कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नेतृत्वको पहिलो पाइला

एम.ब.ए. (विशेष)
यज्ञ बञ्जाडे

काठमाडौँ — जीवनका ३५ वसन्त पार गरिसकेका दीपेश शर्मा पेसाले बैंकर हुन् । शर्मा हाल एक निजी वाणिज्य बैंकमा विभागीय प्रमुख तहमा कार्यरत छन् । मासिक आम्दानी मनग्य नभए पनि काठमाडौंको खर्च धान्न नपुग्दो छैन । जन्मथलो दाङ भए पनि एसएलसीपछिका सबै शिक्षा उनले काठमाडौंमै हासिल गरे ।

नेतृत्वको पहिलो पाइला

  • - डक्टर बन्ने सोचले काठमाडौं छिरेका शर्मा ‘प्लस टु’ पछि व्यवस्थापनका विद्यार्थी बने । जीवनको त्यही ‘टर्निङ प्वाइन्ट’ ले गर्दा आज उनी सफल बैंकर बन्ने होडमा जुटेका छन् । अहिले उनीसँग काठमाडौंमै घर, गाडी र बैंक खातामा धेरथोर बचत पनि छ । यो सबैको श्रेय उनी मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन (एमबीए) लाई दिन्छन् । उनी भन्छन्, ‘एमबीएले मलाई एटिच्युड सुधार गर्न र लिडरसिप विकासमा सघायो । सायद यही कारण आज म यो पोजिसनमा छु ।’ एमबीएतिर नलागेको भए अहिल्यै यति उपलब्धि प्राप्त गर्न कठिन रहेको उनको बुझाइ छ ।
  • -कीर्तिपुरकी रिया महर्जनको पेसा ‘केक’ (विभिन्न किसिमका केक र केकजन्य परिकार) उत्पादन हो । २९ वर्षीया रियाले तीन वर्षदेखि यो व्यवसाय गर्दै आएकी छन् । हाल उनको कारखानामा ७ जनाले रोजगार पाएका छन् । करिब १५ लाख लगानीमा केक उत्पादन सुरु गरेकी महर्जन व्यवसाय विस्तारको सोचमा छिन् । राम्रो अंकसहित एमबीए डिग्री हासिल गरेको मान्छे आकर्षक जागिर गर्न छोडेका किन पसल–पसल केक बिक्री गर्न हिँडेकी ? कान्तिपुरको जिज्ञासामा उनले भनिन्, ‘बैंकमा दुई वर्ष काम गरें, जागिरभन्दा आफ्नै व्यवसाय राम्रो लाग्यो र यता लागे ।’ एमबीए डिग्री ‘टेन टु फाइभ’ जागिरका लागि भन्दा पनि सफल उद्यमीका लागि बढी उपयुक्त हुने उनको ठहर छ । ‘जागिरमा हिकिमको निर्देशन पालना गर्न सके सफल भइन्छ,’ उनले थपिन्, ‘व्यवसाय गर्दा तलदेखि माथिसम्मका सबै कामको ज्ञान हुनुपर्छ ।’ अन्यन्त्र काम गर्दा आफूले पाउने पारिश्रमिकभन्दा धेरै कमाइ व्यवसायबाट भएको उनले बताइन् ।
  • -प्रसंग करिब एक वर्षअघिको हो । नेपाल फर्किने क्रममा ट्याक्सीमा डिल्ली एयरपोर्ट आउँदै थिएँ । बाटोमा ट्याक्सी ड्राइभरसँग अन्तरंग कुराकानी भइरहेको थियो । ‘तपाईंलाई एयरपोर्ट पुर्‍याएपछि म सिधै घर फर्किने हो, छोरीको बिजनेस ओपनिङ छ,’ उनले भने । उनकी छोरी एमबीए अन्तिम सेमेस्टरकी विद्यार्थी रहेछिन् । पढाइ सकिनै लागेकाले व्यवसाय सुरु गर्न लागेकी रहेछन् । मैले थप प्रश्न गर्न नपाउँदै उनले हिन्दी भाषामै थपे, ‘जागिर गरेर को ठूलो भएको छ ? व्यवसाय गर्नकै लागि छोरीलाई एमबीए पढाएको हुँ । आफ्नै व्यवसाय गर्छे । अनि सेटल हुन्छे ।’


उल्लिखित घटना उदाहरण मात्र हुन् । यी उदाहरणमार्फत राम्रो अंकसहित एमबीए पास गर्ने विद्यार्थीले जीविकोपार्जनका लागि धेरैतिर भौतारिनु पर्दैन भन्धने देखिन्छ । जागिरका लागि मात्र नभएर उद्यमी बन्न पनि एमबीए उपयुक्त विषय भएको स्वयं विद्यार्थीहरू बताउँछन् । बैंक तथा वित्तीय संस्था, बिमालगायत कर्पोरेट क्षेत्रको विषय ज्ञानसहित नेतृत्वदायी क्षमता विकासका कुरा पनि अध्ययन गर्न पाइने भएकाले व्यक्तिको जीवन सफल बनाउन एमबीए उपयुक्त हुने जानकारहरू बताउँछन् ।


एमबीएमा विद्यार्थीमा सैद्धान्तिक ज्ञानसँगै सीप तथा नवप्रवर्तन (इन्नोभेसन) क्षमता हुने भएकाले उपयुक्त भएको एपेक्स कलेजका प्रिन्सिपल एलपी भानु शर्माले बताए । यद्यपि अझै पनि विद्यार्थीहरू अपेक्षित रूपमा उद्यमशीलता विकासमा लाग्न नसकेको उनको भनाइ छ । ‘हालसम्मको तथ्यांकअनुसार एपेक्स कलेजबाट एमबीए डिग्री हासिल गरेकामध्ये करिब ९ प्रतिशत उद्यमी बनेका छन्,’ उनले भने, ‘यो राम्रो सुरुआत हो । यो संख्या अझै बढाउँदै जानुपर्छ ।’ कुनै विदेशी डिग्रीको तुलनामा स्वदेशी एमबीएको गुणस्तर कम नभएको उनले दाबी गरे । एमबीएले विद्यार्थीलाई इमानदारीका साथ मिहिनेत, नवप्रवर्तन, नेतृत्व गर्न सिकाउने उनको भनाइ छ । ‘हामी विद्यार्थीको व्यक्तित्व विकासमा बढी ध्यान दिएका छौं । पढेका सबै विद्यार्थीले जागिर नै खोज्छन् भन्ने छैन । कोही उद्यमशीलता र कोही जागिर रोज्लान्,’ उनले भने । विद्यार्थीलाई विभिन्न क्लबमा विभाजन गरेर फरक–फरक क्रियाकलाप गराउँदा उनीहरूले आफ्नो पर्फर्मेन्स देखाउने अवसर पाउने उनले बताए ।


‘पढिसकेपछि केही कुरा सिक्नु ठूलो कुरा हो । सीपले मात्र काम गर्न सिकाउँछ । दिगो सोच राख्ने, इमानदारी र लगनशील विद्यार्थी तयार पार्ने हाम्रो उद्देश्य हो,’ उनले थपे ।


दक्ष जनशक्ति उत्पादनमा एमबीए निकै महत्त्वपूर्ण माध्यम बनेको साइम कलेजका प्रिन्सिपल अशोकराज पाण्डेले बताए । एमबीएमा सैद्धान्तिकभन्दा बढी प्राक्टिकल पढाइ हुने भएकाले विद्यार्थीले व्यावहारिक ज्ञान लिन सक्ने उनको दाबी छ । ‘हामी प्राक्टिकलमा आधारित भएर पढाउँछौं,’ उनले भने, ‘यसका लागि इन्टर्नसिपमा पठाउँछौं, प्राक्टिकलले धेरै अनुभव दिन्छ ।’ एमबीए उपयुक्त विषय भए पनि यो शिक्षा प्रणालीको समिक्षा गर्नुपर्ने बेला भएको उनले बताए ।


एमबीएमा विद्यार्थीलाई विश्वपरिवेश सुहाउँदो पाठ्यक्रममार्फत अध्यापन गराइने भएकाले त्यसबाट राम्रा जनशक्ति उत्पादन हुने लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष पंकज जलानले बताए । ‘अनुसन्धानमा बढी ध्यान दिएका छौं,’ उनले भने, ‘समस्या के भएको छ भने विद्यार्थी प्रमाणपत्रका लागि कलेज आउने क्रम बढेको छ । उनीहरूमा सर्टिफिकेट भएपछि जागिर सजिलै पाइन्छ भन्ने

धारणा देखिन्छ ।’


नेपालमा एमबीए राम्रो भए पनि बढ्दो प्रतिस्पर्धासँगै गुणस्तर खस्किँदै गएको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले बताए । ‘विद्यार्थी भर्नामै बढी प्रतिस्पर्धा भयो । सिकाइको गुणस्तर कम छ,’ उनले भने, ‘विद्यार्थीको समयअनुकूल पढाइ भएको छ । दिनुपर्ने विषयवस्तु दिन सकेका छैनौं । पढाइ एकदम कमजोर हुँदै गएको छ ।’ यद्यपि अहिलेसम्म त्रिभुवन विश्वविद्यालयले जसोतसो गुणस्तर कायम राख्न सफल भएको दाबी गरे ।


मूल्याङ्कन प्रणाली फितलो छ । जथाभावी पढाउने, परीक्षा गर्ने, मूल्याङ्कन गर्ने र नतिजा प्रकाशन गर्ने क्रम बढेको छ । कतिपय कलेजमा पाठ्यक्रम पनि डिटेल छैन । ‘कलेजहरूले यस्तो गर्छौं, उस्तो गर्छौं भनेर विज्ञापन गर्छन्,’ उनले भने, ‘व्यवहारमा त्यस्तो छैन । यसकारण कस्तो जनशक्ति तयार पार्‍यौं भनेर समीक्षा गर्नुपर्न बेला आएको छ ।’ विदेशमा पढेर आएका विद्यार्थीको अवस्था झन् दयनीय भएको उनले बताए ।


यद्यपि एमबीए बैंक तथा वित्तीय संस्था, बिमा र कर्पोरेट क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने स्रोत (कारखाना) हो । त्यसो त एमबीए पास गरेका सबै विद्यार्थीले बैंक र बिमा कम्पनीमै जागिर खान्छन् वा खानुपर्छ भन्ने पनि होइन । त्यसो हुँदा पनि हुँदैन । तर, बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले एमबीए गरेका विद्यार्थीलाई ‘रेडिमेट प्रडक्ट’ का रूपमा लिन्छन् । यसकारण ती कम्पनीले कर्मचारी भर्ना गर्दा पहिलो प्राथमिकता एमबीए पास गरेका विद्यार्थीलाई नै दिने भएकाले जागिरको सम्भावना बढी देखिएको हो । एमबीए पढेका विद्यार्थीमा विषयगत र प्रयोगात्मक ज्ञान बढी हुने भएकाले सिधै जिम्मेवारी दिन सकिने बैंकरहरू बताउँछन् ।

जोसिलो, कामलाई सम्मान गर्ने, काममा एकाग्रता, जिम्मेवारी राम्रोसँग बहन गर्नेलगायत गुण एमबीएका विद्यार्थीमा पाइने भएकाले उनीहरूलाई छिटो विश्वास गर्न सकिने उद्योगी व्यवसायीको धारणा छ । तुलनात्मक रूपमा यी विषय अध्ययन गरेका विद्यार्थीमा नेतृत्व लिने र प्रस्तुतीकरण क्षमता पनि राम्रो हुने उनीहरूको बुझाइ छ ।

प्रकाशित : पुस ५, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?