नेपाली चित्रलाई १७ लाख 

सुनीता साखकर्मी

काठमाडौँ — सन् २०१३ मा रेल चढेर चित्रकार उमाशंकर शाह जनकपुरदेखि भारतको जयनगर हुँदै दिल्ली जाँदै थिए । खजुरी स्टेसनमा रेल एक घण्टा रोकियो । उनी उत्रिएर प्लेटफार्ममा टहल्न थाले ।

चित्रकार उमाशंकर शाह र उनका सिर्जना

उनको नजर रेलका पुराना इन्जिन र डिब्बाहरूमा परे । कुनैको पाङ्ग्रा छैन भने कुनैमा धुवाँ निस्कने ठाउँ । उनले तिनै डिब्बालाई केन्द्रमा राखेर तिनमा परम्परा र आधुनिकताको सम्मिश्रण गर्दै चार वर्ष लगाएर ‘नेपाल जनकपुर–जयनगर रेलवे’ (एनजेजेआर) सेरिजमा पेन्टिङहरू बनाए ।

शाहको त्यही सेरिजका पाँच पेन्टिङ हालै चीनमा कल्चर आर्ट इन्भेस्टमेन्टले गरेको ‘सुयुआन इन्टरनेसनल प्रिन्ट’ कम्पिटिसनमा उत्कृष्ट बन्दै १५ हजार अमेरिकी डलर (झन्डै १७ लाख रुपैयाँ) पुरस्कारको हकदार बनेका छन् ।

नौ जनाको जुरीले विश्वभरिका ६ सय २८ कलाकारका ३ हजार कलाकृतिमध्येबाट शाहको पेन्टिङलाई उत्कृष्ट ठहर्‍याएको हो । पुरस्कार २०१९ को मेमा चीनमै वितरण गरिने शाहले सोमबारको भेटमा जनाए ।

रेल–चित्र साइनो
जनकपुरमा जन्मेका शाहको बाल्यकाल त्यहीँका चोक, बजार र स्टेसन डुल्दै बित्यो । पहिले जनकपुरमा भारतको जयनगरसम्म चल्ने रेल थियो । धुवाँको मुस्लो फाल्दै ‘सीता’, ‘रामा’, ‘गुहयेश्वरी’, ‘कृष्ण’ जस्ता शब्दहरू लेखिएको इन्जिनसहित रेल उनको गाउँसम्म आइपुग्थ्यो ।

विद्यालयबाट छुट्टी हुनेबित्तिकै प्रत्येक दिन स्टेसनमा गइहाल्थे उनी । अनि रोकिइरहेको रेलको इन्जिनलाई छोएर तुफान भाग्थे । रेल गुड्ने बेला एकछिन् चढेर रेलको रफ्तार तेज भएसँगै उत्रिने उनको दिनचर्या नै भएको थियो ।

उनी मामाघर जानुपर्दा यात्रा रेलबाटै हुन्थ्यो । स्टेसनमा हातले लेखेको फिल्मका ब्यानरहरू टाँसिएका हुन्थे । छापेको जस्तै गरी ब्यानरहरू हातले कसरी लेखियो, चित्र कसरी बनाइयो होला भनेर उनी रनभुल्ल पर्ने गर्थे । बिस्तारै उनमा पोट्रेट पेन्टिङ गर्न रहर जाग्यो ।

हुन त हजुरआमा र आमालाई घरको भित्तामा प्राकृतिक रंगले बुट्टा कोर्न साथ दिँदा नै कलाको सुरुवात भइसकेको थियो । स्टेसनमा देखिएका व्यानरका चित्रले उनलाई आधुनिक पेन्टिङ बनाउन उत्प्रेरित गरिरह्यो । अनि उनले त्यहीलाई कपी गर्दै पेन्टिङ बनाउन थालेका थिए । सीतामढीमा प्लस टु पढाइपछि उनी भारतकै बनारसमा कला विषय पढ्न गए ।

जब उनले लामो कालखण्डपछि खजुरी स्टेसनमा ‘सीता’, ‘रामा’, ‘गुहयेश्वरी’, ‘कृष्ण’ जस्ता शब्द अंकित त्यही रेल इन्जिन देखे, उनी पुरानो समयतिर फर्किए । ‘इन्जिनमा लेखिएका शव्दहरू देखेरै मैले त चिनिहालेँ,’ उनले भने, ‘नेपालको पुरानो रेल त्यो रुपमा देख्दा म छक्क परेँ ।’

काठमाडौं बस्न थालेको २० वर्षपछि २०१३ मा उनले नेपाली रेल चढेका थिए । त्यति बेलासम्म नेपालमा रेल चलिरहेकै थियो । तर २०१४ पछि मर्मत गर्ने भन्दै रेल बन्द अवस्थामा छ । पुरानो गाउँमा आउने रेल भारतमा देख्दा २० वर्षअघिका घटनाहरू दिमागमा एकपछि अर्काे गर्दै आउन थाले । जयनगरबाट दिल्लीसम्म १८ घण्टाको यात्रामा उनको मनमा तिनै कुरा खेलिरहे ।

दिल्लीबाट फर्किएपछि उनी त्यही स्टेसनमा चारपाँच पटक गए । फोटाहरू खिचे । फिल्ड स्टडी, डिटेलिङलाई मनन गर्दै त्यहाँको संस्कृति, रहनसहन पनि विस्तृत रूपमा बुझे ।

उनले एचिङका माध्यमबाट तिनलाई कोर्न थाले । यथार्थमा रेलका पाङ्ग्रा नभए पनि पेन्टिङमा पाङ्ग्रा थपे, धुवाँ जाने ठाउँ बनाए । उनले थप्ने काम मात्रै गरेनन्, आधुनिकताको लेपन पनि लगाइदिए । रामले सीतालाई विवाहपछि रेलमै राखी अयोध्या लाँदै गरेको देखाए, राधा विवाह गरेर रेलमै नेपाल आइरहेको देखाए । २०१४ मा सुरु गरेको प्रोजेक्ट २०१६ मा सकियो ।

यसबीच उनी बिरामी पनि परे । औँला कक्रक्क परे, सर्टको टाँकसम्म खोल्न नसक्ने भए । सुगर बढ्यो, प्रेसर घटेन । विश्वविद्यालयबाट एकवर्षे छुट्टी लिएर उनी फिजियोथेरापी गराउनतिर लागे । अनि बल्ल जीवन सामान्य अवस्थामा फर्किंदै गयो ।

परम्परा–आधुनिकता फयुजनको प्रशंसा
शाहले यो सेरिजलाई पहिलो पटक भारतको ह्याबिटयाट सेन्टरमा ‘रोटी बेटी’ शीर्षकमा प्रदर्शन गरे । उनका अनुसार, यो सेरिजमार्फत भारतसित नेपालको तराई क्षेत्रको रोटी–बेटी सम्बन्धलाई देखाउन खोजिएको छ ।

भारतमा उनको पेन्टिङ उत्कृष्ट भयो । तर त्यहाँ सिटी स्केप मात्रै बिक्री भयो, रेलको सेरिज बिकेन । ‘एकथरी काम गरिरहेकाले अर्काे गर्दा नबिक्ने डर हुन्छ, तर त्यसो भयो भन्दैमा नयाँ प्रयोग गर्न छोड्न हुन्न,’ उनले भने, ‘कलाको कन्सेप्ट परिवर्तन गर्दै एक्स्पेरिमेन्ट गर्दै लाँदा राम्रो हुन्छ ।’

चीनमा ‘रेलवे स्टेसन अफ जनकपुर’, ‘मिथिलानी’, ‘जयनुल बैण्ड’, ‘अङ्गीकृत नागरिक’ लगायत पाँच शीर्षकका पेन्टिङ पठाइएका हुन् । सबै पेन्टिङ ३० इन्च बाई ८० इन्चका छन् ।

‘मिथिला कलाको परम्परा र संस्कृतिको जराका साथै आधुनिकतालाई समेत समेटेकाले नै चीनमा पनि मेरो पेन्टिङ पुरस्कृत भएको हो,’ उनले भने ।

चीनको जुरीमा रहेका बेल्जियमको राजकीय ललितकला एकेडेमीका डिन डयानियल स्लुथले शाहको पेन्टिङको प्रशंसामा भनेका छन्, ‘परम्परा र आधुनिकताको सम्मिश्रण गर्ने उनको कौशल राम्रो छ ।’ अर्का सदस्य जर्मनीको ट्रायर विश्वविद्यालयकी प्राध्यापक अन्ना बुलान्डा–पान्टालाक्सीले नेपाली कलाको प्रशंसा गर्दै शाहले पेन्टिङमा प्रिन्ट मेकिङको प्रविधि प्रयोग गर्दै आफ्नो मौलिक कलालाई उतार्नु अभूतपूर्व रहेको दाबी गरेकी छन् ।

अहिले उत्तरआधुनिकताको समय भन्दै चित्रहरूले अमूर्त कला बनाइरहेको उल्लेख गर्दै शाहले भने, ‘उत्तरआधुनिकतावादले पनि स्थानीय पहिचान हेर्छ । त्यसैले कलाकारले आफ्नो स्थानीयता र मौलिकतालाई सम्मान गर्नु जरुरी छ ।

उत्तरआधुनिकतावादले पनि समाजको पुरानो जराको रूपमा रहेको परम्परा, संस्कृति र रहनसहनलाई छोडेको छैन । प्राय पेन्टिङ आधुनिक मात्रै भइदिन्छन्, या त विदेशीको कपी । त्यो वास्तवमा नाङ्गोजस्तै हुन्छ । ठाउँठाउँको कुरा आएपछि कलामा विविधता आउँछ ।’

शाहले २०१३ पछि मात्रै भारतीय कला कलेक्टरको दबाबमा फाट्टफुट्ट प्रतियोगिताहरूमा पेन्टिङहरू पठाउन थालेका हुन् ।

त्यसयता थुप्रै विदेशी प्रतियोगिताहरूमा उनका पेन्टिङ उत्कृष्ट भइसकेका छन् ।

त्यसपछि चीनमा अवार्ड पाएको घोषणासँगै चीनका दुई म्युजियमले उनका कृति किनिसकेका छन् ।
‘म एउटा झोला बोकेर काठमाडौं छिरेको मान्छे, आएको दुई–चार सालमै मैले घर बनाएकै हो, गाडी किनेकै हो,’ उनले भने, ‘मैले ७ सयदेखि २ हजार रुपैयाँसम्म पेन्टिङ बेचेँ । अहिले २ लाखभन्दा कममा मेरा पेन्टिङ बिक्दैनन् । मेहनत गरेर बनाएका पेन्टिङ बिक्री हुँदा रैछन् त !’

अहिले विश्वव्यापीकरणको कन्सेप्ट बाहिर आइरहेका बेला चित्रकारहरूले पेन्टिङको बजारका लागि नेपालमै सीमित रहनुपर्छ भन्ने शाहलाई लाग्दैन । ‘राम्रो काम गर्‍यो भने घर बसीबसी आफ्ना कला संसारभर पुर्‍याउन सकिन्छ,’ उनले भने, ‘कलाकारले निराश नभई कडा मिहिनेत गरिराख्नुपर्छ ।’

प्रकाशित : पुस १७, २०७५ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जेलको जमानत

सम्पादकीय

काठमाडाैं — आपराधिक कार्यमा संलग्न ठहरिएका व्यक्तिका लागि सुधारगृह हो कारागार । आफ्नो अपराध कर्ममा पश्चात्ताप गरून्, चरित्र तथा आनीबानी सुधारून् र समाजमा पुन:स्थापनाका लागि योग्य बनून् भनेर उनीहरूलाई जेलखाना राखिन्छ ।

तर हाम्रा जेलहरूको अवस्था ठीक उल्टो छ । कारागार कैदीका लागि सुधारिने होइन, थप अपराध सिक्ने थलो सरह भइरहेका छन् ।

मुलुकका ७२ जिल्लाका कारागारमा २० हजारजति कैदी विभिन्न अपराधमा सजाय भुक्तान गरिरहेका छन् । दिनहुँ कति थपिन्छन्, कति कैद भुक्तान गरेर बाहिरिन्छन् । बाहिरिनेमध्ये कति आचरण सुधारेर सामान्य जीवनमा फर्केका छन्, कति फेरि अपराधमै लागेका छन् । केही कारागारभित्रै भएको चिनजानपछि अरू अपराधका तानाबाना बुन्छन् ।

यिनीहरूका लागि अपराध सिक्ने पाठशाला र सम्बन्ध विस्तार गर्ने थलो बन्दै छ कारागार । नख्खु जेलभित्र अभिषेकराज सिंहले भक्तबहादुर सुनुवारलाई ‘विषादी खुवाएर गरेको हत्या’ हाम्रो जेल बुझाउने एउटा उदाहरण हो ।

फौजदारी कानुन उल्लंघन गर्ने व्यक्तिलाई कारागारमा राखेर समाजमा पुन:स्थापनाका लागि योग्य बनाउनु राज्यको दायित्व हो । यस्तो सुधारका लागि त्यहाँ उनीहरूमाथि उचित व्यवहार र निगरानी आवश्यक हुन्छ । तर हाम्रा कैदखाना त्यसअनुकूल छैनन् ।

जेल सुधारका लागि विभिन्न अध्ययन समिति बने । राणाकालमा २००५ सालमै पनि जेल सुधार आयोग बनेको थियो । त्यसपछि २००८ सालमा जेल सुधार आयोग र १६ मा जेल सुधार समिति बने । अघिल्लोका अध्यक्ष सुवर्णशमशेर थिए, पछिल्लोका गणेशमान सिंह । पञ्चायतकालमा पनि कारागार सुधारका लागि केही कार्यदल बने ।

पञ्चायतकालमा अहिलेका धेरै नेता जेल बसेका थिए । बहुदलीय व्यवस्था पुन:स्थापनापछि जेल सुधार एउटा आम एजेन्डाजस्तै बन्यो । २०४७ सालमा बद्रीराम भण्डारीको अध्यक्षतामा कारागार सुधार समिति बन्यो । २०५३ मा उनकै अध्यक्षतामा फेरि कारागार भौतिक व्यवस्थापन अध्ययन कार्यदल गठन भयो । त्यसले देशभरका कारागार अध्ययन गरेर आवश्यक सुधारका लागि प्रतिवेदन दियो । त्यसयता २०६३ मा कारागार सुधार समिति, २०६४ मा कारागार सुधार उच्चस्तरीय सुझाव समिति र २०६८ मा कारागारको भौतिक र व्यवस्थापकीय सुझाव कार्यदल बने । यी समितिहरूले आफ्ना प्रतिवेदन नेपाल सरकारलाई बुझाएका छन् ।

गत वर्ष मात्रै महान्यायाधिवक्ताको कार्यालयले ३१ वटा कारागार अध्ययन गरी हिरासत तथा कारागार अनुगमन प्रतिवेदन तयारपारेको छ । समय–समयका यी प्रतिवेदन त्यसै थन्किएका छन् । कारागारको भौतिक पक्ष होस् या कैदीको आचरण सुधार, अधिकांशसमस्या वर्षाैंदेखि उस्तै छन् ।

कारागार बस्दा कैदीहरूमा समाजमा पुन:स्थापनाका लागि आवश्यक योग्यता, सीप, नैतिकता र आत्मविश्वास विकास हुन जरुरी हुन्छ । अहिलेको प्रबन्धको भरमा कैद भुक्तान गरी निस्कँदा कैदीहरू समाजमा पुन:स्थापित हुन नसक्ने अध्ययन प्रतिवेदनहरूको निचोड छ ।

कारागारहरू जीर्ण छन् । भौतिक अवस्था राम्रो छैन । क्षमताभन्दा अधिक कैदीबन्दी छन् । धेरैजसोमा सुत्नका लागि खाटसमेत छैन । कतिपयमा निर्धारित कर्मचारी दरबन्दी छैन । कैदी र थुनुवा एकै ठाउँमा राखिएका छन् । कम उमेरका पनि त्यहीँ छन् । कतिपय कारागारमा सीप विकास एवं रोजगारमूलक कार्यको अवसर छैन ।

महान्यायाधिवक्ता कार्यालयको प्रतिवेदनअनुसार थुनामा रहेका ऊर्जाशील जनशक्तिको उपयोग गर्न राज्यले न्यूनतम पारिश्रमिक तोकी विकासमूलक वा रोजगारमूलक कार्यमा परिचालन गर्नुपर्छ । थुनामा रहेकालाई श्रममा लगाउनसके त्यसको चौतर्फी फाइदा पुग्छ । काम नगरी बस्दा उत्पन्न हुने कुण्ठा र नैराश्य अन्त्य हुन्छ । तसर्थ कैदीको सीप, क्षमता र रुचिअनुसार योजना निर्माण गरेर अघि बढ्न सकिन्छ, आवश्यक तालिम व्यवस्था गरेर । कच्चा पदार्थ आपूर्तिदेखि उत्पादित सामग्री बिक्रीवितरणका लागि बजारको व्यवस्था मिलाउनुपर्छ ।

कैदी–बन्दीलाई अनुशासन, आचरण र चरित्र सुधारसम्बन्धी नियमित प्रशिक्षण अपरिहार्य छ । जेल वास्तवमै सुधारगृह बने मात्रै न्यायिक समाज स्थापना हुन्छ । त्यसका लागि कारागार व्यवस्थापन कैदीको चरित्र सुधारिदिने असल साथी बन्न जरुरी छ ।

प्रकाशित : पुस १७, २०७५ ०७:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT