कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हिउँले सेताम्मे हेलम्बुको शेर्माथाङ

अनिश तिवारी

मिलारेपा डुप्गाङ (सिन्धुपाल्चोक) — गुम्बै गुम्बाको गाउँ शेर्माथाङ र केही दुरीमा रहेको गुरु रिन्पोछेको सुनौलो मूर्तिछेउ पुग्दा हिउँ फुरुरु झरिरहेको देखिन्थ्यो । मंगलबार बिहानको हलुका वर्षातसँगै हेलम्बु गाउँपालिका क्षेत्रस्थित महायोगी मिलारेपा तपस्यास्थल (डुप्गाङ)गुफा पनि हिउँले सेताम्मे भएको हो ।

हिउँले सेताम्मे हेलम्बुको शेर्माथाङ

‘हिउँ पर्न सुरु भयो, दु:ख बढ्यो । आउँदो सोनाम ल्होसारसम्म यस्तैगरी चिसोले कठ्यांग्रीन पर्छ,’ हेलम्बु गापा १ की ६१ वर्षकी ल्हाक्पाडोल्मा ह्योल्मोले गोवामा आगो झोस्दै भनिन् । भुकम्पलगत्तै टहरा बनाएर सरेको परिवारले तीनवर्षदेखि आहिलेसम्म यसरी नै चिसो कटाउँदै आइरहेको उनले सुनाइन् ।


मिलारेपामा ढेजाङ (छलफल) मा जम्मा भएका सबै छाज्या (नुन चिया) लिँदै चिसोको मारबारे गफिदै गरेका भेटिए । ‘केही वृद्धवृद्धा र बालबालिकालाई समस्या देखिन थालेको छ । हिउँ नभइ नहुने भएपनि दु:ख थपिने,’ उनले भनिन् ।


मिलारेपाक्षेत्रमा झण्डै एकसय घर धुरी छन् । चिसो महिना सुरु भएपछि हिउँले छत ढाकेलगत्तै जिवन कष्टकर बन्छ । ‘अघिल्लो वर्षभन्दा चाँडो हिउँ परेको छ, सबै डाँडाको शिर सेताम्मे हुन पुगेका छन्,’ गुम्बा र प्राचिन ह्योल्मो संस्कृतिले भरिएको शेर्माथाङको बस्ती देखाउँदै टासी दोङबा ह्योल्मोले भने, ‘सबैतिर हिउँ छ, घाम नलागेसम्म निक्लनै सकिँदैन् ।’


जिल्लाभर सोमबार दिउँसोबाट हिमपात भएको थियो भने, हेलम्बुमा मंगलबार बिहान हिमपात भएको हो ।


भोटेकोसी गाउपालिकाअन्र्तगत पर्ने तातोपानीको लिपिङगाउँ, लिस्तीकोट, मार्मिङको गोल्ची, फुल्पिङकट्टी हुँदै जुगलको माथिल्ला बस्ती बाह्रबिसे नगरको घोर्थली, कर्थलीमा बाक्लो हिउँ परेको छ ।


हेलम्बु गाउँपालिकाको वडा १ अध्यक्ष मिङमार लामाले हिउँ पर्नु शुभ रहेको बताउँदै यसलाई पर्यटक आर्कषण गराउने समयको रुपमा लैजाने योजना राखेका छन् । ‘हिउँ पर्ने इलाकामा न्यानो र ह्योल्मो संस्कृतिकै आवास पर्यटकीय कार्यक्रम ल्याइनुपर्छ, यसले दिर्घकालिन समृद्धी ल्याउँछ,’ उनले भने ।


जिल्लाका उच्च पहाडीभन्दा हिमाली भेगमा हिउँले छपक्कै छोपेको छ । पर्यटकीय गाउँ हेलम्बुमा बाहिरबाट हिउँ खेल्न आइरहेका छन् । गाउँपालिकाले हिउँद महिनालगत्तै किउल, तिम्बु, र्तातुङ, लाम्दो, घोप्टेघ्याङ हुँदै पाकेडाँडास्थित ‘सिमिसिदाङ’ हिमाल सम्बन्धी पर्यटकीय कार्यक्रम बनाएको छ । हिमाल हेर्न आउने पर्यटकले शेर्माथाङको बस्तीलाई हिउँले ढाकेको मनमोहक दृश्य देखेर दंग परिरहेका छन् ।




प्रकाशित : पुस २४, २०७५ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?