२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

य:मरि माग्दै प्रेम गर्दैै

भक्तपुर — बादलले आकाश धमिल्याउँदै छ । जाडोको मौसम, घाम चर्किन पाउँदैन । जाडो मौसम सुरु भएसँगै नेवार समुदायमा य:मरि खाने चलन छ । नेपाल भाषामा य:मरिको अर्थ हो— मन पर्ने रोटी ।

य:मरि माग्दै प्रेम गर्दैै

मंसिर शुक्लपूर्णिमाको दिन नेवार समुदायमा य:मरि पकाएर खाने चलन छ नै, पहिले टोलटोलमा माग्न जाने पनि गरिन्थ्यो ।


रोचक के भने, त्यही य:मरि माग्ने बहानामा युवायुवतीबीच मायाप्रेमसमेत साटासाट हुन्थ्यो । प्रेमको यो

पाटो य:मरि पुन्ही (पूर्णिमा) को भिन्न विशेषता रहेको संस्कृतिविद् ओम धौभडेल बताए ।


उनका अनुसार, युवाहरू य:मरि माग्ने बहानामा मन परेकी युवतीको घर गई विभिन्न गीत गाउँदै जिस्काउने र प्रेम प्रस्ताव राख्ने गर्थे । यसरी य:मरि माग्दाका गीतहरू थुप्रै प्रचलनमा थिए, केही अझै छन् ।

य:मरि च्वामु, उकिइ दुने हामु

व्युम्ह ल्यासे, मब्युम्ह सितिकुती बुढी...

भक्तपुर क्षेत्रमा गाइने यो गीतको व्यंग्यात्मक अर्थ हुन्छ— चुच्चो य:मरिभित्र तिल छ, दिए तरुनी हुन्छ्यौ, नदिए कुप्री चाउरी ।


चित्रकार कृष्णगोपाल श्रेष्ठका अनुसार, यही गीतलाई साँखुमा ‘व्यु सा ल्यासे, म व्यु सा बुढी’ भनेर गाइने चलन छ । यसरी य:मरि मागेपछि युवतीले ढोकामा आएर दिने गर्छन् । नदिने मान्छे बूढी हुन्छे भनेर युवकहरूले जिस्काएपछि आफूलाई तरुनी देखाउन भए पनि महिलाहरू बाहिरै आएर य:मरि दिने चलन रहेको उनले बताए । युवती घरबाहिर निस्किएपछि युवकहरू फेरि अर्काे गीत गाउँछन् :


पो चुँ खाङा, मारि चिङगु खाङा

चिप सिगु खाङा, नउ जक मखाङा...


अर्थात्, पिठो मुछेको देखेँ, रोटी पकाएको देखेँ, जुठा भाँडा माझेको पनि देखेँ तर खाएको देखिनँ ।

यसरी गीतमा रोटी खाएको नदेखेको भन्दै युवतीलाई सँगै रोटी खुवाउने पनि गरिन्थ्यो । ‘अहिले यो चलन बिस्तारै हराउँदै गएको छ,’ संस्कृतिविद् धौभडेलले भने, ‘पहिलेको यस्तो चलनले त्यस बेलाको समाज कस्तो थियो कल्पना गर्न सक्छौँ । गीत गाएर, नजिक बोलाई सांकेतिक रूपमा खुलेआम मायाप्रीतिको प्रस्ताव राख्ने चलन राम्रो हो । अहिले पनि य:मरि माग्न जाने चलन छ । यो गीत थोरैले गाउँछन् ।’


उनका अनुसार, गीत धेरै पटक दोहोर्‍याई गाइसके पनि य:मरि पाइएन भने फेरि यसरी गाइन्छ :


छिमि न चिगु, जिमी न चिगु

हाला चुने ठाकु, य:मरि छग वियो...


अर्थात्, तिमीलाई पनि जाडो लागेको छ, मलाई पनि जाडो लागेको छ, गीत गाइरहन गाह्रो भयो, एउटा भए पनि य:मरि देऊ ।


य:मरि माग्न जाँदा यसरी नै नेवार युवायुवतीमा प्रेमकथा सुरु हुन्थ्यो । य:मरिले बसाएको प्रेमलाई बढाउन अन्य चाडवाड र पर्वहरूले पनि सहयोगी भूमिका खेल्ने गरेको धौभडेल बताए । पहिलेपहिले य:मरि पुन्हीको दुई महिनापछि आउने फागु पुन्ही अर्थात् होली पूर्णिमाको दिन सोही युवतीको घर गई युवकले यसरी गाउँथे :


झ्याले चुङ्गु टुकङ म

वहे ल्यासे जिट म

ए व जा ए मन या...


अर्थात्, झयालमा झुन्डयाएको सागको माला र झयालमा बसेकी केटी दुवै मलाई चाहिन्छ, नत्र खानै खान्नँ ।


त्यसपछि भक्तपुर, पाटन, काठमाडौंमा हुने जात्रापर्वको बेला भेटघाट बढदै जाँदा, मन्दिर घुम्ने क्रममा युवायुवतीबीच आत्मीयता बढदै जाने गथ्र्यो । धौभडेलका अनुसार, नवरात्रि नुहाउन जाने बेला बिहान(बेलुकासमेत भेटिई माया झनै गाढा भएपछि टीकाका दिन प्रेमविवाह गर्ने चलन थियो ।


अहिले पनि दशमीको दिन विवाह गर्नका लागि चिना हेराउनु पर्दैन भन्ने मान्यता छ । यसरी य:मरि पुन्हीबाट सुरु भएको प्रेमकथा विजया दशमीको दिनमा गएर सफल हुने गरेको उनले बताए ।


दान दिने चलन

य:मरि पुन्हीको दिन दान दिए धनसम्पत्ति बढ्ने मान्यता रहेको संस्कृतिविद् धौभडेलले बताए । किम्वदन्ती अनुसार परापूर्व कालमा मंसिर शुक्लपूर्णिमाकै दिन कुवेर राजा पाञ्चाल देशमा मगन्तेको रूप लिएर माग्न गएका बेला शुचन्द्र वैश्यको घर पुग्छन् ।


शुचन्द्र दम्पती दानी थिए, आफू भोकै बसेर पनि अरूलाई दान दिने । उक्त दिन मगन्ते भेषका कुवेरलाई वैश्यकी श्रीमतीले नयाँ लुगा लगाउन दिइन् । त्यसपछि कुवेरले खुसी भएर आफ्नो सक्कली रूप देखाए र ‘आजकै दिन चामलको पिठोभित्र चाकु, तिल राखेर य:मरी बनाई त्योसँगै एउटा बिमिरो राखेर ढुकुटीमा राखिछोड, चार दिनपछि पूजा गरेर निकाल्नू’ भनेर गए । चार दिनपछि उक्त ठाउँमा हेर्दा त्यो सबै य:मरी सुन भएको थियो ।


‘त्यो सुन पाएपछि शुचन्द्र वैश्य झनै धनी भएको कथा छ,’ धौभडेलले भने, ‘त्यही भएर यो दिन य:मरि बनाएर आफू पनि खाने, ढुकुटीमा पनि राख्ने र माग्न आउनेलाई दिने पनि गरिन्छ ।’


नेवार समुदायमा य:मरि पुन्हीको दिन स्त्री र पुरुषको प्रतीकका रूपमा घरको ढुकुटीमा दुई य:मरिलाई राखेर पूजा गरिन्छ । य:मरि पुन्हीको चार दिनपछि घरकी विवाहिता छोरी आई प्रसाद निकालेर मात्रै य:मरि पुन्ही सकिन्छ ।


त्यही य:मरि पुन्हीको दिन आफ्नो घरवरपरका मन्दिरमा ससानो य:मरि बनाएर पूजा गर्न लाने चलन अहिले पनि छ । चाकु र तीलको मिश्रणयुक्त य:मरिका साथै घरघरमा मास, मुगी, खुवा, किमा राखेर थरीथरी स्वादमा य:मरि बनाउने चलन रहेको कृष्णगोपालले बताए ।


स्वस्थकर य:मरि

नेवारलगायतका विभिन्न समुदायमा जाडोमा चाकु, तीलको लड्डु, तरुल, मासका परिकार खाने प्रचलन छ । सांस्कृतिक रूपमा चल्दै आएका खानेकुरा वैज्ञानिक रूपमा पनि फाइदाजनक भएको पोषणविद् डा. अरुणा उप्रेतीले बताइन् ।


‘नेवारहरूले य:मरिमा राखेर खाने चाकुमा आइरन र तीलमा क्याल्सियम हुन्छ,’ उनले भनिन्, ‘यसले जाडोको बेला शरीरलाई फाइदा गर्छ ।’ सांस्कृतिक रूपमा चल्दै आएका खानेकुरा वैज्ञानिक रूपमा पनि फाइदाजनक रहेको उनले बताइन् ।

प्रकाशित : पुस ७, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?