बज्र किलायको ग्रन्थ, क्रोधको मुकुण्डो

बौद्धमार्गीहरू ल्होछारको पूर्वसन्ध्यामा चारदिने शान्ति पूजा गर्छन्
कान्तिपुर संवाददाता

काठमाडौँ — ग्यालिङको सुमधुर संगीत, बेला–बेला ढ्याङ्ग्रो र झ्याम्टाको लुकामारी । सबैभन्दा पछिल्तिरचाहिँ नेपाली र विदेशी सर्वसाधारणहरू मन्त्र र बौद्ध संगीत सुन्दै ध्यानमग्न छन् । अघिल्तर लस्करै भिक्षुहरू शान्ति मन्त्र पाठ गर्दै बौद्धगुरु क्याब्जे पाल्युल लाटुल रिन्पोछेलाई पछ्याइरहेका छन् ।

‘यहाँ सबै जना शान्ति खोज्दै आउनुभएको हो,’ पूजा समारोहका संयोजक खेन्पो कोन्चोग नोर्बु तामाङले सुस्तरी औंल्याए, ‘बौद्ध परम्पराको यो महत्त्वपूर्ण पूजा हो ।’

राजधानीको बौद्ध नयाँबस्तीस्थित छ्योर्तेन टासी तामाङ गुम्बाका आउँदो सोमबारसम्म पूजाको यो संगीत, मन्त्र र दृश्य जारी रहनेछ । पहिलो दिन शुक्रबार आत्मशान्ति खोज्दै यो पूजामा ७० जना विदेशीहरू पनि सामेल भए । खेन्पो कोन्चोगका अनुसार यो पूजा खासगरी दुइटा प्रकृतिको शान्तिका लागि गरिन्छ । आत्मशान्ति र बाह्य शान्ति । मनभित्रको शान्ति बाह्य शान्तिसित अन्तर्निहित छ । चारैतिर अशान्ति, हिंसा, तनाव, चिन्ता र महामारी फैलिरहेको बेला यस्तो पूजा दुइवटै शान्ति कामनाका लागि गरिन्छ । यो प्राचीन पूजा विधि हो ।

उपत्यकाको खडेरी र बज्र किलाय
खेन्पो कोन्चोगका अनुसार यो पूजासित आठौं शताब्दीको एउटा तान्त्रिक पुस्तकको सम्बन्ध छ । भारतबाट गुरु पद्मसम्भव फर्पिङस्थित गुफामा महामुद्राको ध्यानमा थिए । त्यति बेला काठमाडौं उपत्यकामा वर्षौंदेखि पानी नपरेर ठूलो अनिकाल र महामारी चलिरहेको थियो ।

एक दिन नेपाल राज्यको विशेष दूत आएर पद्मसम्भवलाई समस्याको निराकरणका लागि अनुरोध गरे ।‘अनि पद्मसम्भवले भारतको नालन्दा विश्वविद्यालयबाट दोर्जे फुर्पा (बज्र किलाय) साधनाको तन्त्र ग्रन्ध झिकाउनुभयो,’ भारतबाटै बौद्ध दर्शनमा विद्यावारिधि (खेन्पो) गरेका कोन्चोगले भने, ‘किम्वदन्तीअनुसार उक्त पुस्तक नेपाल भित्रिनेबित्तिकै पानी पर्न थाल्यो । त्यसपछि उपत्यकामा रोग, भोक र अनिकाल अन्त्य भएको मानिन्छ । त्यही बज्र किलायको पुस्तक साधना गरेर प्राप्त सिद्धिले तिब्बतमा हिशे छ्योग्यालले मृतात्मालाई जीवित बनाएको किंवदन्ती पनि पाइन्छ ।’

धोक्पा अर्थात् क्रोध
त्यही ग्रन्थमा आधारित पूजा दुई प्रकृतिको गरिँदै आएको छ । सुरुमा मान्छेको मनभित्रबाट क्रोध, काम, लोभ र मोह बाहिर निकाल्न ‘धोक्पा’ पूजा गरिन्छ । धोक्पा खासमा एउटा मुकुण्डो हो, जसमा मूर्तिकारले क्रोधको भाव कोरेका हुन्छन् । सुरुमा क्रोधको प्रतीक यही धोक्पालाई बत्ती, फूल, पानी र विशेषगरी कोदो चढाएर तीन दिनसम्म पूजा गरिन्छ ।

‘तेस्रो दिन यसको अग्निदह गरिन्छ,’ पूजा आयोजक संस्था धर्म श्रवण तथा चिन्तन विस्तार केन्द्र (थोइसाम गोङफेलिङ) का अध्यक्षसमेत रहेका खेन्पो कोन्चोगले भने, ‘यसपछि मानिसभित्रको क्रोध र तनाव बाहिर निस्किन्छ । यसलाई नै बज्र किलाय पूजा भनिन्छ ।’

उनका अनुसार मानिसभित्रको आन्तरिक क्लेश र दोष बाहिर निकालेर बुद्धत्व प्राप्तिको दिशातिर अग्रसर गराउन यो पूजाले सघाउँछ । यो एक रूपान्तरण प्रक्रिया हो । त्यसपछि चौथो दिन छेक्षोग क्षिलु (आमितायु पूजा) हुन्छ, योचाहिँ शान्ति पूजा हो । यसका लागि पूजामा बसेका व्यक्तिको नङ, कपाल र कपडाको टुक्रा राखेर विधि गरिन्छ ।

बौद्धमार्गीहरू यस्तो पूजा ल्होछारको सन्दर्भमा गर्छन् । वर्षभरि मनमा खराब तत्त्व हाबीनहोस्, सुख र शान्ति प्राप्ति होस् भन्ने कामनासहित । ‘पूजा सकेपछि ल्होछारको खुसियाली सुरु हुन्छ,’ बज्र किलायमा सामेल बौद्धका स्थानीय विनोद लामाले भने, ‘मनमा शान्ति छाउँछ । सबैको मनमा शान्ति छाएबाह्य शान्ति पनि प्राप्ति हुन्छ ।’

प्रकाशित : माघ २०, २०७५ ०८:२३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भेनेजुएला संकट–सुन नकिन्न टर्कीलाई चेतावनी

एजेन्सी

काराकस — भेनेजुएलामाथि आफ्नो प्रतिबन्ध जारी रहेको जनाउँदै उसको सुन नकिन्न अमेरिकाले टर्कीलाई चेतावनी दिएको छ । 

टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगान र भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरो 

भेनेजुएलाले देशलाई आवश्यक रकम जुटाउन तथा अर्थतन्त्र स्थिर राख्न आफ्ना स्रोतहरूको बिक्री गर्न थालेको समाचार सार्वजनिक भएपछि अमेरिकाले उक्त चेतावनी दिएको हो ।

पश्चिमा देशका एक वरिष्ठ अधिकारीले भेनेजुएलासँग व्यापार गर्ने राष्ट्रका पमा टर्कीमाथि अमेरिकी चासो बढेको जनाएका छन् । अमेरिकी सिनेटर तथा विदेश सम्बन्ध समितिका सदस्य मार्को रुबियोले संयुक्त अरब इमरेट्स र टर्कीलाई भेनेजुएलाको सुन व्यापारमा संलग्न नहुन चेतावनी दिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्कीले भेनेजुएलाको सुन किनिरहेको छ । भेनेजुएलाको सुन टर्की हुँदै इरान पुग्ने गरेको छ, त्यसो भएमा अमेरिकी प्रतिबन्धहरूको उल्लंघन हुन जान्छ । त्यसैले टर्कीमाथि अहिले सुन नकिन्न दबाब बढिरहेको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई समर्थन गरिरहेका छन् । मडुरोले देशभित्र जारी राजनीतिक संकटका कारण चौतर्फी राजनीतिक दबाबमा छन् । अधिकारीहरूले पछिल्ला दिनमा टर्की र भेनेजुएलाबीचको सुन व्यापार निरन्तर बढिरहेको दाबी गरेका छन् ।

गत वर्ष भेनेजुएलाले ९० करोड डलर मूल्यबराबरको सुन प्रशोधन गर्न भन्दै टर्की पुर्‍याएको थियो । तर प्रशोधित सुन फेरि भेनेजुएला फर्काइएको प्रमाण छैन ।

बीबीसीका अनुसार संयुक्त अरब इमरेट्सको राजधानी आबुधाबीस्थित इन्भेस्टमेन्ट कम्पनी नुर क्यापिटलले गतसाता भेनेजुएलाको केन्द्रीय बैंकसँग ३ टन सुन किनेको स्वीकार गरेको छ । तर अमेरिकी चेतावनीपछि जारी एक वक्तव्यमा नुर क्यापिटलले अब भविष्यमा भेनेजुएलासँग थप कारोबार नगर्ने बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

रोयटर्सका अनुसार गतसाता एक सानो कार्गो विमान भेनेजुएलाको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ टन सुन बोकेर उडेको थियो । बीबीसीका अनुसार रूसी विमानहरू पनि विमानस्थलमा अवतरण गरेको दाबी गरिएपछि रूसले अस्वीकार गरेको छ ।

भेनेजुएलाको सुन खानीबाट अवैध रूपमा सुन निकाल्ने काम भइरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । भेनेजुएलाका विपक्षी नेता खुवान गुआइडोले देशको सम्पत्तिको सुरक्षा गर्नु अत्यावश्यक भएको बताउने गरेका छन् । उनले राष्ट्रपति मडुरोलाई राजीनामा दिन र तत्काल चुनावको मिति घोषणाका लागि दबाब दिन देशव्यापी आन्दोलन गर्न समर्थकहरूलाई आहान गरेका छन् ।यसअघि अमेरिकाले भेनेजुएलाको सरकारी कम्पनीको तेल नकिन्ने बताइसकेको छ ।

भेनेजुएलाका विपक्षी नेता गुआइडोले आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेपछि भेनेजुएलामा राजनीतिक संकट सुरु भएको हो । अमेरिकालगायतका २० भन्दा बढी राष्ट्रले गुआइडोलाई समर्थन गर्दै आएका छन् । उनीहरूले राष्ट्रपति मडुरोलाई सत्ताबाट हटाउने प्रयास गर्दै आएका छन् । यद्यपि, रूस तथा चीनलगायतका देश मडुरोको पक्षमा छन् ।

भेनेजुएलामा एक वर्षदेखि जारी सत्तासंघर्ष विपक्षी नेताको घोषणसँगै थप चर्केको हो । त्यसयता राजधानी काराकस लगायतका मुख्य सहरहरूमा निर्वाचित राष्ट्रपति मडुरोको विरोधमा प्रदर्शनहरू गरिँदै आएको छ ।

सन् २०१३ मा पहिलो कार्यकालका लागि राष्ट्रपति भएका मडुरोको शासनकालमा भेनेजुएलामा मुद्रास्फीति र ऊर्जा समस्याका साथै खाद्य सामग्रीको चरम अभावपछि मानिस विरोध उत्रेका हुन् । राष्ट्रसंघका अनुसार विगत ३ वर्षमा २० लाखभन्दा बढी मानिसले भेनेजुएला छाडिसेका छन् ।

प्रकाशित : माघ २०, २०७५ ०८:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT