‘टेलिजेनिक लिडर’ को खाँचो

दुर्गा खनाल

काठमाडौँ — अहिले एजेन्डा स्थापित गर्न सडकमा जुलुस निकालिरहन पर्दैन । ‘डिजिटल डेमोक्रेसी’ को जमाना छ । कोठाभित्रैबाट नेतृत्व गर्न सकिन्छ । सूचना प्रविधिको अधिकतम प्रयोग गरी रचनात्मक काम गर्न खोज्ने ‘टेलिजेनिक लिडर’ अन्य मुलुकमा उदाइरहेका छन् । राजधानी काठमाडौंको व्यस्त चोक हो– माइतीघर । मुलुकको प्रशासनिक केन्द्र छिर्ने मुख्य द्वार । अधिकार माग्ने, विरोध प्रदर्शन गर्ने, आफ्ना कुरा शासकका कानमा पुर्‍याउने स्थान पनि हो यो । यहाँ हरेक दिन कुनै न कुनै प्रदर्शन भइरहेकै हुन्छ । त्यसको अग्रपंक्तिमा हुन्छन्– युवा ।  

‘टेलिजेनिक लिडर’ को खाँचो

विगतमा रत्नपार्कको रातो घर अधिकार खोज्ने स्थानको विम्ब थियो । त्यहीँबाट युवाले उठाएका आन्दोलनले मुलुकमा ठूल्ठूला परिवर्तन ल्यायो । रातो घर ढलेपछि विकल्प बन्यो माइतीघर । यहाँबाट युवाले उठाएका आवाज न शासक सुन्छन् न आममानिसलाई उनीहरूका कुराले आकर्षित गर्छ । किन त ? छातीमा ब्यानर टाँग्ने, भाषण गर्ने यस्ता युवा अहिले बढी स्वार्थकेन्द्रित छन् । उनीहरूको प्रदर्शन पनि उनीहरूकै फाइदाका लागि हुन्छ । युवाहरू भाषण गर्छन्– ‘उमेर पाकेका बूढा नेताहरूले ठाउँ छोडेनन् । उनीहरूले ओगटेर बसेकाले अवसर पाइएन ।’ उमेर पाकेका नेतातर्फ चोरऔंलो ठडयाउँदा अन्य चार औंला आफूतिर सोझिएको ख्याल गर्दैनन् । राजनीतिमा लागेका युवा आफ्नो मौलिक विचार, सिद्धान्त र कामले अग्रपंक्तिमा आएका छैनन् । ‘जनआन्दोलनलगायत हरेक आन्दोलनमा युवा अग्रपंक्तिमा थिए । अहिले राजनीतिक आन्दोलन सकिएको अवस्थामा युवाले विकास र समृद्धिका विषयमा लिड गर्न सक्नुपथ्र्यो तर त्यो क्षमता उनीहरूमा आर्जन भइरहेको छैन,’ अखिल क्रान्तिकारीका नेता सरेन्द्र बस्नेत भन्छन् ।


उमेर पाकेका भनिएकै नेताहरूले आफ्नो युवाकालमा आवश्यकताअनुसार कुशल नेतृत्व क्षमता देखाएका थिए । मुलुकलाई गति दिए । बीपी, मदन भण्डारीहरूलाई नै हेर्दा हुन्छ । २०१५ सालका निर्वाचित प्रधानमन्त्री बीपी झन्डै ३५ वर्षकै उमेरमा २००७ सालको आन्दोलनको कमान्डमा थिए । त्यसपछि पञ्चायतविरोधी आन्दोलनको जगबाट मदन भण्डारी उदाए । उनी पनि ४० वर्ष नपुग्दै पार्टीको कमान्डमा आइसकेका थिए । अहिले कांग्रेस राजनीतिमा लाग्नेहरूका लागि बीपी र कम्युनिस्ट राजनीतिमा लाग्नेहरूका लागि भण्डारी आदर्शपात्र हुन् । त्यस्तै २०६२–६३ को आन्दोलनको नेतृत्व केही प्रौढ नेताहरूले गरे । उनीहरूलाई आन्दोनलमा ल्याउन बाध्य पार्ने चाहिँ युवा नै थिए ।


नेताहरू गणतन्त्रको कुरै सुन्न चाहँदैनथे । राजतन्त्र कायमै राखेर राजनीतिक सहमति खोज्ने प्रयास भइरहँदा युवा गणतन्त्रको नारा बोकेर सडकमा आइसकेका थिए । गगन थापा, रामकुमारी झाँक्रीहरूको राजनीतिक उदय यही कालखण्डमा भयो । युवा आन्दोलनले लपेट्न थालेपछि प्रौढ नेता पनि सडकमा ओर्लिन बाध्य भए । गणतन्त्र आयो । राजनीतिक परिवर्तन भयो ।


राष्ट्रमा कुनै संकट आइलाग्दा विगतकै जसरी अग्रपंक्तिमा आउन सक्ने युवा जमात अहिले छ त ? ‘युवा छन् तर स्वार्थकेन्द्रित छन् । आफ्नो विवेक प्रयोग गर्दैनन्, तिनै प्रौढहरूको निर्देशन पालना गर्छन्,’ विद्यार्थी मोर्चामा काम गरिरहेकी उषाकिरण तिमल्सिना भन्छिन् । प्रौढले ठाउँ नछोड्नुमा युवाहरूकै अक्षमता पनि कारण छ । प्रौढ नेताहरूलाई विस्थापित गर्ने वैचारिक राजनीतिक अडान राख्न सक्ने युवा नै छैनन् । छन् त उनीहरूकै चाकरीमा बढी रमाउनेहरू । हरेक नेताका निवास, कार्यालयमा चाकडी गर्न जाने झुन्डमा युवाहरू हुन्छन् । राजकीय पदमा पुगेका नेताका पछि व्यक्तिगत स्वार्थका काम गराउन जानेहरूको भीडमा पनि युवा छन् । ठेक्कापट्टा, दलालीसम्ममा युवा भेटिन्छन् । उनीहरू गलत कुरालाई गलत भन्दैनन् । केपी ओली, प्रचण्ड, शेरबहादुर देउवाको ‘सिग्नल’ पर्खिन्छन् । ‘युवा विद्यार्थी गुट–उपगुटमा छन्,’ बस्नेत भन्छन्, ‘नेता–नेताका गुट बन्छन्, तिनको स्वार्थमा युवा विद्यार्थी पनि जोडिन्छन् ।’


समयअनुसार कसरी बदलिने ? नेतृत्व विकास कसरी गर्ने ? यसमा युवाको शैली परिवर्तन भएको छैन । विगतमा राजनीतिक व्यवस्था परिवर्तन मुख्य आवश्यकता थियो । त्यस बेला सडक आन्दोलन हुन्थे । दमनको बीचमा आन्दोलन हुँदा मुठभेड, तोडफोड सामान्य हुन्थ्यो । अहिले राजनीतिक व्यवस्था परिवर्तन गर्नुपर्ने अवस्था नभए पनि पुरानै शैली दोहोरिइरहेको छ । भर्खरै सरकारको विरोध गर्ने नाममा एउटा राजनीतिक दलको भ्रातृ संगठनले सरकारी सम्पत्ति तोडफोड गर्‍यो । सरकारी गाडी जलायो । यस्तै शैलीका कारण युवाहरूको भूमिका खुम्चिँदो छ ।


‘युवाहरूकै राजनीतिक संस्कारमा परिवर्तन आइसकेको छैन,’ विवेकशील पार्टीका मिलन पाण्डे भन्छन्, ‘आफैं सक्षम बन्नेभन्दा पनि नेताको पछि लाग्दा भविष्य सुरक्षित हुन्छ भन्ठान्छन् ।’ २०६३ को परिवर्तनपछि नेपालको राजनीतिमा एकखाले विकृति भित्रियो । आन्दोलन, त्याग, भिजनभन्दा पैसा प्रभावी हुने प्रवृत्ति आयो । पहिलो संविधानसभा चुनावमा समानुपातिक निर्वाचन प्रणाली राखियो । नेताको फेरो समातेर राजनीतिक योगदान नै नभएका व्यक्ति संविधानसभाका सदस्य बने । व्यापारी, ठेकेदार, दलाली गर्नेदेखि आपराधिक पृष्ठभूमिका व्यक्ति पनि संविधानसभा पुगे । आन्दोलनमा लागेर जीवनभर त्याग गरेका व्यक्ति पाखा लाग्नुपर्ने अवस्था आयो । २०७० को दोस्रो संविधानसभा तथा २०७४ को स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा चुनावमा यो प्रवृत्ति झन् झाँगियो ।


मुख्य राजनीतिक दलहरूभित्र आन्तरिक प्रतिस्पर्धा गर्ने ठाउँ खुम्चिए । वर्षौं अधिवेशन नगर्ने बरु कमिटी भंग गरेर आफूले चाहेको व्यक्तिलाई नेता बनाइदिने प्रवृत्ति भित्रियो । ‘नेतृत्व विकास हुने ठाउँ नै छैन, समयमा अधिवेशन, स्वच्छ प्रतिस्पर्धा हुँदैन, जोसँग पैसा छ, त्यो मात्र चुनाव लड्ने अवस्था बन्यो । यो विकृतिले पनि युवालाई त्यही बाटोमा लाग्न प्रेरित गर्‍यो,’ तिमल्सिना भन्छिन् ।


पैसाको बलमा सांसद हुने अवस्था आएपछि युवा पार्टी कार्यालयभन्दा नेताका निवास धाउन थाले । उनीहरू नीति बनाउने बहसमा भाग लिनुभन्दा नेताका निर्देशन कुर्नतर्फ आकृष्ट छन् । युवा हुनुको दायित्व र भूमिका यही हो त ?


राजनीतिक परिवर्तन भइसकेकाले अबको लक्ष्य विकास र समृद्धि हो । त्यो एजेन्डाको नेतृत्व युवाले गर्न सक्छन् । त्यसका लागि विगतको जस्तो आन्दोलनको स्वरूप काम छैन । अहिले सूचना प्रविधि विकासले मान्छेका आवश्यकता बदलिएका छन् । कुनै एजेन्डा स्थापित गर्न सडकमा जुलुस निकालिरहन पर्दैन । गाडी तोडफोडमा उत्रिन पर्दैन । कोठाभित्रैबाट नेतृत्व गर्न सकिन्छ ।

क्यामेरामा ‘स्मार्ट’ भाषण गर्ने, आफ्ना कुरा तर्कपूर्वक राख्ने, ठूलो समुदायलाई अपिल गर्न सक्ने र सूचना प्रविधिको अधिकतम प्रयोग गरी रचनात्मक काम गर्न खोज्ने ‘टेलिजेनिक लिडर’ अन्य मुलुकमा उदाइरहेका छन् । ‘डिजिटल डेमोक्रेसी’ को जमाना आएको छ । एउटा कम्प्युटरमा बसेर संसार बदल्न सकिन्छ । यो समयको चाप बुझेर हिँड्नेलाई अहिले पनि नेता बन्ने अवसर छ । प्रौढ नेताले छोडिदिए मात्र त्यो ठाउँमा पुग्छु भन्ने सोच्नै पर्दैन ।


प्रकाशित : फाल्गुन ७, २०७५ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?