चम्चा तारुचुक खानु पर्छ । बिहान दिशाबाट मरेको जुका निस्किन्छ ।’ उनले तारुचुक अस्पतालमा पाइने औषधी भन्दा बढी प्रभावकारी रहेको दाबी गरे ।




यस्तै सानो बच्चाले उमेर पुगिसक्दा पनि स्पष्ट बोल्न नसकेमा तारुचुक चटाउँदा छिटो र प्रस्ट बोल्ने गरेको, गर्भवती अवस्थामा प्रत्येक साँझ तारुचुक चाटेमा प्रसूति हुन सहज हुने गरेको स्थानीयको अनुभव छ । पेटको दुखाई, अजीर्णलगायतका समस्यामा पनि तारुचुक उपयोगी हुने गरेको स्थानीयको भनाई छ ।


बझाङको साइपाल गाउँपालिका, क्षेत्रफलका हिसाबले नेपालकै सबै भन्दा ठुलो स्थानीय तह हो । करिब १ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यस गाउँपालिकामा मानव बस्ती र आबादी भने कुल क्षेत्रफलको ५ प्रतिशत भन्दा पनि कम रहेको छ । यहाँको सबै जसो भूभाग वन जङ्गल, भिर पहरा, हिमाल र हिमाली पठार रहेको छ । यस गाउँपालिकाको प्राय सबै जसो जङ्गलहरूमा तारुचुक पाइन्छ ।




तारुचुकलाई सुदूरपश्चिम र कर्णाली क्षेत्रमा ताराचुक, शंखधारा, अमृत धारा आदि नामले चिनिन्छ । नेपाली भाषामा डाले चुक वा भुईचुक भन्ने गरिएको यो जङ्गली फल बहुमूल्य र निकै नै गुणकारी भएको डाले चुक विज्ञसमेत रहेका वन विभागका वन अधिकृत युवाराज पोखरेल बताउँछन् । यसको फलमा मानव शरीरलाई आवश्यक पर्ने सबै खालका भिटामिन र खनिजहरू पाइने भएका कारण यसको विश्वबजारमा माग र मूल्य उच्च रहेको उनको भनाई छ ।

करिब २० वर्षदेखि डालेचुकको विषयमा नेपालको २५ जिल्ला र विदेशमासमेत अध्ययन गरेकाका पोखरेलले डालेचुकबाट खाद्य सामाग्री, औषधी र श्रृङगारिक प्रशोधन उत्पादन हुने गरेको बताए । विश्व बजारमा डालेचुकबाट बनेका जुस, जाम, क्याण्डी, वाइन, सर्बत, सर्बत पाउडर (ट्याङ्क) बढी रुचाइने गरेका छन् । यसको बिउ र रसमा तेलको मात्रा हुने र त्यसमा क्यारोटिनलगायतका विभिन्न प्रकारका लाभकारी तत्त्वहरू पाइने भएकोले विभिन्न खालका औषधीमा पनि प्रयोग हुने गरेको उनले बताए ।

चीन, जर्मनी, रसिया, फिनल्याण्डलगायतका देशले यसको व्यावसायिक खेती पनि सुरु गरेका छन् । चीनमा मात्र ३० लाख हेक्टर भन्दा बढी क्षेत्रफलमा डाले चुक (अङ्ग्रेजीमा सिबकथ्रोन) को वृक्षारोपण गरिएको र यसको विभिन्न उत्दपादनहरु तयार गर्नका लागि दुई सय भन्दा बढी उद्योग स्थापना भएको उनले बताए । नेपालका २६ जिल्लामा पाइने यसको केही जिल्लामा सामान्य व्यावसायिक कारोबार सुरुवात गरिएको भए पनि यसलाई उद्योग कै रूपमा लैजान नसकिएको पोखरेलको भनाई छ ।




माइनस ४० डिग्रीदेखि ४० डिग्री सेल्सियससम्म तापक्रम भएको ठाउँमा हुर्कन सक्ने यो बिरुवा समुन्द्र सतहबाट १ हजार ८ सय देखि ५ हजार मिटरको उचाइसम्म पाइने गर्दछ । रूखो ठाउँमा पनि हुर्कन सक्ने डालेचुकको बिरुवाले जैविक विविधता र माटोको गुणस्तर सुधार्न पनि निकै ठुलो भूमिका खेल्ने गरेको विज्ञहरूको भनाई छ ।


बझाङको साइपाल गाउँपालिकामा डाले चुक प्रशस्त मात्रामा पाइने भए पनि यसको अध्ययन र सर्वेक्षण नभएको डिभिजन वन कार्यालयका प्रमुख कृणराज न्यौपानेले बताए । उनले प्रशस्त मात्रामा रहेको डाले चुक प्रशोधन गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने सम्भावना रहेको बताउँदै यसको प्रवर्द्धनको लागि गाउँपालिकासँग सहकार्य गरिने बताए ।

प्रकाशित : पुस १, २०७५ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?