कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कान्तिपुर कन्क्लेभ–‘लैंगिक समानता पुरुषकै लागि’

सुनीता साखकर्मी

काठमाडौँ — नेपाली समाजमा महिलालाई लक्ष्मी, दुर्गालगायत देवीका अवतारसँग जोडेर सम्मान दिने गरिन्छ । आस्थाकै भरमा मन्दिरकी देवी पुजिन्छिन् ।

कान्तिपुर कन्क्लेभ–‘लैंगिक समानता पुरुषकै लागि’

तर महिला पुज्ने समाजमा कतिपयले चेलीबेटी, श्रीमती, बुहारीलाई पनि देवीको मूर्तिलाई झैं स्थिर, शान्त र सीमित पार्न चाहन्छन् । ‘पोथी बास्नु हुन्न’, ‘रुद्रघण्टी नहुनेको विश्वास गर्नु हुन्न’ जस्ता टीकाटिप्पणी र भनाइ महिलाले सुनिरहेका हुन्छन् ।


देवीलाई मन्दिरबाहिर निस्किन प्रतिबन्ध लगाएझैं महिला घरमै बस्नुपर्ने भूमिका दिइएको छ । उनले सबैको गुनासो सुन्छिन्, तर बोल्न पाउँदिनन् । समाजले पुरुषलाई शक्तिशाली, निर्भीक र महिलालाई भने सहनशील, कमजोरजस्ता चरित्रको टयाग भिराइदिएको छ ।

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभको दोस्रो दिन यसैमा केन्द्रित रहेर ‘महिला पुरुषको दाँजोमा कहिले ?’ विषयमा चर्चा गरियो । लामो समयदेखि मानव अधिकार र लंैगिक समानताकी अभियानकर्ता एवं अधिकार संस्थाकी सहसंस्थापक लुना रञ्जित, लेखक सञ्जीव उप्रेती र फोटो डट सर्कलकी सहसंस्थापक नयनतारा गुरुङ कक्षपतीले यो सेसनमा छलफल गरे ।


लैंगिक समानता पुरुषहरूकै लागि पनि फाइदाजनक हुने सञ्जीवले दाबी गरे । समाजले सानैदेखि पुरुषमाथि कहिल्यै रुन नहुने, शक्तिशाली हुनुपर्ने, पैसा कमाउनुपर्नेलगायत अवास्तविक भारी बोकाएको समेत उनले आरोप लगाए । लैंगिक समानताले यसलाई तोडेर पुरुषहरूलाई भावुक हुन सघाउनुका साथै सम्बन्धहरू मजबुत हुने मत उनले अघि सारे ।


‘सानैदेखि भनिने असमानताका कुराहरूले बालकको मस्तिष्कमा त्यही खालको विश्व दृष्टि निर्माण गरिदिन्छ,’ उनले भने, ‘कुनै पनि पुरुष ३६५ दिन शक्तिशाली रहन्छ भन्ने कुरा असम्भव हो । अनि कुनै महिलाले सार्वजनिक क्षेत्रमा काम गर्न थालिन् र शक्तिशाली देखिइन् भने ती पुरुषको विश्वदृष्टिमा खल्याङमल्याङ हुन सक्छ । अनि पुरुषमा महिलाहरूप्रति ईष्र्या जागेर त्यो हिंसाको रूपमा प्रकट हुन जान्छ ।’ तर सबै पुरुष महिलाको प्रगतिबाट आतंकित हुन्छन् भनेर सामान्यीकरण गर्न भने नहुने उनले सुनाए ।


अहिले विश्वभर चलेको ‘ही फर सी’ (महिलाका लागि पुरुष) क्याम्पेन नै चलेको छ । जहाँ पुरुषहरूले महिला अधिकारका पक्षमा वकालत गरेका छन् । कतिपयले यो नारा नै पितृसत्तात्मक रहेको आलोचना गरेका छन् । तर सञ्जीवको हिसाबमा अहिलेसम्म समाजमा सबै बराबर नभएकोले समानताको स्थितिमा नपुगुन्जेलसम्म आरक्षण गर्नुपर्छ ।


तर त्यसो भन्दैमा कति पुरुषले महिलालाई रक्षा गर्ने भूमिकामा देखिनुपर्छ वा महिलाहरूले दु:ख पाएकोले उनीहरूमाथि दया वा सहानुभूति राख्नुपर्छ भन्नेचाहिँ उनलाई लाग्दैन । पुरुषले महिलालाई साथ सहयोगका साथै समानुभूतिको अनुभव गराउनुपर्नेमा उनले जोड दिए ।


जतिसुकै बाहिर निस्केर काम गर्ने वा प्रगति गर्ने महिला भए पनि ऊबाट पूर्व निर्धारित मान्यता वा चरित्रको परिपालन होस् भन्ने आशा राख्ने गरेको लुनाले बताइन् । आफ्नै परिवारभित्र पनि पहिलेदेखि चल्दै आएको सिस्टम मानिदिए हुन्थ्यो भन्ने आशा गर्ने गरेको उनले सुनाइन् । ‘हाम्रै परिवारभित्र पनि यस्तो समस्या छ,’ उनले भनिन्, ‘घरमा महिलाहरू भएको अवस्थामा मेरा पतिले भान्सामा आफूले खाना खाएको थाल माझ्न खोज्दा उनलाई रोकिन्छ र भनिन्छ यो महिलाहरूको काम हो, तिमी नगर ।’ यस्ता आन्तरिक उत्पीडनबाट बाहिर निस्कनुपर्नेमा उनले जोड दिइन् ।


काठमाडौंमै हुर्किएकी उनले नेवार समुदायभित्रै पनि अन्तरजातीय विवाह गरेकी हुन् । सानैदेखि देख्दै आएको वर्ग विभेद, जातीय विभेदले गर्दा यसविरुद्ध लड्नुपर्ने भावना उत्पन्न भएको उनलाई प्रोत्साहन मिल्यो ।


पत्रकार सुबिना श्रेष्ठले सहजीकरण गरेको सत्रमा नयनताराले आजको महिलाको स्थितिलाई मूल्यांकन गर्नु पहिले इतिहासमा महिलाहरूको अवस्था कस्तो थियो भनेर बुझ्नुपर्ने बताइन् । अहिले पनि महिलाको स्थान घरभित्र नै हो भन्ने बुझाइ परिवर्तन नभएको उल्लेख गर्दै नयनताराले अहिलेसम्मको अवस्थासम्म आइपुग्न धेरै महिलाले संघर्ष गरेको दाबी गरिन् ।


तर महिलाहरूले सामाजिक सहभागिता, शिक्षालगायत समाजकै दायरा फराकिलो बनाउन र श्रम समायोजन गर्न गरेको लामो संघर्षलाई दस्तावेजीकरण नगरिएकोमा दु:ख व्यक्त गरिन् । ‘अदृश्य रूपमा रहेको इतिहासलाई विस्तारै सर्वसाधारणसम्म ल्याउँदा बुझाइ फरक हुन जान सक्छ,’ उनले भनिन्, ‘यसबारे रिसर्च गर्ने शीर्षक धेरै छन् ।’


नयनताराका अनुसार नेपालमा चलेको दसवर्षे सशस्त्र द्वन्द्वमा महिलामाथि भएको यौन हिंसाबारे पीडितले, सत्तापक्षले र विद्रोही पक्षले खुलेर नबोलेको उनले स्विकारिन् । समाजमा यौन वा यौन हिंसाबारे बोल्नै हिचकिचाउने गरेको उनले बताइन् । ‘बलात्कार र हत्यापछि मात्रै यौन हिंसा वा अपराधबारे कुराहरू बाहिर आउने गरेका छन्, त्यसबारे चर्चा हुन्छ, तर घरायसी रूपमा हुने हिंसाबारे बोलिँदैन, सजिलै पचाउँदै आइएको छ,’ उनले भनिन्, ‘खुला रूपमा यसबारे चेतना फैलाउन वा बहस गर्ने वातावरण मिलाउन घरबाटै पहल हुनुपर्छ ।’

प्रकाशित : फाल्गुन ७, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?