२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

छ्याज्यालो

गणेश राई

काठमाडौँ — ‘खे कु खे कु मईलाई छ्याज्यालो’ (नौ महागुरुलाई नमस्कार) । ‘मा ङी छ्याज्यालो’ (सात मातालाई नमस्कार) । ‘च्युङी ल्हो छ्याज्यालो’ (बाह्र वर्गलाई नमस्कार) ।

छ्याज्यालो

‘खेमा ल्हैमा छ्याज्यालो’ (ज्ञान दिने देवीदेवता नमस्कार) । ‘खेमा ल्हैमा ङाजैलाई खेवा ल्होमिनो’ (मलाई पढ्न लेख्न सिकाइदिनोस्) ।


भेला भएका सबैले उभिएर यिनै वाक्य दोहोर्‍याए, जब–जब गुरुले भने । प्रार्थना सकिएछ । गुरु भीमप्रसाद गुरुङले आग्रह गरे,

‘छ्याज्यालो, जमन टिद’ (नमस्कार, सबै बस्नोस्) । सबै कुर्सीमा बसे । एकाग्र भएर सुन्न थाले । सहभागी धेरैजना पाका उमेरका, थोरै किशोरकिशोरी थिए ।

‘तमु भाषामा २९ वटा व्यञ्जन वर्ण, ८ वटा स्वर वर्ण र ६ वटा सहयोगी वर्ण हुन्छन्,’ गुरुङले सुनाए । बोर्डमा लेखेर देखाए । सबैले लेख्ने अभ्यास गरे । हौस्याउँदै उनले भने, ‘ध्यानपूर्वक सिक्ने प्रयास गरे तीन घण्टाभित्र सबै लिपि जान्नु हुन्छ ।’ उनी दुईदिने कार्यशालामा बुधबार खेमा लिपि सिकाउँदै थिए । तनहुँ बन्दीपुर छिम्केश्वरी तमु समाज काठमाडौंले स्वयम्भूस्थित कार्यालयमा लिपि प्रशिक्षणको मेसो मिलाएको थियो । गुरुङ जातिको मूल थलो तमुवान हो । थातथलो छाडेर अन्यत्र बस्नेलाई मातृभाषा र लिपि सिकाउने प्रयास गरिएको समाजका अध्यक्ष अन्तसिंह गुरुङले बताए । ‘भाषा बोल्न जानेर मात्रै हुन्न, लिपिलाई चलनमा ल्याउनुपर्छ,’ उनले भने ।

लिपि विज्ञ बालनरसिंह गुरुङका अनुसार गुरुङ भाषामा ‘खेमा’ भनेको पुर्खा हुन् । पुरुष पुर्खालाई ‘खे’ र महिला पुर्खालाई ‘मा’ भनिन्छ । जन्मेदेखि मृत्युपर्यन्त खेमाको नाममा प्रार्थना गरिन्छ । पुर्खाका नाममा सिर्जना गरिएको लिपि भएकाले खेमा भनिएको हो ।

इन्द्रबहादुर (आईबी) गुरुङका अनुसार खेमा लिपिको प्रतिपादन पच्यु (गुरु) पिमबहादुर गुरुङले गरेका हुन् । उनको निधनपछि बालनरसिंह गुरुङ र भीमप्रसाद गुरुङलगायत खेमा लिपि प्रवद्र्धनमा जुट्दै आएका छन् । भारतमा मेघराज गुरुङ र भुटानमा कर्माक्रोन्चे गुरुङ खेमा लिपि संरक्षण अभियानमा जुट्दै आएको उनले बताए ।


‘नेपालमै प्रतिपादन भएको खेमा लिपि र तमु भाषा भारतको सिक्किममा बाल कक्षादेखि १२ कक्षासम्म पढाइन्छ,’ स्याङ्जा निवासी नेता गुरुङले भने, ‘कतै गुरुङहरू खेमा लिपि खोज्न भारत जानु नपरोस्, त्यसैले लिपि सिकाउने पहल गरौं ।’ प्रशिक्षणमा ४० जना सहभागी छन् ।

तमु ह्युल छोजधी गुरुङ राष्ट्रिय परिषद्ले ‘खेमा लिपि’ लाई २०५२ सालदेखि साझा लिपिका रूपमा अघि बढाएको थियो । २०७३ कात्तिकमा धरानमा सम्पन्न तमु सार्क सम्मेलनले खेमा लिपिलाई गुरुङ जातिको लिपि घोषणा गरेको थियो । राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार गुरुङ जातिको जनसंख्या ५ लाख २२ हजार ६ सय ४१ छ । गुरुङ जातिले आफूलाई तमु भनेर चिनाउँछन् । गुरुङ भाषालाई तमु भाषा पनि भनिन्छ । तमु भाषा रोमन र देवनागरी लिपिमा समेत लेखिने गरेको छ ।

प्रकाशित : माघ २४, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?