जहदामा सहोराय बिदा

देवनारायण साह

मोरङ — जहदा गाउँपालिकाले बुधबार बिदा दियो । घरहरू भित्ता नीलो र पेटी फिक्का कालो रंगले पोतिएका थिए । भित्तामा माटोका चित्र कोरिएका थिए ।

जहदा गाउँपालिका–७ सितोङटोलका सन्थाल नाइके भगवानलाल बेसरा घरबाट पूजा सामग्री लिएर निस्के । साथमा बाजागाजा र
गाउँलेको लस्कर ।

लस्कर गड टन्डी पुग्यो । गाउँलेले कोदालोले अलिकति जमिन ताछे र गोबरले लिपपोत गरे । बन्यो– पूजा गर्ने ठाउँ । नाइके बेसरा पूजा आसनमा बसे र सुरु गरे विधि । पित्तलको लोटामा कलश राखे । चामलको पिठोले पाँचवटा कोठा बनाए । पाँचवटै कोठामा मेथी राखे र त्यसमाथिसालका पात ।

पाँचै ठाउँमा पातमाथि पान, सुपारी, सवा किलो लड्डु र सिन्दूर राखियो । उपस्थित सबैले ढोगे । त्यसपछि मंझी प्राणिकले ठूलो माटोको भाँडोमा ल्याएको जाँड दुनोमा खन्याए र नाइकेलाई दिए पूजामा चढाउन । फेरि सबैले ढोगे । लड्डुसँगै प्रसादका रूपमा उपस्थित सबैले जाँड खाए ।

गड पूजापछि कुडउम नाइकेले वनदेउता वीरको छुट्टै पूजा गरे । सिकार खेल्न आउन आहवान गरे ।सन्थाल समुदायले ६ दिनसम्म मनाउने सहोराय पर्वको पहिलो दिन बुधबार थियो । सन्थाल नाइके बेसरा वडा ७ का अध्यक्ष पनि हुन् । उनका अनुसार सहोराय पर्व धान बाली भित्र्याएको खुसीमा मनाइन्छ । पर्व मनाउन आफन्तलाई निम्तो गरिन्छ ।

सितोङटोलका सन्थालका मंझी प्राणिक पन्नालाल हेमरमले पिठोले बनाएको ५ वटा कोठामा पाँच देउताको पूजा गरे । ‘पहिलो कोठामा माराङ बुरु, दोस्रोमा जाहेर एरा र गोसाँइ एरा, तेस्रोमा मोडे कु र तुरुय कु, चौथोमा पिल्चु हाडमा र पिल्चु बुढी, पाँचौंमा सिञ चान्दु र जिन्दो चान्दुको पूजा गर्यौं,’ उनले भने, ‘सहोरायको पहिलो दिनको पूजालाई उम भनिन्छ ।’

नाइके बेसराका अनुसार आफ्ना पिताले गड पूजा गर्दासम्म कुखुराको बलि दिने परम्परा थियो । ‘बुवाको शेषपछि मैले नाइके पद सम्हालें,’ उनले भने, ‘बलि प्रथाको अन्त गर्नुपर्ने सन्थालका मुखिया मंझी हरामकहाँ प्रस्ताव राखेँ ।’

गाउँका मंझी सदस्यसहित सबै जनाले ‘देउता खेलेर बलि प्रथा हटाउन आग्रह गरेको’ उनले बताए । उनका अनुसार देउता खेल्दा बलिको साटो सवा किलो लड्डु दिनुपर्ने भनेकाले त्यहीअनुसार पूजा गर्दै आइएको हो । ‘सहोराय पर्वका छ वटै दिन विशेष हुन्छन्,’ सूर्यनारायण हास्दाले भने, ‘दोस्रो दिन दाका पर्वमा मासुलगायतका परिकार परिवार र आफन्तसँग बसेर खाने परम्परा छ ।’
दाका पर्वकै दिन दिदीबहिनी र ससुरालीले कोसेली ल्याउँछन् । कोसेली कुल देउतालाई चढाएर स्वर्गवासी पुर्खालाई सम्झने गरिन्छ । यो दिन युवायुवती सहोराय नाच्छन् ।

तेस्रो दिनलाई खुन्टौव पर्व भनिन्छ । ‘यो दिन गाईबस्तुलाई सडकछेउमा नयाँ बाँसको खम्बा गाडेर बाँध्नुपर्छ,’ ६१ वर्षीय सुजन हास्दाले भने, ‘तिनलाई रुपैयाँको माला लगाएर मिठो खुवाइन्छ । गाईबस्तुको गालामा भएको रुपैयाँको माला ज्वाइँले भोलिपल्ट निकाल्ने चलन छ ।’ चौथो दिन हो जाली पर्व । ‘जाली पर्वमा समुदायको मुखियासँगै घरघरमा गएर जाँडरक्सी खाएर रमाइलो गर्छौं,’ हास्दाले भने, ‘युवायुवतीले समूहमा नाच्दै धान, चामल, पैसा मागेर जम्मा गर्ने चलन छ ।’

पाँचौं दिन हाकुकाटोम पर्व मनाइन्छ । यो दिन माछा र गंगटो खाएर नाचगान गरिन्छ । अन्तिम दिन साकरात पर्वका अवसरमा धनुषवाणले निसाना साँध्ने परम्परा छ । सन्थालको जनसंख्या मुलुकभर ५१ हजार ७ सय २० रहेको तथ्यांक छ । जहदा गाउँपालिकामा मात्रै ६ हजार २ सय २४ जना छन् ।

प्रकाशित : पुस २६, २०७५ ०७:३७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मोदी भ्रमणका बेला भएका सम्झौता अझै पूरा भएनन्

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत वैशाखको नेपाल भ्रमणका बेला दुवै मुलुकबीच पछिल्लो समय उच्च राजनीतिक तहमा भएका समझदारी र सम्झौतालाई ३ असोज २०७५ भित्र परिणाममुखी बनाउने सहमति भएको थियो ।

समझदारीलाई निश्चित समयसीमाभित्र ठोस निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिए पनि अधिकांश पूरा हुन सकेका छैनन् । मोदीको भ्रमणकै बेला हरेक महिना परराष्ट्र सचिवबीच भिडियो कन्फरेन्स गर्ने सहमतिसमेत भएको थियो ।

परराष्ट्र सचिव शंकर वैरागीले तोकिएको समयसीमा पालना नभए पनि भएका सहमति र समझदारी कार्यान्वयनमा लैजान दुवै पक्ष सकारात्मक ढंगले अगाडि बढिरहेको बताए । ‘चालु परियोजनाको समीक्षा गर्दै समयमा सम्पन्न गर्न दुवै पक्षबीच सकारात्मक छलफल जारी छ,’ उनले भने ।

समयसीमा गुज्रेको लामो समय बितिसक्दा केही विषयमा प्रगति भए पनि दुवै मुलुकबीच लामो समयदेखि कचल्टिएर रहेका अधिकांश विषयमा खासै प्रगति हुन सकेका छैनन् । कतिपय विषयमा त भारत पहिलेको सहमतिबाट समेत पछि हटेको छ । त्यसको पछिल्लो उदाहरण हो हवाई रुट । गत जेठमा काठमाडौंमा सम्पन्न नेपाल र भारतका नागरिक उड्डयन अधिकारीको बैठकले नेपाललाई थप हवाई रुट दिने सहमति भएको थियो ।

उक्त बैठकमा विराटनगर र जनकपुर नाकालाई अन्तर्राष्ट्रिय उडानका लागि दुईतर्फी बनाउन भारत सहमत भएको थियो । त्यसैगरी कम उचाइ उडान गर्ने जहाजका लागि काठमाडौं–महेन्द्रनगर–दिल्ली हवाई रुटलाई पनि दुईतर्फी बनाउन उक्त बैठकमा सहमति भएको थियो ।

त्यसैगरी भैरहवा र पोखरामा निर्माणाधीन विमानस्थलका साथै निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलका लागि नेपालगन्ज र महेन्द्रनगर प्रवेश विन्दुबाट समेत हवाई रुट खुला गर्न सेप्टेम्बर २०१८ भित्र प्राविधिक मूल्यांकन गरिसक्ने दुई देशका अधिकारीबीच समझदारी बनेको थियो । यो समझदारीले दुई देशबीच अन्तरदेशीय उडान सहज हुने अपेक्षा गरिएको थियो । तर, गत असोजमा दिल्लीमा बसेको दुई देशका अधिकारीको बैठकमा भारत पहिलेको सहमतिबाट पछि हटेको थियो । बैठकमा सहभागी नेपाली अधिकारीले भारतले सुरक्षाको कारण देखाएर हवाई रुट दिन नसक्ने जनाएको बताए ।

त्यसैगरी प्रतिबन्धित भारु नोट साट्ने विषयमा पनि भारत उदासीन रहँदै आएको छ । भारतले भारु पाँच सय र हजारका नोटमाथि प्रतिबन्ध लगाउन नोटबन्दी लागू गरेको दुई वर्ष बितिसक्दा पनि नेपालमा रहेको भारु साट्न भारतीय पक्षबाट कुनै ठोस पहल भएको छैन ।

नेपालको वित्तीय क्षेत्रसँग रहेको करिब सात करोड भारु बराबरको प्रतिबन्धित नोट साटिदिन नेपाली पक्षले दर्जनौं पटक भारतसमक्ष अनुरोध गरिसकेको छ । जबकि भुटानसँग भएको भारु भने भारतले नोटबन्दीको केही महिनामै साटेको थियो । गत साता नेपालले पुन: एकपटक भारतलाई प्रतिबन्धित भारु साटिदिन आग्रह गर्दै पत्राचार गरेको छ ।

नेपाली नम्बर प्लेटका ग्यास बुलेटलाई भारत गएर ग्यास ढुवानी गर्न दिने विषयमा अझै पनि सहमति हुन सकेको छैन । यसका लागि नेपाली पक्षले औपचारिक रूपमा भारतलाई आग्रह गर्दै आएको छ । त्यसैगरी नेपालको भारतसँगको बढदो व्यापार घाटा कम गर्न व्यापार सन्धिमा परिमार्जन गर्ने विषयले पनि अपेक्षित गति लिन सकेको छैन ।

सबैभन्दा निराशाजनक अवस्था त पञ्चेश्वर परियोजनाको छ । चार वर्षअघि मोदीको पहिलो नेपाल भ्रमणकै बेला पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) लाई एक वर्षभित्र टुंगोमा पुर्‍याउने सहमति भएको थियो । त्यसपछि प्रत्येक उच्चस्तरीय बैठकमा डीपीआरलाई अन्तिम रूप दिने सहमति हुँदै आएको छ । अहिलेसम्म त्यसमा ठोस प्रगति हुन सकेको छैन । पञ्चेश्वरसम्बन्धी द्विपक्षीय वार्तामा सहभागी हुँदै आएका एक सरकारी अधिकारीका अनुसार भारतले महाकाली सन्धिअनुसार पानी र बिजुली बराबर बाँड्नुपर्छ भन्ने नेपाली पक्षको मागप्रति सहमति नहुँदा डीपीआर टुंगोमा पुग्न नसकेको हो ।

कतिपय परियोजना भने नेपालकै कारण पूर्णता पाउन सकेका छैनन् । गत चैतमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेला औपचारिक रूपमा उद्घाटन भएर पनि नेपाली पक्षलेआफ्नोतर्फको एक किलोमिटर सडक खण्डको सम्पन्न नगर्दा वीरगन्जस्थित आईसीपी अझै पनि सञ्चालनमा आउन सकेको छैन ।

त्यसैगरी आठ वर्षअघि निर्माण सुरु भएको १७९२ किमि लामो हुलाकी राजमार्गको करिब ६०७ किमिका लागि भारतले आर्थिक सहयोग उपलब्ध गराएको छ । कहिले ठेकेदार विवाद त कहिले समयमा भारतले प्रतिबद्धताअनुरूप बजेट उपलब्ध उपलब्ध नभएका कारण उक्त राजमार्गले गति लिन सकेको थिएन । तर, पछिल्लो समय भारतीय पक्ष राजमार्गलाई समयमै सम्पन्न गम्भीर देखिए पनि नेपाली पक्षले जग्गा अधिग्रहणको मुद्दालाई समयमा सम्बोधन नगर्दा अझै पनि नेपालको तराई–मधेसका लागि ‘लाइफलाइन’ मानिएको यो सडकको कामले अपेक्षित गति लिन सकेको छैन ।

त्यसैगरी रक्सौल–अमलेखगन्ज पाइपलाइन विस्तारको काम नेपाली पक्षकै कारण समयमा सम्पन्न नहुने भएको छ । भारतीय पक्षले आफ्नोतर्फ पाइपलाइन ओछ्याउने काम सकिसक्दा पनि नेपाली पक्षले आफ्नोतर्फ जग्गा अधिग्रहणको विषयलाई सुल्झाउन सकेको छैन । दिल्ली भ्रमणका क्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच बिहीबार हुने भेटमा पनि यी विषयमा छलफल हुने स्रोतले बताएको छ ।

प्रकाशित : पुस २६, २०७५ ०७:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT