कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चासो एमबीए

गणेश राई

काठमाडौँ — हार्वार्ड विश्वविद्यालयले एमबीए कोर्स सञ्चालन गरेको शताब्दी पुगेको छ । नेपालका निम्ति भने यो विषय नयाँ हो । काठमाडौं विश्वविद्यालय (केयू) ले सन् १९९४ देखि एमबीए कोर्स पठनपाठन गर्दै आएको छ । उसले केयू स्कुल अफ म्यानेजमेन्टअन्तर्गत यो दुईवर्षे कोर्स सुचारु राखेको छ । केयूले कुनै क्याम्पसलाई एमबीए कोर्स सञ्चालन अनुमति दिएको छैन । 

चासो एमबीए

मुलुकमा विश्वविद्यालयको संख्या ११ पुगेको छ । तीमध्ये त्रिवि केयू, पोखरा, पूर्वाञ्चल, सुदूरपश्चिम, मध्यपश्चिम विश्वविद्यालयले बीबीए र एमबीएका कक्षा सुचारु राखेका छन् । त्यसैगरी शिक्षा मन्त्रालयको अनुमतिमा विदेशी विश्वविद्यालयको सम्बन्धनप्राप्त क्याम्पसले एमबीए पढाउँदै आएका छन् । हरेक वर्ष करिब ८ सय जनाले एमबीएको डिग्री हासिल गर्ने गरेको अनुमान छ । शुल्क भने प्रत्येक विश्वविद्यालय र कलेजको फरकफरक लिने गरेका छन् ।


मुलुकको जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले समेत एमबीए केही वर्षदेखि पठनपाठन गर्दै आएको छ । त्रिवि स्कुल अफ म्यानेजमेन्ट पनि केन्द्रीय विभागअन्तर्गत मात्र एमबीए कोर्स सुचारु राखेको छ । यद्यपि आंगिक क्याम्पसलाई एमबीए कोर्स सञ्चालन अनुमति दिनुपर्ने दबाब बढेको डिन प्राध्यापक डिल्लीराज शर्मा बताउँछन् ।


एमबीए वास्तममै कस्तो विषय हो त ? ‘कुनै पनि कर्पोरेट हाउस, बैंकहरूको भौतिक र प्राविधिक पूर्वाधार निर्माण मात्र चलेको हुन्न, त्यहाँ व्यवस्थापन कलाले भरिपूर्ण जनशक्ति आवश्यक रहन्छ,’ बैंकर अनिलकेशरी शाह भन्छन्, ‘त्यसनिम्ति व्यवस्थापन विज्ञानले दीक्षित व्यक्तिको भूमिका महत्त्वपूर्ण हुन्छ । व्यवस्थापन विज्ञानको जग भनेको बीबीए, एमबीए पढेका दक्ष जनशक्ति हुन् ।’ शाहकै शब्दमा विद्यार्थीले पढ्दै गर्दा कुनचाहिं संस्थाले मलाई जागिर दिन्छ भन्ने सोच्छन् । ‘तर के बिर्सिन्छौं भने संस्था त्यति राम्रो लाग्दैन, जति त्यो संस्थाको जनशक्तिको टिम होस्,’ शाह भन्छन्, ‘त्यो संस्था त्यसको भौतिक संरचना र कम्प्युटर प्रविधिले होइन, उसको जनशक्ति टिमले सशक्त बनेको हो । त्यो टिम छनोटले गर्ने हो ।’ व्यवस्थापन क्षेत्रमा दक्ष व्यवस्थापक चाहिन्छ । आर्ट अफ म्यानेजमेन्टलाई साइन्स अफ म्यानेजमेन्ट मान्छेमा लागू हुनुपर्छ । मान्छे फरक–फरक हुन्छ । दृष्टिकोण फरक–फरक हुन्छ । त्यसैले बैंक तथा वित्तीय संस्थाले एमबीए, बीबीए खोज्ने गर्छन् । जगचाहिं एमबीएले दिन्छ । टेक्निकल नलेजसाथै केस स्टडिज गरिन्छन् । इन्टर्नसिप पनि हुन्छ । सबै चीज हुने भएकाले एमबीएले बैंकिङ, कर्पोरेट क्षेत्रमा जनशक्ति उत्पादन गर्छ । विषयगत रूपमा चाहिने जनशक्ति उत्पादन नै एमबीए हो ।


‘मैले पाएको बीबीएस, बीबीए, एमबीएस, एमबीएमा हाम्रो नेपाली कलेजहरू विदेशी कलेजभन्दा केही कम छैनन्,’ बैंकर शाह थप्छन्, ‘नेपालमै काम गर्ने हो भने झन् राम्रो छजस्तो लाग्छ । किनभने उहाँले किताबको ठेली मात्रै होइन, नेपालको वातावरण, सत्य, तथ्यहरू पनि सिकिरहनुभएको हुन्छ । त्यही भएर सीमित शैक्षिक संस्थाबाट क्षमतावान दक्ष जनशक्ति उत्पादन गर्दै आउनुभएको छ ।’ एमबीए, एमबीएस गरेका जनशक्तिहरू नेपालको वित्तीय क्षेत्रमा मात्र होइन विदेशमा पनि काम पाइराखेको शाह उल्लेख गर्छन् ।

यसैगरी उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा मुलुकमा दक्ष एमबीएको आवश्यकता रहेको बताउँछन् । विश्वविद्यालयले एमबीएको अर्थ बुझेर सैद्धान्तिक र व्यावहारिक रूपमा नेतृत्व दिन सक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्ने उल्लेख गर्छिन् । ‘प्राक्टिकल र थ्योरिकल नलेज भएका, स्वदेशमै ज्ञान आर्जन गरेका एमबीए आजको आवश्यकता हो,’ सरकारी र निजी कम्पनीमा जनशक्ति पक्षेपण जरुरी रहेको उल्लेख गर्दै राणा भन्छिन्, ‘अब नेपालमा कस्तो उद्योगलाई कति जनशक्ति आवश्यक छ भनेर त्यसको सर्भे हुन जरुरी छ । जसका निम्ति हुमन रिसोर्स क्याप्सुललाई प्राथमिकता दिन सके मात्र उद्योगको महत्त्व बढ्छ ।’

एमबीए आफैं अब्बल विषय हो । जसले पढ्छ उसले आफ्नो लक्ष्य प्राप्तिका निम्ति प्रयत्न गर्छ नै । तर सरकारको विषयगत, क्षेत्रगत, रूपमा मानवीय जनशक्ति प्रक्षेपण गरी उत्पादित जनशक्तिलाई व्यवस्थापन गर्ने, युवा जनशक्तिलाई अब्बल अवसर दिने नीति लिन नसकेको देखिन्छ । राजनीतिक आस्थाका आधारमा, आफ्नो मान्छे हुनुपर्ने आधार, चिनेजानेको र कसैको सिफारिसकै आधारमा मात्र जनशक्ति छनोट परम्परालाई भने तोड्न जरुरी छ । यसतर्फ सरकार, निजी कर्पोरेट संस्था, बैंक तथा वित्तीय संस्थाहरूले सैद्धान्तिक पक्ष र व्यावहारिक पक्षमा सन्तुलन मिलाउन आवश्यक छ ।

प्रकाशित : पुस ५, २०७५ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?