कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

कलासँगै इतिहास

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आफ्ना सिर्जनाका छेउमा उभिएका हरिओम मेहता कोइरी । 
सुनीता साखकर्मी

काठमाडौँ — ‘तपाईं इन्डियन हो ?’ श्याम वर्णका देखेपछि काठमाडौंका प्राय: ले कलाकार हरिओम मेहता कोइरीलाई प्रश्न गर्थे । उनको जन्मथलोबारे सोध्ने विकल्प अन्य पनि थिए ।

कलासँगै इतिहास

जस्तै– ‘तपाईंको घर कहाँ हो ?,’ ‘कहाँबाट आउनुभएको ?’ तर सिधै ‘भारतीय’ भनेर जसरी उनलाई सोधिन्थ्यो, त्यसले उनको राष्ट्रियतामाथि नै प्रश्नचिह्न खडा गरिदिएजस्तो लाग्थ्यो हरिओमलाई ।


सिरहामा जन्मेको भन्दा मानिसले हेर्ने नजरले उनको मनमा ‘म को हुँ’, ‘मेरो पहिचान के हो’ लगायत प्रश्न थुप्रिन थाल्यो । त्यसपछि कलाकारितासँगै उनले पहिचान र इतिहास खोतल्न थाले । करिब ३ वर्षको मिहिनेतपछि उनले जन्मथलोसँगै आसपासको इतिहास पत्ता लगाए र केहीलाई उनले क्यानभासमा उतारे ।


बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा उनले ‘लिरिकल एक्जिस्टेन्स’ शीर्षकमा तिनै कलाकृतिलाई प्रदर्शनीमा राखेका छन् । कलाकृतिको साथमा तिनसँग जोडिएको इतिहास पनि प्रदर्शनीमा छन् । ग्यालरी छिर्नेबित्तिकै सुनिने मिथिला संगीत, भुइँमा देखिने चामलको पिठोबाट बनेको अरिपनले तराई पुगेको भान दिइरहन्छ । भित्तामा आधुनिक शैलीमा उनले तराईको इतिहासलाई उतारेका छन् ।


‘तराईबाट काठमाडौं आउँदा वर्णको आधारमा कुरा गरिन्थ्यो, मलाई हेरेर भारतीय हो ?’ भनेर प्रश्न गर्थे,’ उनले भने, ‘कोइला ताप र चापले हीरा बन्दो रै’छ । उनीहरूको त्यो प्रश्नले मलाई इतिहासको जानकार बनाएको छ । मेरो पहिचान चिनाउन मैले प्रदर्शनी गरेको हुँ ।’


उनले तराईको विविध रंगीन संस्कृतिबाट अध्ययन सुरु गरे । काम गर्दा सामाजिक, आर्थिक र राजनीतिक पक्ष, प्राकृतिक प्रकोप, १८१६ मा भएको त्रिपक्षीय सन्धि अनि सन्धिविरुद्ध भएका मधेस आन्दोलन । त्यसलाई दबाउन गरिएका प्रयास, सिम्रौनगढको इतिहास फेला पारे ।


खोजीकै क्रममा उनले १०९७ देखि १३२६ सम्म सिम्रौनगढको सभ्यता धनी रहेको र त्यसको प्रभाव मल्ल राजामा परेको पत्ता लगाए । त्यसको आर्टिफ्याक्ट्स, लालित्यलाई मल्ल राजाले आफ्नो आर्टमा प्रयोग गरेको रहेछ । तर यो सभ्यता १३२६ गयासुदीप दुग्लकले आक्रमण गरेपछि नासियो । तर अहिले पनि भग्नावशेषहरू पाइन्छन् । २५ सय वर्षअघिको तेराकोटाबाट बनेको महाभारतकालीन मूर्ति फेला पारे ।


नदीको छेउमा बाँध बनाउँदा भेटेको, कुर्था लगाएका महिलाहरू, पर्खालहरू भेट्टाए । हरिओमले आफ्नो मात्रै नभई आसपासका क्षेत्रको पनि इतिहास खोतले । उनले ३०० देखि ५०० बीसीबीचको समयमा सप्तरीको कनकपटी सभ्यताको अवशेष भेटिएको दाबी गरे ।


सिरहाकै खप्टेडाँडामा भेटिएका घाँटीमा लगाउने माला, ढुंगाको हतियार, खैरो रङको माटोको भाँडा पुरातत्त्व विभाग तथा पुरातत्त्वविद्ले नियोलेथिक एज (ढुंगे युग) को भएको जनाएका छन् । उनले भने, ‘अरू आर्ट फर सेल, आर्ट फर सोसाइटी गर्छन्, मैले आर्ट फर आइडेन्टिटी गरें ।’


कला विज्ञानका डा. रामकुमार भौकाजीका अनुसार हरिओमले सिम्रौनगढ, मुर्तिया, मुखियापट्टी, खप्टेडाँडा, कनकपट्टीलगायत स्थानमा गरिएको उत्खननमा प्राप्त ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक र धार्मिक महत्त्वका कला तथा सांस्कृतिक सम्पदालाई कलाकृतिका रूपमा जगेर्ना गरेका छन् । उनको सिर्जनाको पृष्ठभूमिमा तराईको पुरानो नक्सा, सभ्यताको उतारचढाव, नदी तथा मिथिला आर्टको मिश्रण छ ।


हरिओमले कलामा कलाकारको पहिचान चित्रण हुनुपर्नेमा जोड दिन्छन् । उनी भन्छन्, ‘नेपालमा आर्टिफ्याक्ट्सलाई प्रयोग गर्ने चलन खासै छैन । मेरो कलामा मेरो पहिचान हुनुपर्छ । नत्र म छुट्टै, मेरो इतिहास छुट्टै हुन जान्छ ।’


समाजले आर्टिस्टलाई डोर्‍याउने नभई आर्टिस्टले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ भन्ने उनलाई लाग्छ । इतिहास जानेर गरेको पेन्टिङ शक्तिशाली हुनेमा उनी विश्वास गर्छन् । उनका पेन्टिङमा पहिलेको मात्रै नभई समाजमा घटिरहेका घटना पनि देखिन्छन् ।


पेपर फोल्डिङमा दशगजा किल्ला र किल्लामाथि लालीगुराँस र कमलको फूल बनाउँदै उनले भारत र नेपालको सम्बन्ध पेपरमा मात्रै नभई फूल जस्तै सुमधुर हुनुपर्छ भन्ने सन्देश दिएका छन् । प्रदर्शनी मंगलबारसम्म चल्नेछ ।

प्रकाशित : पुस १६, २०७५ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?