महिनावारी झन्डा

मधु शाही

बाँके — महिनावारीका बेला तीन दिन विद्यालयमा गयल । वर्षभरिमा ३६ दिन । शिक्षकले केही नभन्ने । विद्यालयले पनि चासो नदिने । सेनेटरी प्याड र सरसफाइको उस्तै समस्या ।

महिनावारी झन्डा

एक शैक्षिक सत्रमा एक महिनाभन्दा बढी अनिवार्य गयल हुने छात्रा हिजोआज नियमित विद्यालय आउँछन् । हिजोसम्म कुरा गर्न पनि संकोच मान्ने उनीहरू महिनावारी व्यवस्थापनका विषयमा धक खोलेर सिकाउँछन् । उनीहरू आफैं अग्रसर भएर विद्यालयमा सुरक्षित महिनावारी अभियान चलाएका छन् ।


मुस्कान हलवाई र उनका साथीहरूलाई सुरक्षित महिनावारी व्यवस्थापन अंकित झन्डा सबैभन्दा उचाइमा फहराउने मन छ । त्यसका लागि महिनावारी सुरक्षित र व्यवस्थित बनाउन कस्सिएका छन् ।


नेपालगन्ज उपमहानगरपालिका–१३ स्थित सरस्वती माविका छात्राले सरसफाइअन्तर्गत ६ वटा सूचक तय गरेका छन्– सरसफाइको प्रयोग, व्यक्तिगत सफाइ तथा साबुन पानीले हात धुने, सुरक्षित महिनावारी व्यवस्थापन, सुरक्षित पिउने पानी, सुरक्षित र स्वस्थ खाना तथा स्वच्छ वातावरण ।


सूचक कार्यान्वयनका लागि समूह बनाएका छन् । यीमध्ये सुरक्षित महिनावारी व्यवस्थापन समूह बढी सक्रिय देखिन्छ । उसले विभिन्न रोचक उपाय अपनाएर महिनावारी व्यवस्थापनमा जोड दिएको छ । जुन समूहले प्रभावकारी काम गर्छ, त्यसैको झन्डा सबैभन्दा माथि फहराउने विद्यालयको नियम छ ।


कक्षा ९ मा अध्ययनरत मुस्कानले सुरक्षित महिनावारी व्यवस्थापनको जिम्मेवारी सम्हालेकी छन् । कक्षाकी क्याप्टेन नियमित आउन छाडेपछि उनी सक्रिय भएकी हुन् ।


१५ वर्षीया उनले महिनावारी हुँदा सफाइमा ध्यान दिनुपर्ने, विद्यालय आउन धक नमान्ने, सेनेटरी प्याडको प्रयोगबारे साथीहरूलाई सिकाउने गरेको बताइन् । प्रत्येक दिन बिहान विद्यालयमा प्रार्थनाको समयमा मुस्कानको समूहका छात्राले सुरक्षित महिनावारीसम्बन्धी जानकारी दिन्छन् । उनीहरूले महिनावारीबारे बताउँदा केही साथी लाजले मुख छोप्छन् ।


समूहले विद्यार्थीबाट ५ देखि २० रुपैयाँ संकलन गरेर प्याड खरिद गरिरहेको कक्षा ९ की श्वेताकुमारी वैश्यले बताइन् । विद्यालयमा ७ सय छात्रा छन् । दैनिक कम्तीमा ५० थान प्याड प्रयोग हुने मुस्कानले सुनाइन् । विद्यालय प्रदूषित नहोस् भनेर समूहले सुरक्षित तरिका अपनाएको छ । प्रयोग गरिएका प्याड शौचालयमा एक ठाउँ जम्मा गरिन्छ ।


त्यसलाई जथाभावी नफाली उपमहानगरपालिकाको फोहोर संकलन गर्ने गाडीमा राख्ने गरिएको छात्रा कविता वैश्यले सुनाइन् । प्रधानाध्यापक सुरेशकुमार परसैला छात्रा आफैं सचेत भएको देखेर खुसी छन् । उनका अनुसार महिनावारीका बेला छात्रा नियमित विद्यालय आउने अवस्था थिएन । विद्यार्थी आफैं व्यवस्थापनमा सक्रिय भएपछि सकारात्मक परिणाम देखिन थालेको छ ।

प्रकाशित : पुस २, २०७५ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?