१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

३ कक्षा पास गरे भत्ता

प्रतिविद्यार्थीलाई वार्षिक ३६ हजार ४ सय रुपैयाँ 
दिप्ती सिलवाल

पर्वत — कक्षा ३ सम्म पनि नपढी बालबालिकाले विद्यालय छाड्ने समस्या बढेपछि पर्वतको एक विद्यालयले दिवा खाजा, पोसाक, शैक्षिक सामग्रीबाहेक विद्यार्थीलाई भत्तासमेत वितरण गर्न थालेको छ ।

३ कक्षा पास गरे भत्ता

कुश्मा नगरपालिका–१ पाङको मालढुंगामा सञ्चालित श्रमिक प्राथमिक विद्यालयले कक्षा तीन उत्तीर्ण गरी ४ मा भर्ना भएका विद्यार्थीलाई भत्ता दिन थालेको हो ।

प्रधानाध्यापक तेजेन्द्रप्रसाद आचार्यको पहलमा गत वर्षदेखि प्रतिविद्यार्थी वार्षिक ३६ हजार ४ सय रुपैयाँ भत्ता दिन थालिएको हो । यस वर्ष ५ विद्यार्थीले भत्ता पाइरहेका छन् । कक्षा ३ पास गरेका आक्रोश माझी, सीता माझी, निर्मा माझी, कृष्ण माझी र अञ्जना माझीले गत असोजमा पहिलो किस्ताबापत १८ हजार ६ सयका दरले भत्ता बुझेका हुन् ।

भत्ता पाउन थालेयता बालबालिका विद्यालयमा नियमित छन् । ‘छोराछोरी घरमै बसेर फाइदा हुन्छ,’ अभिभावक पवित्रा माझीले भनिन्, ‘पढ्न गएपछि बिहान–बेलुका उनकै सुसार गर्नुपर्‍यो ।’ भत्ता पाएपछि भने नियमित विद्यालय पठाएको उनले बताइन् । कोरियाको एक विद्यालयका बालबालिकाले संकलन गरेको रकम वर्षमा २ किस्तामा आउने गरेको शिक्षिका गोलकुमारी श्रेष्ठले बताइन् ।

विद्यार्थीलाई भत्ता दिने व्यवस्था भने काठमाडौंका सन्दीप चापागाईंले मिलाएका हुन् । ‘३ पास गरेपछि बस चढेर बाग्लुङ जानुपर्ने । बस भाडा नभएर धेरैले पढाइ छोडे,’ आचार्यले भने, ‘भाडा तिर्ने पैसा भए छाक टार्ने परिवार छन् । उनीहरूलाई पढाइको महत्त्व छैन ।’ धेरै बालबालिकाले पढाइ बीचैमा छाडेपछि बस भाडा र चाडबाड खर्चसमेत पुग्ने गरी भत्ता दिने व्यवस्था मिलाइएको उनले बताए ।

मालढुंगामा बसोबास गर्ने करिब सय परिवारका बालबालिकालाई लक्षित गरी २०६२ सालमा खुलेको विद्यालयमा कक्षा ३ भन्दा माथि पढाइ हुँदैन । ३ कक्षा पास गरेपछि माथिल्लो कक्षा पढ्न बाग्लुङ या पाङ पुग्नुपर्छ । पाङ पुग्न करिब एक घण्टाको उकालो चढ्नुपर्छ ।

साना बालबालिका एक घण्टाको उकालो चढेर पाङ पुग्न सक्दैनन् । बाग्लुङसम्म पुग्न पोखरा–बाग्लुङ राजमार्गमा सवारीसाधनको सुविधा त छ तर, बस चढ्ने खर्च अभाव भएपछि बालबालिकाका लागि यस्तो सुविधा मिलाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मैना गुरुङले बताइन् ।

कालीगण्डकी किनारमा रहेको मालढुंगामा १ सय ११ सुकुम्बासी परिवारको बस्ती छ । सबै परिवारले कालीगण्डकीमा गिट्टी कुटेर तथा बालुवा निकालेर जीविकोपार्जन गर्दै आइरहेका छन् । श्रमिक परिवारका बालबालिकालाई पठनपाठन गराउन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले २०६२ सालमा विद्यालय निर्माण गरिदिएको थियो ।

तर भवन भने साँघुरो छ । भवन विस्तार गर्ने जमिन विद्यालयसँग छैन । भवनमा पनि २०६५ सालयता पहिरो खस्ने समस्या थपिएपछि वर्षातका बेला विद्यार्थीले ढुक्कले पढ्न सक्दैनन् । कक्षा ३ सम्म सञ्चालित विद्यालयमा ३२ विद्यार्थी छन् ।

प्रकाशित : पुस २२, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?