बजारको बीचमा परेवा दरबार

चन्द्र कार्की

यासोक, पाँचथर — बजारमा जता गयो उता परेवा । पाँचथरको कुम्मायक गाउँपालिकास्थित यासोक बजारवासीले एउटा सानो खोर बनाएर राखेका थिए । त्यसमा परेवा अटाएनन् ।

बजारको बीचमा परेवा दरबार

घरहरूका अग्रभागमा परेवाले गुँड लगाउने, बच्चा कोरल्ने गरे । स्थानीय रमेश थापाका शब्दमा महिनैपिच्छे तिनको संख्या बढ्या बढ्यै ।


यासोक बजारमा परेवा बढ्नुको अर्को कारण भने धार्मिकजनले चढाउने परेवा हुन् । आमनेसामने रहेका कुम्मायक र कुसायक डाँडामा चढाइने परेवा आहाराका लागि बजारतिर झरिहाल्छन् । परेवाको बिष्टाबाट घर र बजार क्षेत्रमा स्थानीयवासी नाक थुन्न बाध्य थिए । जति हटाए पनि परेवा आएर गुँड लगाउन छोड्ने होइनन् ।


गाउँपालिकाले यस पटक परेवा व्यवस्थापन गर्न दस लाख रुपैयाँ छुट्याएको थियो । त्यति बजेटमा परेवाको खोर बनाउन यासोक बजारमै रहेको मेगा बैंकको शाखा कार्यालयले साझेदारी गरिदियो । बजारको बीचमा बनिरहेको खोरलाई परेवा स्तम्भको आकार दिइने छ ।


गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले भने, ‘सम्भव भएसम्म बजारको वारिपारि पारेर गेटसहितको परेवा बस्न मिल्ने स्तम्भ निर्माण गर्छौं ।’ उनका अनुसार खोर बनाएर एकै स्थानमा पालन गर्न बजेट विनियोजन गरिएको हो । बजारवासीले गाउँपालिकामा परेवा व्यवस्थापनका लागि निवेदन गरेका थिए ।


धार्मिक महत्त्वका कुम्मायक र कुसायक डाँडामा दैनिक सयौं भक्तजन आउने गर्छन् । सबैजसो भक्तजनले परेवा चढाउने गरेका छन् । डाँडामा रहेको मन्दिर क्षेत्रमा पर्याप्त आहारापानी छैन ।


अब हेर्नै छ, परेवाहरू खोरमा बस्न आउलान् कि नआउलान् ?

प्रकाशित : पुस १२, २०७५ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?