हात्तीलाई दिव्य भोज

रमेशकुमार पौडेल

चितवन — हात्तीले बिहीबार नियमित काम गरेनन् । पर्यटकीय क्षेत्र सौराहाका करिब सय हात्ती बाघमारा चौरमा जम्मा भए । विभिन्न परिकार खाए । अरू दिनभन्दा फरक खान्की खाएर रमाए ।

हात्ती महोत्सवको दोस्रो दिन आयोजित वनभोजमा सहभागी हात्ती । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर

हात्ती महोत्सवको दोस्रो दिन वनभोज थियो । महोत्सव आयोजक संस्था क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार हात्तीले के खान्छन्, उनीहरूले कसरी खान्छन् भन्ने जानकारी दिने उद्देश्यले वनभोज गरिएको थियो ।

Citizen

पोखरा लेखनाथ–३० बाट महोत्सवमा आएका सरोज भुर्तेलले हात्ती यसअघि पनि देखेका थिए । यति धेरै हात्ती र उनीहरूले खाएको भने पहिलोपटक देखे ।

सुँडले खानेकुरा बटारेर खाएको उनले मज्जा माने । केरा, सुन्तला, बन्दा, उखुमध्ये रोजेर जे मीठो हो, त्यही खाँदोरहेछ भन्ने उनले थाहा पाए । ‘मैले त हात्तीले उखु रोज्दै खाएको पनि देखें,’ भुर्तेलले भने । वनभोजलाई पृष्ठभूमिमा पारेर थुप्रै स्वदेशी तथा विदेशी पर्यटकले
सेल्फी खिचे । १५ वर्षअघि सुरु भएको हात्ती महोत्सव सुरुमा दौडमात्र गरिन्थ्यो ।

हात्ती दौडाउनु उनीहरूको स्वभावअनुकूलको काम नभएको भनेर पशु अधिकारकर्मीले विरोध गरे । क्षेत्रीय होटल संघले यसलाई फरक शैलीमा आयोजना गर्न थाल्यो । ४ वर्षअघि हात्ती महोत्सव भनेर निरन्तरता दिँदा वनभोज थपियो ।

सौराहा खोरसोरमा रहेको हात्ती प्रजनन केन्द्रका प्रमुख बुधन चौधरीका अनुसार एउटा हात्तीलाई दिनमा १५ किलो धान, डेढ किलो भेली र २५ ग्राम नुन खानाका रूपमा दिने गरिन्छ । पराल वा खरमा थोरै धान, नुन र भेली राखेर डल्ला बनाइन्छ । यस्तो डल्लालाई कुची भनिन्छ । हात्तीको नियमित खान्की यही कुची हो । बेला–बेला हरियो घाँस र सिमलको डाले घाँस थप्ने गरिन्छ ।

‘उसले मन पराउने खान्की अरू पनि छन् । वनभोजमा राखिएका उसका प्रिय खाना हुन् । एक दिन सबै भेला भएर खान पाउँदा हात्तीसँगै मानिस पनि रमाउँछन्,’ चौधरीले भने, ‘वनभोजमा कुची त छँदै थियो, यसका साथै उखु, बन्दा, गाँजर, सुन्तला, केरा, फर्सीजस्ता १० प्रकारका खान्की थिए ।’

महोत्सव आइतबार सकिँदै छ । आयोजकका अनुसार शुक्रबार छावाको फुटबल, हात्ती पोलो र ‘एलिफेन्ट फास्ट वाक’ हुनेछन् ।

प्रकाशित : पुस १३, २०७५ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्

दुई हिरो

गायकको आफ्नो एउटा विधा हुन्छ तर अरु विधालाई पनि न्याय गर्न सक्नुपर्दोरहेछ ।– रवि
पहिले प्रचारको कमी थियो । अब जे गरे पनि हल्लाखल्ला हुन थालेको छ । जिन्दगी एक्कासि परिवर्तन भएको देखेर चकित छु ।–विजय
कान्तिपुर संवाददाता

काठमाडौँ — बहुचर्चित रियालिटी शो नेपाल आइडल गत साता सम्पन्न भयो । उस्तै कार्यक्रम द भ्वाइस अफ नेपाल त्यसअघि नै सकियो । यी दुई रियालिटी शोमा प्रतिस्पर्धीहरुले गायन कला निखार्न महिनौं मिहिनेत गरे । द भ्वाइसमा सीडी विजय अधिकारी विजेता बने भने रवि ओड नेपाल आइडल । यी दुईबारे सजना बराल लेख्छिन् :

टेलिभिजनका दुइटा रियालिटी शो भर्खर सकिए । द भ्वाइस अफ नेपालमा पोखराका सीडी विजय अधिकारी विजेता बनेको केहीपछि धनगढीका रवि ओड नेपाल आइडल चुनिए । उनीहरू दुवै सम्मान र सत्कार ग्रहणमा व्यस्त छन् । रविलाई भने मातृशोक परेको छ । संगीतमा तत्काल के गर्ने भन्ने निक्र्योल गरिसकेका छैनन् । तर, दुवैलाई केही त्यस्तो गर्ने चाह छ, जसले आफ्नो जितलाई प्रमाणित गरिदिओस् ।

‘अहिले त जित भएकै छैन नि,’ जितको कुरा गर्नासाथ रवि तर्किए, ‘मैले जितेको छैन । यो जित दर्शकको हो । मैले जित्नै बाँकी छ । वास्तविक लडाइ अब बल्ल सुरु हुनेवाला छ । त्यसमा कत्तिको खरो उत्रिन्छु, त्यसमै मेरो हार/जित सुनिश्चित हुनेछ ।’ आफूलाई अब्बल बनाउन रातदिन मिहिनेत गर्ने उनले बताए । द भ्वाइसका विजयको गाथा भने फरक छ । उनी वास्तविक लडाइँ लडेपछि रियालिटी शोमा आएका थिए । प्रतियोगिता जित्नु उनका लागि मिहिनेतको फल हो ।

विजयले संगीतमा कसरत गरेको आठ वर्ष भइसक्यो । रवि पनि यसअघि गाउँथे । तर, व्यावसायिक तरिकाले लागेका थिएनन् । बरु, एकताका म्यादी प्रहरी बने । दोहोरी साँझमा दोहोरी होइन आधुनिक गीत गाए । अब भने संगीत प्राण बनिसकेको रविको भनाइ छ । उनी दह्रो अठोटसाथ सांगीतिक मैदानमा उत्रिने तरखरमा छन् । विजय चाहिँ मैदानमा फर्किने खेलाडीमा पर्छन् । ‘त्यत्रो धेरै गाएँ, कम्पोज गरें तर चिनिएको थिइनँ,’ विजयले भने, ‘प्रशंसक कमाऊँ, सबैले चिनुन्, मेरा गीत खोजी–खोजी सुनुन् भनेर रियालिटी शोमा गएको थिएँ ।’ आफूले सोचेजस्तै भइरहेको भन्दै विजय सन्तुष्ट देखिए ।

रवि र विजय एक–अर्काका कार्यक्रम हेर्थे । आफ्नो प्रिय प्रतियोगी को थियो भन्नेचाहिँ खुलाउन चाहेनन् । सबै बराबर राम्रो भएको बताए । ‘नेपाल आइडलका प्रतिस्पर्धीबाट मैले तौरतरिकाहरू सिकें,’ विजय भन्छन्, ‘विक्रम भर्सटायल लाग्थ्यो । सुमितको टेक्निक राम्रो । रवि त उदितनारायण भइहाले । अस्मिता सुरिलो गाउँथिन् ।’ धेरै मत पाएर विजयी बनेका रवि पाश्र्व गायनमा जम्न सक्ने विजयको अड्कल छ । उनले गाएको लोकभाका पनि मीठो लागेको विजयले सुनाए ।

रवि स्वयंलाई पनि आफूले खेमराज गुरुङको गीत ‘वारि जमुना पारि जमुना...’ राम्रो गाएको थिएँ भन्ने लाग्दोरहेछ । सुदूरपश्चिमको मान्छेले सुदूरपूर्वको भाका गाउँदा छुट्टै अनुभूति भएको उनले सुनाए । ‘गायककोआफ्नो एउटा विधा हुन्छ तर अरू विधालाई पनि न्याय गर्न सक्नुपर्दो रहेछ,’ रविले भने, ‘भर्सटायल भएकाले नै मलाई द भ्वाइसमा सीडी विजयको जित योग्य लागेको थियो । उहाँले सबै विधालाई न्याय गर्न सक्नु हुन्छ । भोकल टेक्सचर राम्रो छ ।’ द भ्वाइसमा सुदूरपश्चिमकै शैलु सिंह पनि आफूलाई मन पर्ने गरेको रविले खुलाए ।

टीभीमा आउनुअघि रविले सुदूरपश्चिमलाई काठमाडौंले हेप्छ भन्ने सुनेका रहेछन् । तर, आइडलभित्र त्यस्तो अनुभव गर्नु नपरेको उनले बताए । ‘म आफैं पनि सबैसँग घुलमिल हुन गएँ,’ उनले भने, ‘टाढाको, गरिब मान्छे भनेर आफूले आफूलाई सानो ठान्नु हुँदैन । अरूले हेप्ला भनेर आफैं तर्किनु भएन ।’ अरू ठाउँका प्रतियोगी र दर्शकले समेत आफूसँग सुदूरपश्चिमेली भाषा र देउडा सिक्न खोजेको उनको भनाइ छ । देउडामा आकर्षण देखेर उनी मनमनै दंग परेका रहेछन् ।

क्षेत्रीयता र गरिबीमाथि हुने प्रतिक्रियालाई चाहिँ रविले मनन गर्दैछन् । नकारात्मक प्रतिक्रियाले नै आफूलाई मिहिनेत गर्न झक्झकाउने ठानेका छन् । विजय भने पछिल्लो पटक नकारात्मक प्रतिक्रियादेखि आत्तिए । झूटो समाचार फैलिएपछि उनी तनावमा परे । अब भने कुरा प्रस्ट भइसकेको छ । प्रतियोगिता जितेबापत पाएको २५ लाख रुपैयाँले घर बनाउँदा लिएको ऋण तिरेर ढुक्कले संगीतमा लाग्ने उनले बताए । ‘पहिले प्रचारको कमी थियो,’ उनले भने, ‘अब जे गरे पनि हल्लाखल्ला हुन थालेको छ । जिन्दगी एक्कासि परिवर्तन भएको देखेर चकित छु ।’

द भ्वाइसमा विजयले दुईजना कोचको संगत गर्न पाए । सुरुमा उनी प्रमोदको टिममा थिए भने पछि उनलाई दीपले लिए । प्रमोदले नछोडेको भए आफू उहिल्यै बाहिरिने विजय बताउँछन् उनी । ‘उहाँको टिममा भोट धेरै पाउने प्रतियोगी हुनुहुँदोरहेछ भन्ने पछि थाहा भयो,’ उनले भने, ‘उहाँले अर्कोलाई रोजेपछि म झन्डै बाहिरिएको थिएँ । त्यही बेला दीप सरले मलाई लिनुभयो । अन्तत: असफलता नै मेरो सफलताको कारण बन्यो ।’ दुई कोचसँग रहनु दुवै हातमा लड्डु मिलेजस्तो भएको उनले बताए ।

विजय अचेल काठमाडौंतिरै छन् । रविचाहिँ पछिल्लो साता घरतिरै थिए । आमा बुधबार दुर्घटनामा परिन् । अरू ६ सदस्य छन् घरमा । बुबा, तीन जना भाइ, एक दिदी र एक बहिनी । बुबा भारतको गुजरातमा बस्छन् । ग्रयान्ड फिनालेमा बुबालाई काठमाडौं ल्याउने रविको चाहना अधुरै रह्यो । ‘उहाँ वाचम्यान (गेट पाले) हुनुहुन्छ,’ उनले भने, ‘छुट्टी मिलेन । मैले जितेपछि उहाँलाई पनि उता सम्मान गरिएछ । बुबा खुसी हुनुहुन्छ ।’ वृद्ध बाबुलाई घर बोलाएर अब भने आफूले नै सारा जिम्मा लिने रविको योजना छ ।
विजयको परिवार सानो छ । दुई सन्तान अनि पत्नी । पत्नी पनि गायनमै छिन् । बानेश्वरमा उनको म्युजिक कम्पनी छ । सीडीएम म्युजिक क्रिएसनलाई पोखराबाट काठमाडौं ल्याएको पाँच वर्ष भयो । यसलाई राम्ररी चलाउन सकेका छैनन् । अब भने विस्तार गर्ने सोच छ । ‘मिहिनेतत पहिले पनि गर्थें,’ विजयले भने, ‘स्थान पाउन र परिचित हुन मात्रै सकेको थिइनँ । अब जितको साख जोगाउनु छ ।’ रविले पनि विजयकैकुरा दोहोर्‍याए ।

प्रकाशित : पुस १३, २०७५ ०७:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्