पैसाको पछिपछि

सुनीता साखकर्मी

काठमाडौँ — ‘यो कति रुपैयाँ होला ?’ फ्रेमभित्र राखिएको दुबईको कागजी नोटलाई संकेत गर्दै एक विद्यार्थीले आफ्ना साथीलाई सोधे । त्यता एक छिन नियालेपछि साथी चाहिँ जवाफिए, ‘हेर्दा गोलोगोलो छ, जिरो रुपैयाँ होला नि !’

मुद्रा संकलक सरोज श्रेष्ठ काठमाडौंको हात्तीगौंडामा आइतबार आयोजित प्रदर्शनीमा आगन्तुकलाई तत्सम्बन्धी जानकारी दिँदै । तस्बिर : कान्तिपुर

नजिकै बसेका सरोज श्रेष्ठले दुवैलाई सुनिरहेका थिए । विद्यार्थीहरूले नोटको दर नचिनेपछि सरोजले उक्त नोट दुबईको पाँच रुपैयाँ भएको जनाए । अघिसम्म गोलोगोलो देखेको अक्षर पाँच हो भन्ने सुनेपछि विद्यार्थीहरू छक्क परे ।

राजधानीको हात्तीगौंडास्थित ठुङरम इन्टरनेसनल एकेडेमी (टीआईए) मा सरोज श्रेष्ठले आइतबार आयोजना गरेको एकदिने मुद्रा प्रदर्शनीमा अनेक मुलुकका कागजी नोटहरू हेरेर जोकोही अचम्म मान्दै थिए । बुढानीलकण्ठको चुनिखेलका २१ वर्षीय सरोजले नेपाललगायत विभिन्न ८० देशका नयाँ तथा पुराना कागजी मुद्राको संकलन त्यहाँ राखेका थिए् ।

यसरी पूरा भयो सपना
सरोज सानैदेखि पुराना वस्तु जतनसाथ राख्थे । उनका मामा ईश्वर नगरकोटी पुराना पैसालाई एल्बममा सजाउने गर्थे । मामाले बंगलादेश पढ्न गएका बेला विभिन्न साथीबाट पाएका विभिन्न पैसालाई सजाएर राखेको देखेपछि सरोजमा पनि पाँचछ वर्षअघिदेखि मुद्रा संकलनको सोख पलाउन थाल्यो ।

‘मामाले कलेक्सन गर्नुभएको पैसा मेरा लागि नयाँ थियो,’ उनले भने, ‘त्यसपछि म पनि पुरानाभन्दा पुराना नोट संकलन गर्छु भन्ने सोच आयो ।’ मुद्रा संकलनमा उनलाई मामा, साथीभाइ र केही वृद्धवृद्धाले सहयोग गरे । कतिपय देशका नोटहरू उनले अनलाइन अर्डर गरेर झिकाए ।

मुद्रा संकलनकै क्रममा उनले विसं २००२ मा राजा त्रिभुवनको पालादेखि कागजी मुद्रा प्रचलनमा आएको थाहा पाए । २००२ मा पहिलोपटक त्रिभुवनको फोटोसहित छापिएको एक रुपैयाँ, पाँच रुपैयाँ, दस रुपैयाँ र सय रुपैयाँका नोट भेट्टाए । उनले यी नोटका अगाडि र पछाडि दुवैको हिस्सा देखिने गरी फ्रेममा राखेका छन् ।

त्यसपछि महेन्द्र, वीरेन्द्र हुँदै ज्ञानेन्द्रका पालासम्मका नोट देख्न सकिन्छ । नोटहरू हेर्दा नेपालमा राजा फेरिएपिच्छे नोटमा पनि राजाको टाउको बदलिएर नयाँ नोट छापिएको देखिन्छ । एकै राजाको समयमा पनि फरकफरक फोटाका साथ मुद्रा छापिएको देखिन्छ, जबकि अन्य देशमा लामो समयदेखि एउटै नोट प्रचलनमा आइरहेका छन् ।

सरोज पेसाले टेक्निसियन हुन् । तर पुराना नोट संकलन गर्नु उनको रुचि हो । ‘सुरुसुरुमा मसित एउटा/दुइटा पैसा हुन्थ्यो,’ उनले भने, ‘टोलटोलमा बूढापाकासँग नोट माग्दा वास्तै गर्नुहुन्नथ्यो । किन, केका लागि भनेर सोध्नुहुन्थ्यो । सबैलाई कन्भिन्स गर्दै नोट संकलन गर्दै गएँ ।’

मुद्रा : एक कला
प्रदर्शनीमा राखिएका नोटमध्ये राजा त्रिभुवनको पालामा छापिएको सय रुपैयाँको नोट कलात्मकताको हिसाबले उत्कृष्ट लाग्छ । उक्त मुद्रामा नेपालका आँखीझ्यालहरूमा भएको जस्तै कलात्मक बुट्टाहरू छन्, जुन अन्य मुद्रामा देखिँदैन । ‘यो नोट खोज्न धेरै मानिस भेटेँ,थुपै्र ठाउँ चहारेँ,’ सरोजले सुनाए, ‘दुई वर्ष खोजेपछि मामाको माध्यमबाट मैले उक्त नोट भेट्टाएको थिएँ । नोट भेट्टाएपछिको खुसी मबयानै गर्न सक्दिनँ ।’

श्रीलंकाको नोटमा सांस्कृतिक पहिरनमा सजिएका मानिसहरू परम्परागत बाजा बजाएर नाच्दै गरेको देखिन्छ । हाइटीको बीस रुपैयाँको नोटमा किताबको फोटो देखिन्छ भने माल्दिभ्सका पाँच र दसका नोटमा फुटबल खेलिरहेको र रूख चढिरहेको आकृति छन् ।

प्राय: सबै देशका नोटहरू तेर्सो छापिएका छन्, तर श्रीलंका र भेनेजुएलाका नोटहरू ठाडो पनि छापिएका छन् । प्राय: नोटमा वन्यजन्तु, चराचुरुंगी, प्राकृतिक स्रोतसाधन छापिएको देखिन्छ ।

प्रदर्शनीमा भारत, चीन, कतार, इन्डोनेसिया, म्यान्मार, युक्रेन, ओमन, लेबनान, जाम्बिया, दक्षिण अफ्रिका, मदागास्कर, अस्ट्रेलिया, सिंगापुर, युगोस्लाभिया, भियतनाम, कजाकस्तान, लाओस, बोस्निया र हजेगोभिना, जोर्डन, होन्डुरस, अंगोला, सर्बिया, कंगो, लाइबेरिया, बहराइन, पेरु, इरिट्रिया, स्वीडेन, इरान, नाइजेरिया लगायतका नोट राखिएका थिए ।

‘यी नोटलाई कलात्मक रूपमा प्रस्तुत गर्न केही साथीहरूसित मिलेर रातिराति पनि काम गरेँ मैले,’ ुरोजले भने, ‘फ्रेमिङका लागि रकम अभाव भएपछि बुढानीलकण्ठ नगरपालिकाले केही आर्थिक सहयोग गर्‍यो । टुपेक नवपुर क्लब र बुढानीलकण्ठ युथ क्लबले पनि साथ दिए ।’

विद्यालयहरूमा यी नोटहरूको नि:शुल्क प्रदर्शनी गर्दै आएका सरोज अब भने केही निश्चित रकम लिएर प्रदर्शनी गर्ने सोचमा छन् । ‘मुद्राले सम्बन्धित देशको तत्कालीन परिस्थितिबारे पनि जानकारी दिन्छ,’ उनले भने, ‘मैले पुराना सिक्काहरू पनि संकलन गरिरहेको छु । संकलन एउटा चरणमा पुगेपछि ती पनि प्रदर्शनीमा ल्याउनेछु ।’

प्रकाशित : माघ २८, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्

पूजासँगै पान

कान्तिपुर संवाददाता

ललितपुर — माहोल सरस्वती पूजाको तर परिसर भने मैथिलीमय । चित्रकला मात्रै हैन, मैथिली परिकार र त्यसपछि अन्तिममा खाने मिठा पान पनि । पुलचोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको दृश्य हो यो ।

पुलचोकको इन्जिनियरिङ अध्ययन संस्थानमा आइतबार प्रदर्शित मैथिली चित्रकला र खानपान । तस्बिर : शिल्पा कर्ण/कान्तिपुर

क्याम्पस परिसरमा रहेको सरस्वती मन्दिरमा पूजा गर्न आउनेका लागि मिथिला चित्रकला र मैथिली परिकारको स्वाद निकै मौलिक लाग्थ्यो ।

पहिले सरस्वतीको दर्शन–पूजन, अनि मिथिला चित्रकलाको अवलोकन । मन्दिरपछि कला प्रदर्शनीस्थल पुग्ने बाटो बनाइएको थियो । प्रदर्शनीमा कतै महिलाले ढिकी–जाँतो गरिरहेका तस्बिर थिए भने कतै घरआँगन सफा गरिरहेका दृश्य । मैथिली समुदायमा निकै महत्त्वपूर्ण मानिन्छ माछा । यो शुभको संकेत हो ।

प्राय: मैथिली चित्रकारले माछाको प्रतीक प्रयोग गर्छन् । प्रदर्शनीमा भने माछा मार्ने ‘मल्लाह’ ले जालबाट माछा निकालेर बेच्दै गरेका तस्बिर पनि थिए । कृष्णले बाँसुरी बजाइरहेका र पानी भरेर फर्किरहेका गोपिनीको दृश्य भने पेन्टिङमा उतारिएको थियो । सीता र रामको स्वयंवर, जसलाई मिथिला परम्पराममा विशिष्ट स्थान दिइन्छ, प्रदर्शनीमा ती दृश्य झल्किने पेन्टिङ पनि थिए ।

पूजा समितिका रवि मिश्रका अनुसार ३५ चित्र प्रदर्शनीमा राखिएका थिए । तिनलाई सिर्जना गरेका थिए, हरिओम मेहता, मनीषा साह, अजितकुमार साह, रेणु यादव र हरेराम यादवले । क्याम्पसको सरस्वती पूजा समितिका अनुसार आइतबार करिब १३ हजार श्रद्धालु पूजा र प्रदर्शनीमा सहभागी भए ।

प्रदर्शनीसँगै मिथिला परिकार पनि राखिएको थियो । स्टलमा सजाइएका थिए— दूधपिठ्ठी, पिरुकिया, खजुरिया लगायतका परिकार । ‘पूरै मधेसको संस्कृति झल्कियोस् भनेर प्रदर्शनी गरेका हौं,’ पूजा समिति अध्यक्ष साहिल मण्डलले भने, ‘मैथिली परिकारमध्ये धेरै यस्ता छन् जसलाई राजधानीले चिन्दैन । कम्तीमा युवा पुस्तामाझ चिनाउन सकियोस् भनेर वसन्त पञ्चमीका अवसरमा प्रदर्शनी राखेका हौं ।’

क्याम्पसले यसरी प्रदर्शनी गरेको यो तेस्रोपल्ट हो । आइतबार क्याम्पसमा सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो ।

प्रकाशित : माघ २८, २०७५ ०८:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्