कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

स्याउला हैन, साग

प्यूठान — गाउँबस्तीमा घाँस–दाउराका भारी सामान्य हुन् । सडक पहुँच नभएका ठाउँमा अन्य मानवीय आवश्यकताका वस्तु पिठ्युँमा बोकेरै ओसारिन्छ । स्वर्गद्वारी पुग्ने हो भने सागको भारी बोकेका मानिस प्रशस्तै भेटिन्छन् ।

स्याउला हैन, साग

स्वर्गद्वारी आश्रमको मेसमा प्रत्येक दिन खानासँगै साग अनिवार्य छ । त्यसका लागि आश्रमले बारीमा साग खेती गरेको छ । त्यहाँ उत्पादन भएको सागका भारी बोकेर अन्यत्रका भान्सासम्म ओसारिन्छ ।


स्वर्गद्वारीको गौशालामा पालिएका गाईको गोबर मल हालेको रायोको साग स्वादिलो हुने यहाँ आउने पाहुना बताउँछन् । यहाँको साग कोसेलीका रूपमा लैजाने गरिन्छ । ‘असोज, कात्तिक महिनामा साग छर्छाैं,’ स्वर्गद्वारी आश्रमका भान्सा प्रमुख बाबुराम न्यौपानेले भने, ‘यति छिट्टै हुर्कन्छ कि हामी आफैं दंग पर्छौं ।’ उनले पहिलेदेखि लगाउँदै आएको सागको बीउ छर्ने गरेको बताए ।


गोठको दक्षिणतर्फ पूरै पाटाभरि रायोको साग लगाउने गरिएको छ । ‘आश्रमको मेसमा दैनिक ५/७ सय जनालाई खाना पाक्छ,’ न्यौपानेले भने, ‘हरेक दिन सागको परिकार हुन्छ । पुगेकै छ ।’ आश्रमले दुई महिलालाई सागको स्याहार र टिप्न ज्यालादारीमा राखेको छ । स्वर्गद्वारीमा साग राम्रो उत्पादन हुने गरेको छ । पात ठूला हुने भएकाले डाले घाँसको आँठोजस्तै बाँध्ने गरिएको छ ।


‘साग टिप्नेले घाँसको भारीजस्तै बनाएर ल्याउँछन्,’ उनले भने, ‘सागका भारी देख्दा स्वर्गद्वारी आएका पाहुना दंग पर्छन् ।’ स्वर्गद्वारीमा स्वादिलो साग खान पाइने भएकाले पटक–पटक आउन मन लाग्ने डिभिजन वन कार्यालयका रेन्जर हरि पौडेलले बताए । ‘यहाँ उत्पादित साग देख्दा निकै दंग पर्छु,’ पौडेलले भने, ‘यहाँको एउटा पात सागले नै ३ जनाको परिवारलाई एक छाक हुन्छ ।’ सागको भारी नै बनाएर बोक्ने गरेको स्वर्गद्वारीमा मात्र देखेको पौडेलले सुनाए ।


कार्यालयमार्फत स्वर्गद्वारी आश्रममा भौतिक पूर्वाधार निर्माणको कार्यक्रम कार्यान्वयनका लागि शनिबार स्वर्गद्वारी पुग्दा घाँसको भारी जत्रो साग लिएर फर्केको पौडेलले बताए । ‘आश्रम क्षेत्रका बाँझो बारीमा समेत साग राम्रोसँग फैलिएको छ,’ उनले भने, ‘मल र हावापानी मिल्यो भने रायो साग धेरै क्षेत्रफलमा लगाउनै पर्दो रहेनछ ।’

प्रकाशित : पुस ५, २०७५ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?