ब्रो, हाउ क्यान आई हेल्प यु ?

करिअर फगत जागिर होइन । पैसा कमाउने बाटो मात्र होइन । हामीले जीवनभरि गर्नका लागि रोजेको बाटोले पैसा दिनुपर्छ नै, त्योभन्दा बेसी सन्तुष्टि दिनुपर्छ । सन्तुष्टि केले दिन्छ भन्नेमा आजका तन्नेरी अलमल्लिएका छन् ।
२६ औं वार्षिकोत्सव विशेष : तन्नेरी
दुर्गा कार्की

काठमाडौँ — गत साता मंगलबार बिहान साढे ८ बजे कान्तिपुरका प्रधानसम्पादक नारायण वाग्लेले यो लेखका लागि फोन गर्दा म अलिअलि घाँटी दुखेको निहुँमा हाकिमलाई अबेर मात्र आउँछु भन्ने इमेल पठाएर पल्टेकी थिएँ । विषय रहेछ– नेपाली तन्नेरी को हुन् ?



फोन राखेँ । फेरि सुत्न लाज लाग्यो । मभन्दा झन्नै दोब्बर उमेरको कपाल सेतै फुलेको मान्छे चिसोसिसो नभनी एक राउन्ड मर्निङ वाक भ्याएर कफी खाँदै मलाई फोन गर्दै गरेको हुँदो हो । एकछिनओच्छ्यानमै बसेर घोत्लिरहेँ— को हुन् नेपाली तन्नेरी ? उनीहरू कसरी सोच्छन् ? के सोच्छन् ? कस्ता सपना देख्छन् ?

छेउको सिरकले किन नपट्याएकी, फेरि पल्टने विचार छ कि भन्ने पाराले मलाई हेरिरहेको थियो । हठात् दिमागमा आयो, नेपाली तन्नेरीको पहिलो गुण वा चरित्र हो– अल्छीपन । हाम्रो प्रिय वाक्य हो, ‘ह्या... झ्याउ लाग्यो १’ राष्ट्रिय युवा परिषद् ऐन, २०७२ ले युवालाई १६ देखि ४० वर्ष उमेर समूहका व्यक्ति भनेर परिभाषित गरेको छ । युथ भिजन २०१५ ले १६ देखि २४ र २५ देखि ४० गरी यिनै युवालाई पनि दुई समूहमा वर्गीकरण गरेको रहेछ । मचाहिँ तन्नेरी पुस्तालाई उमेरका आधारमा कसरी वर्गीकरण गर्ने भनेर अल्झेँ । लेख्दै जाँदा लाग्यो, उमेरका आधारमा तन्नेरीलाई वर्गीकरण गर्दा लेख र तन्नेरी दुवैलाई अन्याय हुन्छ । यो लेखमा आफूलाई भेट्टाउने सबै तन्नेरी १

अल्छे तिघ्रो, स्वादे जिब्रो

८ वर्षअघि मेरी साथी स्टुडेन्ड भिसामा जापान गएकी थिई । कामको दबाबर घरसित दूरीको पीडा सहन नसकेर फोनमै घ्वाँघ्वाँ रुन्थी । भन्थी, ‘यहाँ गरेजस्तो मिहिनेत नेपालमा गरेको भए मैले कलेज मात्र होइन, नेपाल टप्थेँ होला ।’

एकाध वर्षमा ऊ फेरि पढ्न भनेर नेपाल फर्की । ब्याचलर सुरु गरी । नेपाल वा कलेज त के, कक्षा पनि टपिन । उसकै भाषामा भन्ने हो भने उसले त्यहाँजस्तो मिहिनेत यहाँ गरिन ।

नेपाली तन्नेरीको पहिलो (दु:)गुण हुनुपर्छ, अल्छीपन । अल्छी हुन हामीले केटाकेटीदेखि जानेर आउँछौँ सायद । साथीले गृहकार्य गरेको छैन भने खुसी हुन्छौँ, गरेको भए ‘के साह्रो पढन्ते हो ?’ भन्दै उडाउँछौँ । स्वस्थ प्रतिस्पर्धाको भावना हामीमा छैन । महिनौँ बिदा भएपनि पढ्ने भनेको जाँचको अघिल्लो रात त हो भनेर हामी अल्छीपनको सगर्व प्रचार गर्छौं र अरूलाई पनि थप अल्छी हुन हौस्याउँछौँ । कक्षामा अलिक कम विद्यार्थी भए, पानी पर्न खोजे वा अलिक बेसी जाडो भए आज नपढौँ भन्ने जनमत बटुलेर शिक्षकलाई कक्षाबाट धपाउँछौँ । आफूलाई पूर्णकालीन विद्यार्थी भन्छौँ तर साथीलाई प्रेजेन्टेसन बनाउन लगाउँछौँ, थेसिस चोर्छौँ, किन्छौँ ।

लाग्छ, हाम्रो अल्छीपन हामीभित्र खिया बनेर जमिसक्यो । हाम्रो प्राकृत सिर्जनशीलताले कहिल्यै परिमार्जन पाएन, पाउनै नसक्ने भइसक्यो ।

देशको हाल, मलाई बाल १
जल्दोबल्दो विषयमा स्नातकोत्तर गर्दै गरेकी एकजना साथीले एक दिन कुरैकुरामा अहिलेको संसद्लाई संविधानसभा भनी । जिब्रो चिप्लिएको हो कि भनेर बुझ्न मैले फेरि सोधेँ । होइन रहेछ ।

यहाँनेर उसलाई होच्याउने नियत मेरो होइन । देशको हालखबरबारे हामी कति अनभिज्ञ छौँ भन्ने कुराको प्रतिनिधि उदाहरण हो यो । के सत्य हो भने आजको तन्नेरी पुस्तामध्ये अत्यन्त कमले मात्र नियमित पत्रपत्रिका पढ्छन् वा समाचार सुन्छन् । आमसञ्चारका माध्यमले युवा पुस्तालाई आकर्षित गर्न सकिएन भनेर तन्नेरीका लागि छुट्टै विशेषांक वा रमाइला कार्यक्रम निकाल्न थालेको धेरै भइसक्यो । प्रेम, सेक्स, सेलेब्रिटी, म्युजिक, फेसन र स्पोर्ट्स आदिका वरपर घुम्ने यी विशेषांक बाटो हिँड्दा पत्रिका पसलहरूमा झुन्डिरहेका देखिन्छन् । तन्नेरी पुस्तालाई देशको राजनीतिक घटनाक्रम, सामाजिक अवस्थिति र त्यसमा उनीहरूको भूमिकालाई बुझाउने प्रयास खोइ ?

नयाँ संविधान बन्यो, उत्सव मनाइयो, किन मनाइयो ? थाहा छैन । तराईको ठूलो समुदायले संविधानलाई कालो झन्डा देखायो, संविधानको किताब जलायो, किन जलायो ? थाहा छैन । गाविसको ठाउँमा गाउँपालिका आयो तर किन आयो, थाहा छैन । फेसबुक र इन्स्टाग्राममा मिम बनाउने एउटा जमातले लाइक र सेयर बटुल्न रमाइलो बनाउने नाउँमा तथ्यलाई तोडमरोड गरेर सम्प्रेषण गरेको सूचनाका आधारमा तन्नेरी पुस्ताले समाचारको तिर्खा मेटिरहेको छ । त्यसकै आधारमा अत्यन्त संवेदनशील विषयप्रति धारणा पनि बनाइरहेको छ । र, त्यसकै आधारमा भनिरहेको छ (भाषाका लागि माफी चाहन्छु तर यो हाम्रो विचार र व्यवहारको सबैभन्दा नरम अभिव्यक्ति हो भन्ने पाठकलाई थाहै छ) –
यी चोर नेताहरू सबलाई लगेर झुन्ड्याउनु र गाड्नुपर्छ अनि मात्र देश बन्छ ।
यस्तो मु... देशमा नि कोही बस्छ?
यो त्यो जमात पनि हो, जसले मुख्यमुख्य पत्रपत्रिका तथा अनलाइनका सामाजिक सञ्जालका खाता लाइक गरेको छ । तिनले पोस्ट गरेका सनसनी मच्चाउने खालका समाचार खोलेर हेर्छ पनि तर विस्तृत जानकारी पाउन गुगल गर्दैन, युट्युब गर्छ । त्यहाँ अनलाइन टीभी नाम दिएर खोलिएका पत्रकारिताको मर्म र उत्तरदायित्वलाई भ्युजसँग चपाएर लाइक्ससँग निल्दिने स्रोतहरूले अतिरञ्जित तवरले ‘आइए देखिए क्या हो रहा है इधर’ शैलीमा हिन्दी टीभी च्यानल मार्काका सूचना दिन्छन् । प्रतिनिधि केही उदाहरण यी हुन्–
‘राजीव गुरुङले गरे तेस्रो पटक डिभोर्स, बच्चासहित आएर पोखे पीडा’
‘यस्तो अचम्म यी महिलालाई, ११ वर्षमा तोडे भर्जिन’
‘कुवेतमा काम गर्न पुगेका एक युवक, मालिक्नीलाई यौन प्यास मेटाएर थानकोटमा घर’
‘राजा वीरेन्द्रको प्रिय घर, ऐश्वर्य घाँस काट्थिन् वीरेन्द्र कुटोले बगैँचा खन्थे’ आदि ।

राष्ट्रिय युवा नीतिले राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहक मानेका युवाको बुद्धि विकास गर्ने खुराक यही हो ? बलात्कार नियन्त्रणका लागि अर्बन डिक्सनरीलाई पोर्न साइट ठानेर बन्द गर्ने हाम्रो सरकारसित युट्युबमा कसकसले के–के अपलोड गरिरहेको छ भनेर हेर्ने समय र आँट किन छैन ? हाम्रा तन्नेरीले दिमागमा कस्ता विचार पालेर हिँडेका छन् भन्ने कुराले समृद्धिको बाटोमा फरक पार्छ कि पार्दैन ? पार्छ भने उनीहरूको चासो परिमार्जन गर्न राज्यको भूमिकाखोइ ? राज्यको चौथो अंगको भूमिका खोइ ? कि यसमा पनि चलचित्रमा जस्तै जे बिक्छ त्यही मात्र दिइरहने हो ?

स्याल हुइँयाका पछाडि
तन्नेरी पुस्ता फेसबुकमा फोटो हाल्नकै लागि मार्दी हिमाल र कालिन्चोक गइदिन्छ । ससाना कुरामा पनि दंगफुरुंग पर्छ । जति दंग पर्छ त्योभन्दा बढी अरूलाई देखाउँछ । ससाना कुरामै सेलाउँछ पनि । हरेस खान्छ । हरेसभन्दा धेरै चरेस खान्छ । धूवाँ निल्छ, धूवाँ ओकल्छ । चाँडै झ्याउ मान्छ, इरिटेटेड हुन्छ, फ्रस्ट्रेटेड हुन्छ अनि डिप्रेस्ड हुन्छ । कहिलेकाहीँ पंखामा झुन्डिन वा नाडी चिर्न पनि पछि पर्दैन । तन्नेरीहरूसित सहने, जुध्ने, लड्ने, लडेपछि उठ्ने र दौडने ‘हरेस प्रतिरोधात्मक क्षमता’ कम हुँदै गएको छ ।

यही भीडमा एउटा त्यस्तो तन्नेरी दस्ता पनि छ, जो अनमोल केसीको डाइहार्ड फ्यान बन्छ तर सुनील पोखरेललाई चिन्दैन । ‘छक्का पन्जा’ हेरेर रुन्छ अनि ‘गोपी’ लाई कृषि कार्यक्रम भनेर उडाउँछ । सार्वजनिक यातायातमा ठूल्ठूलो स्वरमा व्यक्तिगत कुरा गरेर गललल्ल हाँस्छ र वरपरका मान्छेले अनौठोसित हेरे ‘हाम्लाई बाल ?’ एटिच्युड दिन्छ । जेब्रा क्रसिङमा गाडी नरोके ड्राइभरलाई माझीऔँलो देखाएरहिँड्छ । उहिलेकाहरूसित ईख हुन्थ्यो, अहिलेकाहरूसित एटिच्युड छ । तन्नेरी पुस्ताको एउटा जमात सेक्सका मामलामा उदार हुनुलाई प्रगतिशील हुनु भन्ठान्छ । अर्को सिंगै जमातका लागि अझै यो ‘बिजेती कुरो’ हो । गर्लफ्रेन्ड वा ब्वाईफ्रेन्ड नहुनु लाजको विषयजस्तै मानिन थालेको छ । ‘तेरो छम्मा छँदै छैन ?’ भ्यालेन्टाइन डेको अघिल्लो दिन मेरै अघि हिँडिरहेका दुई तन्नेरीहरूले एकअर्कालाई सोधेको प्रश्न । मन पराउनुस् वा नपराउनुस्, यी हाम्रो तन्नेरी पुस्ताका प्रतिनिधि झलकहरू हुन् ।

प्राइभेट लाइफको पब्लिक डिस्प्ले
इन्टरनेट र सामाजिक सञ्जालले आजको हाम्रो पुस्तालाई बाहिरी दुनियाँको झिलीमिली र चमकधमक देखाइदिएको छ । कुन रेस्टुरेन्टमा पसेर के खाएकोदेखि कुन पार्टीमा कुन लुगा लगाएको भन्नेसमेत रेकर्डेड भएर बस्छ । तन्नेरीहरू एकचोटि लगाएर फेसबुक वा इन्स्टाग्राममा फोटो राखिसकेको लेहेङ्गा वा सारी अर्कोचोटि लगाउनु भनेको बेइज्जत हुनु भन्ठान्छन् । बुटिकमा बनाएको डिजाइनर लेहेङ्गा वा रेडिमेड किनेका यस्ता लुगा दसौँ हजारदेखि लाखौँको मूल्य पर्छन् र एक–दुईचोटि लगाएपछि थन्कन्छन् । मान्छेको आङमा पर्नासाथ भर्चुअल दुनियाँमा पब्लिक डिस्प्लेमा जाने व्यक्तिगत जीवनका यी क्रियाकलापले हुनेहरूमा त्यस्तैको लोभ उमारिदिन्छन्, नहुनेमा आरिस अथवा अरू केही नभए इन्फेरियोरिटी कम्प्लेक्स ।

सामाजिक सञ्जालको ‘देखाउने’ प्रवृत्तिले ‘घाँटी हेरी हाड निल्नुपर्ने’ हाम्रा तन्नेरीहरू (मात्र होइन, पाकाहरू पनि) बहकिएका छन्, अल्मल्लिएका छन् । कोही घाँटीमा हाड अड्काएर अलपत्र परेका छन्, कोही हाड हेरेर घाँटीको साइज बढाउनतर्फ हतारिएका छन् । उनीहरूको सपनाको मार्गचित्रमा नम्बर एकमा आएर बसिदिएको छ, पैसा । केहीअघि आफू पढेको स्कुलका भाइबहिनीलाई १२ पछि केपढ्दा राम्रो भन्नेबारे परामर्श दिन गृहजिल्ला पुगेकी म धेरैको करिअरको पहिलो चासो ‘कमाइ कत्तिको हुन्छ ?’ केन्द्रित देखेर छक्कै परेकी थिएँ ।

करिब ६ वर्षअघि प्लस टु सकेर भृकुटीमण्डपको शिक्षा मेलामा पुगेका मसहितका केही साथीलाई पनि त्यहाँका व्यावसायिक करिअर काउन्सिलरले हाम्रा आगामी बाटाहरू कमाइबाटै सुरु गरेर कमाइमै टुंग्याएका थिए । कति साथीले त मन परेको विषयमा कमाइ हुन्न भनेर अरू विषय पढे पनि । आजका तन्नेरीहरूमा सोख (हब्बी) वा तन्मयता (प्यासन) नभएको होइन तर त्यसलाई सपना वा करिअर बनाउन पैसाले छेक्दैछ । करिअर फगत जागिर होइन । पैसा कमाउने बाटो मात्र होइन । पैसा कमाउने त हजार बाटा छन्, त्यसका लागि पढ्नैपर्छ भन्ने पनि होइन । हामीले जीवनभरि गर्नका लागि रोजेको बाटोले पैसा दिनुपर्छ नै, त्योभन्दा बेसी सन्तुष्टि दिनुपर्छ । सन्तुष्टि केले दिन्छ भन्नेमा आजका तन्नेरीहरू अल्मल्लिएका छन् ।

प्लस टु पास, विदेश टाप
केहीअघि इन्स्टाग्राममा कुनै एजुकेसन कन्सल्टेन्सीको प्रायोजित भिडियोमा अक्मकाउँदै, कनीकुथी अंग्रेजीमा एकजना युवती प्लस टुमा प्रतिशत पचासको लाइनमा आएको भए पनि आफूले अस्ट्रेलियाको भिसा पाएको भनेर अरूलाई हिम्मत नहार्न सल्लाह दिँदै थिइन् ।

तन्नेरीहरूले मात्र होइन, तन्नेरीका अभिभावकले पनि देशमा भविष्य देख्न छाडेका छन् । अलिकति हुनेखाने वा ऋण गर्न सक्नेहरूको पहिलो उद्देश्य प्लस टु सकेर विदेश जाने भएको छ । के पढ्ने ? जे सजिलो र सस्तो हुन्छ, त्यही । ऋणकोपिर र पैसा कमाउने लालसाले धेरैको पढाइ छायामा परेको छ । यी तन्नेरीहरू साताका पाँच दिन मरीमरी काम गर्छन् र ‘विकेन्ड फन’ भन्दै समुद्री किनार वा कुनै फलफूलको बगैँचामा राम्रा लुगा लगाएर यसरी फोटो हाल्दिन्छन्, माइक्रोको कुनामा कोच्चिएर डेटाबाट फेसबुक चलाउँदै गरेका ठिटाठिटीलाई लाग्छ, ‘आहा, त्यस्तो पो त जीवन १’ छोराछोरीको दीक्षान्तमा अस्ट्रेलिया पुगेका बाबुआमाले विमानस्थलबाट हिँडेदेखि घर नफर्क‘न्जेलसम्म हालेका फोटा हेरेर भर्खर चोरऔँलाले स्क्रोल गर्दै फेसबुक हेर्न थालेका आमाबाबु भन्छन्, ‘तँ पनि जान्छस् त बाबु अस्ट्रेलिया ?’

अस्ट्रेलियाले आफ्नो निर्यात बजारको तेस्रो ठूलो स्रोत विश्वविद्यालयस्तरीय शिक्षालाई बनाएको छ । त्यसमा चिनियाँ र भारतीयपछि ब्राजिललाई उछिन्दै नेपाली विद्यार्थी तेस्रोमा आएका छन् । तर, त्यहाँ विद्यार्थी भिसामा जानेहरूको मुख्य उद्देश्य पैसा कमाउने हो । ‘बिहे नगरी नआऊ, एक जनाको कमाइले त केही हुँदैन,’ गएकाहरू आउन लागेकाहरूलाई सल्लाह दिन्छन् ।

अर्का एकथरी तन्नेरी छन्, जो नयाँ बसपार्क वा विद्युत् प्राधिकरण अगाडिको आकाशेपुलमा बसेर घण्टौँ रमिता हेर्छन्, जसलाई न कहिल्यै अबेला हुन्छ, न हतारमा ठेलमठेल गरेर हिँडेकाहरूको कुइनोले बिझाउँछ । यी तन्नेरीहरूमा अधिकांश खाडीको जागिरको ‘इन्टरभ्यू’ सकेर मेडिकलको मिति वा जहाजको आवाज पर्खिरहेकाहरू हुन्छन्, जसलाई उडेपछि ‘धोब्बी’ दु:ख गर्नुपर्छ भन्ने थाहा छ, यहाँ भइन्जेल सक्दो ‘मोज’ गर्न चाहन्छन् । उनीहरू टुँडिखेलमा सेनाले गरेको गोडाफाट वा बसपार्कको धूलोभित्र के खोज्छन्, उनै जानून् । ५८ डिग्री सेन्टिग्रेडमा बगाउनुपर्ने पसिनाको नुनिलोपन थाहा नभएपनि उनीहरूलाई के चाहिँ थाहा हुन्छ भने योदेशमा बसेर काम छैन । तन्नेरीहरूको विदेशप्रतिको यो आकर्षण (र बाध्यता) राष्ट्रियताको बार वा कोटेश्वरका पोलपोलमा टाँसिने समृद्धिका पर्चाले मात्र रोकिन्न भने सरोकारवालाले जति छिटो बुझ्यो उति राम्रो ।

सपनाको चीरहरण
देशमा त्यस्ता तन्नेरी पनि छन्, जो बिहान झिसमिसेमै कलेज भ्याउन दौडिन्छन् र कलेज सकिनासाथ कुनै निजी स्कुलमा दैनिक दुई सय रुपैयाँमा पढाएर साँझ ७० रुपैयाँ किलो काउली किन्छन् । सडकछेउ ठेलामा एक हातले गाडीको धूवाँ धपाउँदै अर्को हातले झोल थपेर म:म खान्छन् । र सपना देख्छन्, सस्तिएको काउलीको, न्यानो जुत्ताको, यसपालि एसईई दिने बहिनीको ‘आर्को साल त म पनि काठमाडौं आउनी हो’ भन्ने निर्दोष घुर्कीको । यी तन्नेरीको सपनामा गाडी छैनन् तर रोड छ, काठमाडौँमा घर छैन तर पकाउन र सुत्न छुट्टाछुट्टै कोठा छ । यिनका सपनामा जोस छैन तर आक्रोश छ । यही आक्रोशको न्यानो जम्मा पारेर ताप्न पल्केका नेताहरूले ‘राजनीति नै तिम्रा सपनाहरूको एक मात्र भर्‍याङ हो’ भनेर उनीहरूका कान भरिरहेका छन् । यिनका मात्र त्यस्ता सपना हुन् जसको पुरानो पुस्ताका सपनासँग उति धेरै अन्तर छैन । बस्, अन्तर छ, काउलीको मूल्यमा, मजदुरीको प्रकारमा, दरमा ।

यी तन्नेरी मूलत: देशका सरकारी कलेजहरूमा पढ्छन् । कथित विद्यार्थी राजनीति गर्छन् । केही फुलटाइम, केही पार्टटाइम । फुलटाइम राजनीति गर्नेहरू बिहानदेखि बेलुकीसम्म फुंग उडेको अनुहारमा, साधारण पहिरनमा कलेजवरपरै भेटिन्छन् । सरकारी क्यान्टिनमा सेल, आलुचना र दूध चिया खाएर ग्यास्ट्रिक पाल्छन् । हाफटाइम राजनीति गर्नेहरू बाठा छन् । राजनीतिमा उनीहरूको ‘मोटिभेसन’ मान्छे चिनिराखे पछि काम लाग्छ भन्ने हो । उनीहरू आफूलाई चाहिँदा मात्र राजनीति गर्छन् । र, केही रहलपहल तन्नेरी छन्, जो थोत्रा नेताको भाषणदेखि वाक्क छन् तर पनि उनीहरूसित समाचारका लिंक खोलेर पढ्ने चासो र समय छ । उनीहरूको आक्रोश देशको बेथितिले झनै मौलाउँछ । यी तन्नेरीमध्ये तिनै हुन् जो गजल कविता लेख्छन्, नयाँ कुरा जान्न–बुझ्न खोज्छन् र जो जानेर होस् वा नसकेर होस्, आधुनिकताको महादौडमा हेलिएका छैनन् । वैकल्पिक राजनीतिको बाटो समात्ने धेरै यिनैमध्येका छन् ।

ओझाएको आगो र सपनाको चोर बाटो
तन्नेरीको अर्को समस्या के हो भने उनीहरूको पेटभित्र आगो छैन । आगो केले जन्माउँछ ? दु:खले, पीडाले, संघर्षले । दु:ख आफैँले गर्नुपर्छ भन्ने छैन, अर्काले गरेको दु:ख देख्न सक्ने आँखा र महसुस गर्न सक्ने मुटु हुनुपर्छ । हाम्रो पुस्ताले खाली गुनासो मात्र गर्न जानेको छ, आफूले पाएका कुराप्रति धन्य हुन जानेको छैन । आजको पुस्ता अधिकारका कुरा निकै कड्किएर गर्छ । अधिकार र कर्तव्य एकै सिक्काका दुई पाटा हुन् भनेर केटाकेटीदेखि रटेको भनाइ भने बिर्सन्छ । हिजो हाम्रा बाबुआमाले चामलको भात खाने रहर पूरा गर्न दु:ख गर्थे । आज हामीले गर्ने दु:खका स्वरूप बदलिएका छन् तर हामीलाई हाम्रा अग्रजको दु:ख दन्त्यकथाजस्तो पनि लाग्न हुन्न । आजका हामी तन्नेरीसँग सुन्ने र गुन्ने क्षमता कम छ । हामीलाई अत्यन्त चाँडो रिस उठ्छ, हठात् प्रतिक्रिया जनाउनमा हामी माहिर हुँदै गएका छौँ ।

हामीसँग कोरा किताबी ज्ञान छ, अनुभव छैन । अनुभवको बाटो लामो, झन्झटिलो र अप्ठ्यारो छ । हामीसँग त्यो बाटो हिँड्ने आँट र धैर्य छैन । बिहान आँखा खुल्नासाथ मोबाइलको स्क्रिनमा देखा पर्ने सपनाहरूले हामीलाई नसुतुन्जेल पछ्याउँछन् । हामीलाई आफू के चाहन्छौँ भनेर थाहा छैन र जे हामी चाहन्नौँ, त्यसको उल्टो हामीले चाहने कुरा होला भनेर बतासे हानिरहेका छौँ । हाम्रा सपना हाम्रो योग्यता, क्षमता, देश, परिवेश सबैले धान्न सक्नेभन्दा ठूल्ठूला छन् । हामी एकहिसाबले आफ्ना सपनाको दास भएका छौँ ।

र, यी सपना पूरा गर्ने सजिलो र छरितो बाटो विकासे संस्थाहरू बनेका छन् । यिनले कम मिहिनेतमै सजिलो पैसा त बाँडेका छन् नै, तन्नेरीलाई अझ लोभी, अल्छी र विलासी पनि बनाइदिएका छन् । मन फुकाएर तलब खाँदा पनि ट्याक्सीको बिल परेकोभन्दा डबल पेस गर्ने, बिमाको पैसा असुल्न नक्कली डाक्टरको प्रेस्क्रिप्सन खोज्दै हिँड्नेलगायतका केही तन्नेरी हर्कत देख्दा लाग्छ, कमाइ थोरै भएर भ्रष्टाचार हुन्छ भन्ने कथनमा अब पुनर्विचार गर्नुपर्ने भइसक्यो । र, यसरी कमाएको धन ठमेल र दरबारमार्गका नाइट क्लबहरूमा बेफिक्री उडाएर इन्स्टामा स्टोरी राख्दै तन्नेरीहरू ‘कार्पे डीएम’ भन्दै चियर्स गरिरहेका छन् ।

आजका तन्नेरी ती पनि हुन्, जो रात छर्लंगै काटेर पनि कलेजको असाइन्मेन्ट गरिबस्न सक्छन् । दिनहुँ बिहान सातै बजे पढ्नका लागि धुलिखेलदेखि काठमाडौँ ओहोरदोहोर गर्न सक्छन् । कुनै दुर्गम जिल्लाका केही केटाकेटी खाली हातमा किताबकापी बोकेर स्कुल गएका फोटा देख्न नसकेर उत्तिखेरै उनीहरूका लागि लाखौँको झोला जुटाउन सक्छन् । आफ्नो ज्यान हत्केलामा राखेर भूकम्पपीडितका ढलेका घर खोस्रिन पुग्न सक्छन् । हरेक सालजसो बाढीमा घरबार र लत्ताकपडासँगै अनेकन सपना बगाएकाहरूका लागि चिउरा र चाउचाउमा जीवनको आस लिएर पुग्छन् ।

यी सबै खाले तन्नेरीमा राज्यको लगानी खोइ ? जनसंख्याको एउटा ठूलो हिस्सा (कुल जनसंख्याको लगभग २०.८ प्रतिशत, १६ देखि २४ उमेर समूह) को वृद्धिविकासमा राज्यको चासो र चिन्ता खोइ ? हाम्रो दिमागी आयतन बढाउन खुराक खोइ ? हाम्रो जोस, जाँगर, मिहिनेत र स्मार्टनेसलाई परिचालन गर्ने संयन्त्र खोइ ? यिनको उपयोग गर्नु पर्दैन ? २०६६ मै बनेको नीतिलाई ०७२ मा सम्पादन मात्र गरेजस्तो लाग्ने युवा नीति र त्यसकै आधारमा बनेकोयुथ भिजन २०२५ भाषागत क्लिष्टताबाट उम्केर कहिले ‘फिल्ड’ मा आइपुग्ने हो ? जापानमा आफूले गरेको मिहिनेतलाई कलेज टप्न सक्ने लेभलको भनेर स्वमूल्यांकन गर्ने मेरी साथी नेपाल फर्केर कलेज जानेबाहेक केही काम नगर्दा पनि बल्लतल्ल पास हुनुमा उसको मात्र कमजोरी हो र ? नेपाल फर्कनासाथ ऊ किन एकाएक अल्छी भई ? उसलाई अल्छी नबनाउन राज्यले केकस्ता प्रयास गरेको छ ? उसलाई बाबुआमाप्रति निर्भर नबनाईकनै उसको पकेट खर्च बन्दोबस्त गर्न राज्यले के इलम व्यवस्था गरेको छ ?

आजको तन्नेरी पुस्ता ‘माई बडी, माई राइट्स’ भन्ने जमात त हो नै, सँगसँगै शिरमा हात राखेर ‘केही हुन्न, जिन्दगीमा गल्तीबाटै सिकिने हो नि’ भनिदिने अभिभावकको आस राख्ने जमात पनि हो । ‘हैन, जिन्दगी मेरो कि तपाईंको ?’ भनेर झर्कने तर ढोका ढ्याम्म लाउनुअघि बाआमाले ‘जे गर, तर पछि पछुताएर मसँग रुँदै नआइज नि’ भनेको सम्झेर कोठाभित्र रुने जमात पनि हो । भाइलाई दिनहुँजसो लेखिनस्, समाचार पढिनस् भनेर कराइरहने म आफैँ गुरुले नकराएसम्म कहिलेकाहीँ महिनौँसम्म लेख्न बस्दिनँ ।

आजको तन्नेरी पुस्ताको ठूलो हिस्सा अभिभावकविहीन छ । उनीहरूलाई सही बाटो देखाइदिने मान्छे चाहिएको छ तर त्यो को हो भन्ने दोधारमा छन् । पढाइ र रोजगारका लागि काठमाडौँ छिरेको ठूलो जमात परिवारबाट टाढा रहँदाको ‘स्वतन्त्रता’ को ‘आनन्द’ उठाइरहेको छ । यस्तोमा स्कुल तथा कलेज अभिभावक बन्नुपर्नेमा जिम गएर बडी बनाएको, जासुसजस्तो व्यवहार भएको हेर्दै डरलाग्दो डीआई (डिसिप्लिन इन्चार्ज) को हातमा कैँची दिएर विद्यार्थीको कपाल र पाइन्टको लम्बाइ जाँच्दै हिँडेका छन् । परिचयपत्र बिर्सिएकामा विद्यार्थीलाई गेटबाटै घर फर्काएर अपमान र हेपाहा प्रवृत्तिको व्यावहारिक पाठ पढाइरहेका छन् । सबैभन्दा ठूलो अभिभावक राज्यले नै आजको तन्नेरी पुस्तालाई उपेक्षा गरेको छ । पाकाहरूले के बुझ्नु जरुरी छ भने जे हाम्रा कमजोर पक्ष हुन् तिनीहरू हाम्रा सबल पक्ष पनि हुन् । हैसियतभन्दा ठूलो सपना देख्न सक्ने साहस र त्यो सपना पूरा गर्न जोखिम मोल्न सक्ने आँट हाम्रो खुबी पनि हो । र, जे छ त्यसैमा चित्त नबुझाउने असन्तोषी र विद्रोही प्रवृत्तिले हामी तन्नेरीलाई अरूभन्दा फरक बनाउँछ ।

हाम्रो तन्नेरी पुस्ता बहकिएको छ, दिशा गुमाइसकेको छैन । हाम्रो शिरमा हात राखेर सोधोस् राज्यले, ‘ब्रो, हाउ क्यान आई हेल्प यु ?’

प्रकाशित : फाल्गुन ७, २०७५ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

महिला आयोगमा नियुक्ति कहिले ?

महिला हिंसाका सम्बन्धमा सडकमा आवाज उठिरहेका बेला न्यायका लागि पहल गर्ने राष्ट्रिय महिला आयोग पदाधिकारीविहीन छ ।
दुर्गा कार्की

काठमाडौँ — कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ महिना बितिसक्यो । बलात्कारी र हत्यारा पत्ता लगाउन दबाब दिँदै नागरिक समाजले सडकमा आवाज उठाइरहेका छन् । आआफ्नो तरिकाले सरकारी र गैरसरकारी क्षेत्रबाट अनुगमन गरी प्रतिवेदन ल्याउने क्रम जारी छ ।

तिनले अपराधी पत्ता लगाउन सघाएका छैनन् । अनुमानका भरमा निर्दोषलाई पक्राउ गर्दै बयान लिने र छाड्ने क्रम चलिरहेकै छ । यो बीचमा बलात्कारका जघन्य अपराध भइरहेका छन् ।
यस्ता घटनाहरूको सत्यतथ्य अनुगमन गरी न्यायका लागि पहल गर्ने एउटा संरचना छ- राष्ट्रिय महिला आयोग । महिला आयोगले यस्ता मुद्दामा बोल्न सकेको छैन । यस्ता घटनाका पीडितलाई तत्काल हस्तक्षेप गरी उद्धार, राहत र संरक्षण आवश्यक हुन्छ, जसमा आयोगको तत्परता हुनुपर्ने हो । पीडितको न्यायमा पहुँच पुर्‍याउने काम आयोगका तर्फबाट लगभग ठप्प छ । संविधानले संवैधानिक अधिकार दिएको आयोग आफैं एक वर्षदेखि पदाधिकारीविहीन छ ।

राष्ट्रिय महिला आयोग ऐन २०७४ बनेपछि तत्कालीन पदाधिकारीको पद खारेज भयो । नयाँ नियुक्तिमा पनि तदारुकता देखाइएन । महिलामाथि चरम हिंसाका घटना बढिरहेका बेला ती पीडितको भरोसाको केन्द्र राष्ट्रिय महिला आयोगलाई यत्रो समय रिक्त अवस्थामा राख्नु कति जायज हुन्छ ?

सरकारले गत भदौमै महिला आयोगलगायतका संवैधानिक आयोगको गठन प्रक्रिया अगाडि बढाएको थियो । आयोगमा अध्यक्षलगायत अन्य पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आउन आवेदन पनि मागिएको थियो । यो प्रक्रिया कहाँ पुगेको छ, थाहा छैन । संविधानमा आयोगको अध्यक्ष र अन्य पदाधिकारी प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।

आयोगमा दैनिक सरदर १०/१२ जना हिंसापीडित महिला उजुरी लिएर पुग्छन् । उनीहरूको न्यायका लागि दैनिक प्रशासनिक कामबाहेक सरकारलाई ध्यानाकर्षण गराउने र पीडित महिलाको न्यायका लागि हस्तक्षेपकारी भूमिका आयोगले पदाधिकारी नहुँदा गर्न सकेको छैन । गम्भीर खालका अपराधमा पीडकलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न र अदालतमा मुद्दा दायर गर्न प्रहरीको माथिल्लो निकायलाई आदेश दिनुपर्छ जुन काम पदाधिकारीले मात्र गर्न सक्छन् ।
विगतमा आयोगमा विषयवस्तु र मुद्दालाई बुझेर काम गर्न सक्ने व्यक्तिभन्दा जुन पार्टीको सरकार बन्छ उसैका कार्यकर्तालाई नियुक्ति गर्ने पद्धति थियो । त्यसैले आयोगले महिला हिंसा अन्त्य, महिला सशक्तिकरणका लागि जति काम गर्नुपर्ने थियो, गर्न सकेन ।

सशक्त र आम महिलाको भरोसायुक्त संरचना बनाउन आयोगलाई स्वतन्त्र र निष्पक्ष काम गर्न दिनु आवश्यक छ । आयोगको नेतृत्व निर्धक्क काम गर्न सक्ने र परेका बेला सरकारसग पौठेजोरी खेल्दै महिला अधिकार प्राप्तिका लागि अनवरत लाग्न सक्ने हुनुपर्छ । महिलामाथि हुने हिंसाका अधिकांश पीडकले राजनीतिक संरक्षणमा उन्मुक्ति पाइरहेका छन् । महिला हिंसा र अधिकार प्राप्तिका बहसलाई ‘आइमाईका गन्थन’ भन्दा माथि अहिलेको संरचनाले बुझेकै छैन । महिला आयोगको विगतको जस्तो काम गराइले देशको ५१ प्रतिशत जनसंख्याको आवाजलाई सशक्त ढंगले स्थापित गर्दैन ।

यसअघि आयोगमा आउने पदाधिकारीहरू सरकारमा आबद्ध दलबाटै नियुक्त हुन्थे । उनीहरू सरकारलाई अलोकप्रिय बनाउन सक्ने गरी आक्रामक र हस्तक्षेपकारी काम गर्न सक्दैनथे । अबको महिला आयोग त्यस्तो हुनु हुँदैन । यो एक स्वतन्त्र र स्वायत्त संवैधानिक निकाय हो । महिलामाथिका जुनसुकै चरम हिंसा, अधिकार प्राप्ति र सशक्तिकरणका लागि आयोगले बेरोकतोक काम गर्न पाउनेछ ।

महिला आन्दोलनको लामो समयदेखिको मागअनुरूप महिला आयोगले संवैधानिक आयोगको हैसियत पाएको छ । आयोगको अध्यक्ष हुन महिला अधिकारको क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको र स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने संवैधानिक प्रावधान छ । संवैधानिक महिला आयोगको काम गर्ने क्षेत्राधिकार राष्ट्रिय मानव अधिकार आयोगको जत्तिकै हुनुपर्ने माग महिलाको छ । मानव अधिकार आयोगलाई कुनै पनि व्यक्तिलाई आयोगमै उपस्थित गराई बयान लिने अधिकार छ र तत्काल कारबाही गर्नुपरे बिनासूचना सरकारी कार्यालय वा अन्य जुनसुकै ठाउँमा प्रवेश र उद्धार गर्न सक्छ ।

महिला आयोगलाई कानुन सुधार गर्ने, पालना भए नभएको हेर्ने, अनुगमन गर्ने र अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा भएको व्यवस्थाअनुसार प्रतिवेदन तयारीमा सरकारलाई सुझाव दिने र पीडित महिलाका पक्षमा अदालतमा मुद्दा दायर गर्न सम्बन्धित निकाय (प्रहरी) लाई सिफारिस गर्नेसम्मको अधिकार संविधानले दिएको छ । आयोगमा पदाधिकारी आइसकेपछि अधिकार क्षेत्र फराकिलो बनाउने काममा उनीहरू लाग्न सक्छन् । अहिले पाएको अधिकार क्षेत्रमाआफ्नो उपस्थिति बलियो बनाउन सके थप अधिकारका लागि संविधान संशोधन गराउन पहल गर्न सकिन्छ ।

संवैधानिक हैसियत पाएपछिको महिला आयोगको अध्यक्षलगायत अन्य पदाधिकारी कस्ता होलान् भन्ने जिज्ञासा धेरैमा छ । खुला प्रतिस्पर्धाबाट आउने पदाधिकारी योग्य हुनेमा शंका छैन । नागरिक समाजबाट आउने आलोचना, सरकार र यसका अन्य निकायबाट हुन सक्ने असहयोगलाई छिचोल्दै निरन्तर लाग्न सक्ने आट र हिम्मत भएका महिला आयोगमा आए आयोग संरचनागत, कार्यगत र संगठनात्मक सबै हिसाबले बलियो बन्न सक्छ ।

समुदायका महिलाका पीडा बुझेको र सम्पर्क/सम्बन्ध नीति निर्मातासँगै अन्तर्राष्ट्रियस्तरसम्म बलियो भएको अध्यक्ष हुनु राम्रो हुन्छ । तर, अन्य संवैधानिक निकायमा नियुक्तिको अभ्यास हेर्दा महिला आयोगमा पनि नियुक्ति स्वतन्त्र र निष्पक्ष रूपमा होला भन्नेमा शंका छ । तर, महिलाको अधिकार सुनिश्चितता र सशक्तिकरणलाई केन्द्रमा राख्ने पदाधिकारी आयोगलाई चाहिएको छ । पदाधिकारी नियुक्तिमा अलमल नहोस् ।

प्रकाशित : पुस ४, २०७५ ०८:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT